फोरजी विस्तारमा ढिलाइबारे टेलिकमलाई स्पष्टीकरण «

फोरजी विस्तारमा ढिलाइबारे टेलिकमलाई स्पष्टीकरण

सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलीकमको फोरजी सेवा विस्तारमा भएको ढिलाइको कारण स्पष्ट गर्न संसदीय समितिले निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकले टेलिकमको फोरजी सेवा विस्तारमा भएको ढिलाइको कारण सात दिनभित्र लिखित रूपमा समितिमा पेश गर्न निर्देशन सरकारलाई निर्देशन दिएको हो ।
बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडा, मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीसँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो । समितिकी सभापति कल्याणीकुमारी खड्काले फोरजी सेवा विस्तार निर्धारित समयभित्र गुणस्तरयक्त रूपमा सम्मन हुन नसक्नुको कारण सात दिन भित्र लिखित रूपमा पेश गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय गरएको जानकारी दिइन् ।
समितिकी सभापति खड्काले देशभर इन्टरनेट सेवा पु-याउनेसम्बन्धी कार्ययोजना ३० दिनभित्र पशे गर्न पनि सञ्चार मन्त्रालयलाई निर्देशन पनि दिइन् । बैठकमा सांसदहले उठाएको प्रश्नको जवाफ दिदैं सञ्चारमन्त्री खतिवडाले मुलुकभर इन्टरनेटको पहुँच पु-याउने गरी सरकारले काम अगाडी बढाईरहेको भन्दै लकडाउन र खरिद प्रक्रिया लगायतले समस्या भएको बताए । त्यसका लागि खरिद प्रक्रियालाई सहज बनाउने तयारी गरेको पनि उनले बताए ।
बैठकमा टेलिकमका प्रवन्ध निर्देशक अधिकारीले चालू आर्थिक वर्षभित्र फोरजी सेवा विस्तारको काम सम्पन्न गर्ने तयारी रहेको बताउँदै गत आर्थिक वर्षको असारभित्र सम्पन्न भइसक्ने गरी काम अगाडि बढाए पनि कोरोना महामारीका कारण ढिलाई भएको बताए । उनले यो वर्ष फोरजी सेवा २४ सय ७३ वटा बीटीएस सम्पन्न गर्ने, थप २ सय २० स्थानीय तहमा जीएसएम सेवा विस्तार गर्ने कार्ययोजना रहेको पनि बताए । यस्तै, तीन लाख एफटीटीएच नेटवर्क बनाउने जसमध्य मध्य २ लाख २० हजार वितरण गर्ने समेत जानकारी उनले दिए । गत फागुनमै सकिनुपर्ने फोरजी सेवा विस्तारको काम अझै पनि सकिएको छैन । टेलिकमले विभिन्न बहनाबाजी गर्दै फोरजी विस्तारमा ढिलाइ गर्दा जनताले मोबाइल इन्टरनेटमा नयाँ प्रविधिको प्रयोग गर्न पाएका छैनन् भने टेलिकमको आम्दानी र नाफा पनि घट्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्