विद्यालय नखुलेपछि टोलटोलमा पठनपाठन «

विद्यालय नखुलेपछि टोलटोलमा पठनपाठन

प्यूठान-कोरोना संक्रमणको महामारी फैलिएपछि अहिलेसम्म विद्यालयमा पठनपाठन ठप्प छ । झण्डै ४ महिना बित्दासमेत विद्यालय संचालन हुन नसक्दा अभिभावक बालवालिकाहरुको पढाइप्रति चिन्तित छन् ।
विद्यालय जान छोडेसँगै बालवालिकाहरुको पढाइप्रतिको रुचि घट्न थालेपछि अविभावक चिन्तित बनेका छन् । अधिकांश विद्यालयहरुमा क्वारेन्टाइन निर्माण गरिएकोले लकडाउन खुल्ला भए पनि नियमित पठनपाठन अगाडि बढाउन अझै समय लाग्ने देखिन्छ । यसरी विद्यालय तत्काल खुल्ने नदेखिएपछि यहाँका कतिपय विद्यालयहरुले पठनपाठनको नयाँ शैली अपनाएका छन् ।
मल्लरानी गाउँपालिका र स्वर्गद्वारी नगरपालिका अन्तरगतका कतिपय विद्यालयहरुले टोलटोलमा विद्यार्थी जम्मा गरेर विद्यार्थीलाई सहजीकरण तथा गृहकार्य दिन थालेका हुन । कोरोना संक्रमणका कारण शैक्षिक क्षेत्रमा परेको प्रभाववाट बालवालिकाको शैक्षिक सिकाइलाई कमी हुन नदिन शिक्षकहरु टोलटोलमा खटिँदै आएकोे मल्लरानी गाउँपालिकाका शिक्षा शाखा प्रमुख दिनामणी पौडेलले बताए ।
“प्रअ बैठकबाट शिक्षकहरुको आलोपालोमा टोलटोलमा गई विद्यार्थीलाई सहजिकरण गर्ने निर्णय गरिएको हो,” पौडेलले भने, “आवश्यक सतर्कताका साथ विद्यार्थीहरुलाई शिक्षकले सहजीकरण गर्दै आउनुभएको छ ।” टोलटोलमा विद्यार्थीहरु जम्मा गरी गृहकार्य र पठनपाठनमा विद्यालय शिक्षकले सहजिकरण गर्दै आएको उनले जानकारी दिए ।
विद्यालय सेवा क्षेत्र अन्तरगत तीन टोलहरुमा विद्यार्थीलाई सहजीकरण गर्दै  आएको भैरवनाथ प्राथमिक विद्यालय पाण्डे डाँडाका प्रधानाध्यापक मधुसुदन खड्काले बताए । “हप्ताको चार दिन सवै विषय शिक्षकहरु आलोपालो गरी टोलटोलमा पुग्छौं,” खड्काले भने, “अविभावक समेत उत्साहित हुनुहुन्छ ।” दैनिक दुई तीन घण्टा सम्म समय दिएर बालवालिकाहरुलाई सिकाई अभिवृद्धि तथा गृहकार्य दिने काम गर्दै आएको उनले बताए ।
कक्षागत रुपमा पालैपालो टोल अनुसार विद्यार्थीलाई उपस्थित गराएर सहजीकरण गर्दै आएको स्वर्गद्धारी नगरपालिका–४ छेडापोखरा प्राविका विद्यालय प्रअ सृजना पण्डितले बताइन् । “स्वास्थ्य सतर्कतालाई ध्यान दिँदै विद्यार्थीलाई सहजिकरण गर्दै आएका छौं,” पण्डितले भनिन्, “समूह–समूहमा विद्यार्थीहरुलाई बोलाएर गृहकार्य दिने र आवश्यक सहजीकरण गर्ने काम गर्दै आएका छौं ।”

प्रज्वल पहाडी

प्रतिक्रिया दिनुहोस्