कोरोनाको जोखिममा गर्भवती र सुत्केरी «

कोरोनाको जोखिममा गर्भवती र सुत्केरी

समयमै उपचार नपाएर मृत्युवरण गर्न बाध्य

नेपालगन्ज-सरकारले पछिल्लो समय कोरोना संक्रमण नियन्त्रणमा मुख्य ध्यान केन्द्रित गरेको जनाइ रहँदा गर्भवती र सुत्केरी महिला झन् जोखिममा परेका छन् । कोरोना महामारीको त्रास र संक्रमण फैलिन नदिन भन्दै गरिएको लकडाउनका कारण सुत्केरी तथा गर्भवती महिलाले समयमै उपचार नपाउँदा अकालमै मृत्युवरण गर्नु परेको छ । भेरी अस्पताल नेपालगन्जका अनुसार अघिल्लो आर्थिक वर्ष २०७५-०७६ मा ५ जना गर्भवतीको मृत्यु भएकोमा यस वर्ष भने लकडाउन सुरु भएयता असारसम्म चार महिनाको अवधिमा मात्र त्यतिकै संख्यामा गर्भवतीको मृत्यु भइसकेको छ । आव २०७६-०७७ मा यसरी मृत्यु हुनेको कुल संख्या बढेर १२ जना पुगेको प्रमुख अस्पताल नर्सिंग प्रशासक दुर्गालक्ष्मी श्रेष्ठको भनाइ छ । अस्पतालमा उपचारका लागि आएका बिरामी मध्य अन्तिम अवस्थामा ढिलो गरी अस्पताल पुग्नु, नियमित चेकजाँच नहुनु, लगायतको कारणले गर्भवती, सुत्केरी तथा बालमृत्युदर बढ्को उनको भनाइ छ ।
लकडाउनकै अवधिमा नियमित प्रसूति सेवा तथा गर्भ जाँच गराउन नसक्दा यस वर्ष मातृ मृत्युदर मात्र नभएर बाल मृत्युदर समेत बढेको पाइएको छ । भेरी अस्पतालको तथ्याँक अनुसार अघिल्लो आर्थिक वर्षमा ५ हजार ६ सय ३७ जना बच्चाको जन्म भएकोमा १ सय ४२ बच्चाको मृत्यु भएको अवस्थामा जन्म भएको थियो भने गत आर्थिक बर्ष २०७६-०७७ मा ५ हजार ३ सय ४६ बच्चाको जन्म भएकोमा १ सय ७४ बच्चाको मृत जन्म भएको थियो ।
कोरोना संक्रमण उत्कर्षमा पुग्दा बाँके, बर्दिया लगायत देशका कतिपय ग्रामीण स्वास्थ्य संस्थाहरूमा केही समय गर्भवती जाँचसम्बन्धी सेवाहरू सञ्चालन हुन सकेनन । जसका कारण गर्भवती र सुत्केरी महिलाहरू जोखिममा छन् । अहिले पनि संक्रमण समुदायमा फैलिन सक्ने सम्भावना देखिएको भन्दै धेरैजसो गर्भवती, सुत्केरी महिला र तिनका आफन्तले कसरी सुरक्षित हुने भनेर चिन्ता व्यक्त गरेका छन । बर्दियाको राजापुर ४ की सामना चालिसेले कोरोनाको त्रास बाँकी नै रहेकोले डेलिभरि गराउन कहाँ जाने भन्नेमा निकै चिन्ता लागिरहेको बताइन् ।
गर्भवती तथा सुत्केरी महिलालाई कोरोना संक्रमणको समयमा पनि स्वास्थ्य जाँच गर्न, सल्लाह सुझाव र परामर्श लिन सकिने व्यवस्था सवै स्वास्थ्य संस्थामा छ । तर जुनसुकै बेला पनि जोखिम आउन सक्ने भएकोले कोरोनाको समयममा पूर्वसावधानी भने अपनाउनुपर्ने भेरी अस्पतालका स्त्रीरोग विशेषज्ञ डा.कुमारसान शाहको सुझाव छ । यस्तो बेला संक्रमणको जोखिम बढी हुने हुँदा सावधानी अपनाएर नियमित गर्भ जाँच गराउनुपर्ने उनी बताउँछन ।
सरकारले मातृ र नवजात शिशु मृत्युदर कम गर्न विभिन्न कार्यक्रम गरेको जनाएपनि लक्ष्यअनुसार मातृ र नवजात शिशु मृत्युदरमा कमी आउन सकेको छैन । झन कोरोना महामारीको समयमा नियमित गर्भ जाँचका साथै स्वास्थ्य परिक्षण हुन नसक्दा गर्भवती र सुत्केरी महिलाले अकालमै ज्यान गुमाउनु परेको छ । यस्तो जोखिम न्यूनीकरणका लागि सबै स्थानीय तहमा भएका स्वास्थ्य संस्था, बर्थिङ्ग सेन्टर लगायतमा आवश्यक जनशक्ती र स्रोत साधनको व्यवस्था गरी विशेष ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्