कैलाश हेलिकप्टरको व्यावसायिक उडान सुरु

कैलाश हेलिकप्टर सर्भिसेज प्रालिले व्यावसायिक सेवा सुरु गरेको छ । कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट शुक्रबार वायुयान सञ्चालन अनुमति (एओसी) प्राप्त गरेसँगै शनिबारबाट उडान सुरु गरेको हो । कम्पनीका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेका अनुसार कम्पनीले फ्रान्समा निर्मित एयरबस कम्पनीको एएस–३५० बीथ्रीई मोडलको जहाज नेपाल ल्याएको छ र सोही जहाजबाट सेवा सुरु गर्नेछ । यस हेलिकप्टरले २३ हजार फिटसम्म उडान गर्ने क्षमता राख्छ । कम्पनीले चाँडै नै नेपाली आकाशमा अर्को जहाज थप गर्ने पाण्डेले जानकारी दिए ।
“हाम्रो टीममा स्वदेशी तथा विदेशी अनुभवी चालक तथा क्रु मेम्बर छौं,” प्रबन्ध निर्देशक पाण्डेले भने, “नेपालको उड्डयन क्षेत्रमा हाम्रो उपस्थितिले दुर्गमदेखि सुगमसम्मको आवश्यकता पूरा गर्न सहयोग पुग्ने विश्वास लिएका छौं ।” उनका अनुसार कैलाश हेलिकप्टरको प्रवद्र्धकमा दुई दशकभन्दा लामो अनुभव रहेका हवाई र पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायीसहित बैंकर, उद्योगीलगायतको लगानी छ ।
कम्पनीको सेवा सुरुवातसँगै नेपालको पर्यटन उद्योग र अत्यावश्यकीय सेवाका क्षेत्रमा योगदान पु¥याउन सकिने अपेक्षा गरिएको जनाएको छ । बिरामीको तत्काल उपचारका लागि गन्तव्यसम्म पु¥याउने, कर्पोरेट फ्लाइट, ह्युमन÷कार्गो स्लिङ अपरेसन्स, हाईअल्टिच्युट अपरेसन, एरियल सर्भे, दृश्यावलोकन, माउन्टेन फ्लाइट, स्पेसल एड्भेञ्चर मिसन, फिल्मिङ, स्काई डाइभिङ, प्राकृतिक प्रकोप उद्धारजस्ता क्षेत्रमा सेवा उपलब्ध गराउने लक्ष्य रहेको पाण्डेले बताए ।
नेपालमा हाल व्यावसायिक गतिविधि मुलुकभर विस्तार भइरहे पनि मुलुकका दुर्गम तथा कतिपय सुगम क्षेत्रमा पनि अत्यावश्यकीय सेवा पुग्न नसकेको अवस्थालाई दृष्टिगत गरी नयाँ कम्पनी स्थापना गरिएको अध्यक्ष क्या. आशिष शेरचनले बताए । उनका अनुसार कम्पनीले नागरिक उड्डयन प्राधिकरणको मापदण्ड र प्रक्रिया सबै पूरा गरेरै वायुयान सञ्चालन अनुमति (एओसी) प्राप्त गरेको छ । सुरक्षित र भरपर्दो सेवाका लागि आफूहरू प्रतिबद्ध रहेको अध्यक्ष शेरचनले बताए ।