संक्रमित कैदीबन्दीका लागि कारागार परिसरमै आइसोलेसन
वीरगन्ज कारागारका १३ जना कोरोना संक्रमितहरुलाई कारागार परिसरमा छुट्टै आइसोलेसन कक्ष तयार गरी कारगारकै स्वास्थ्यकर्मीबाट उपचार र निगरानी शुरु गरिएको छ ।
साउन १२ गते सोमबार कारागारमा संकलन गरिएको २२ जना कैदीबन्दीको स्वाव परीक्षणमा कैदी, सुरक्षाकर्मी र कर्मचारी १३ जना संक्रमित भएको पाइएको थियो । कैदीतर्फ १ महिलासहित ८ जना, सुरक्षाकर्मीतर्फ ३ जना र कर्मचारीतर्फ २ जनामा कोरोना संक्रमण देखा परेको कारागारका प्रमुख श्रवण पोखरेलले जानकारी दिए ।
कारागारको कम्पाउण्डकै परिसरमा कैदी र कर्मचारीका लागि बेग्लाबेग्लै दुईवटा आइसोलेशन कक्ष तयार गरी कारागारकै स्वास्थ्यकर्मीबाट उपचार तथा निगरानी शुरु गरिएको उनले बताए । एकजना महिला कैदीबन्दीलाई भने कारागार भित्रै अलग कक्षको व्यवस्था गरिएको उनले बताए ।
कारागार प्रमुख पोखरेलका अनुसार बिहीबारसम्म संक्रमित कर्मचारीतर्फ सवैको स्वास्थ्य स्थिती सामान्य रहेको छ । कैदीबन्दीतर्फ दीर्घरोगी, ज्येष्ठ कैदीबन्दीको नियमित उपचार भैरहेको र हालसम्म जटिलता नदेखिएको र बाँकी अन्यको कन्ट्याक्ट ट्रेसिङका लागि सम्बन्धित निकायमा अनुरोध गरिएको पनि उनले बताए ।
कैदीबन्दीलाई न्यायिक प्रकृयाका लागि अदालत र उपचारका लागि अस्पताल ओहोर–दोहोर गराइरहनु पर्ने बाध्यताका कारण जोखिम बढ्दै गएको भन्दै हाल कारागार पूर्णरुपले सील गरिएको छ । संक्रमितहरुको लागि खानपिन, बन्दोबस्ती र उपचारमा कारागार प्रशासनले आफ्नो क्षमताको अधिनमा रहि कुनै कसर बाँकी नराख्ने बताउँदै उनले संक्रमितहरुका आफन्तजनहरुलाई आश्वस्त हुन समेत अनुरोध गरेका छन् ।