पर्यटन प्रवद्र्धन गर्न पोखरामा नो भेइकल जोन सुरु

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकीय नगरी पोखराको लेकसाइड क्षेत्रमा शुक्रबारदेखि सवारी साधन निशेषित क्षेत्र (नो भेइकल जोन) सञ्चालन भएको छ । सातामा दुई दिन शुक्रबार र शनिबार अपराह्न ५ बजेदेखि राति १ बजेसम्म पोखराको हल्लनचोकदेखि बाराही घाटसम्मको क्षेत्रलाई पहिलो चरणमा नो भेइकलन जोन सञ्चालन गर्ने अभियानको सुरुवात भएको हो ।
पोखरा लेखनाथ महानगरपालिका–६ को अगुवाईमा विभिन्न पर्यटन सम्बद्ध संघ संस्थाहरूको सहकार्यमा शुक्रबारदेखि सुरु भएको उक्त कार्यक्रमको प्रदेश नम्बर ४ का सांसद राजीव पहारी, पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले संयुक्त रूपमा उद्घाटन गरे ।
ट्राफिक व्यवस्थापन, ट्राफिकसम्बन्धी विभिन्न सिग्नलहरू राख्ने, उक्त समयमा सडकमा हिँड्ने पर्यटकहरूलाई मनोरन्जन दिलाउन विभिन्न सांगीतिक कार्यक्रमहरूसमेत प्रस्तुत भएको पोखरा लेखनाथ महानगरपालिका–६ का वडा अध्यक्ष एंव कार्यक्रम संयोजक अध्यक्ष जगतबहादुर पहारीले बताए ।
नो भेइकल जोनका रूपमा रहेको क्षेत्रमा अत्यावसेक सेवा सञ्चालनका लागि र स्थानीयहरूको आवश्यकता हेरी प्रवेश पाससहितको व्यवस्था मिलाएको उनले जनाए । नो भेइकल जोन कार्यक्रमको पहिलो दिनमै उत्साहजनक रूपमा आन्तरिक पर्यटकरुको आगमन बढी भएको वडा सदस्य विष्णुबहादुर भट्टराईले बताए । नो भेइकल जोन कार्यक्रमलाई प्रभावकारी बनाउन नाखे नृत्य, कराँते खेलाडीहरूद्वारा डेमोस्ट्रेसन प्रदर्शनी, झलकमान गन्र्धव सारङ्गी पाठशालाबाट लोक सारङ्गी धुनसमेत प्रस्तुत गरिएको थियो । ठाडो पसल टोल सुधार समितिको अगुवाइमा नृत्य, खेलाडी दीपक गोदारको नेतृत्वमा डेमो प्रदर्शन र गायक झलकमान गन्र्धवको संयोजनमा लोकधुन प्रस्तुत भएको थियो ।
०६७ साल ७ वर्षअघि पर्यटन व्यवसायी सूर्य भुजेलको संयोजकत्वमा करिब ६ महिनाजसो नो भेइकलन जोन सञ्चालन भए पनि विभिन्न कारणले बीचमै स्थगित भएको थियो ।
फेवाताल संरक्षणमा सांसद पहारीद्वारा ८० हजार रुपैयाँ सहयोग
यसैबीच, प्रदेश नम्बर ४ का सांसद राजीव पहारीले पोखराको फेवाताल संरक्षणमा आफ्नो दुई महिनाको तलब ८० हजार रुपैयाँ फेवाताल संरक्षणको निम्ति हस्तान्तरण गरेका छन् । शुक्रबारदेखि पोखराको पर्यटकीय स्थल लेकसाइडमा सुरु भएको सवारी निशेधित क्षेत्र (नो भइकल जोन) कार्यक्रमको उद्घाटन गर्दै उक्त रकम बराबरको चेक पोखरा लेखनाथ महानगरपालिका–६ का वडा अध्यक्ष एंव नो भेइकन जोनका कार्यक्रम संयोजक जगतबहादुर पहारीलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै सांसद पहारीले फेवाताल बिनाको पोखरा र प्रदेश नम्बर ४ को पर्यटनको कुनै सम्भावना नभएको दाबी गर्दैै फेवाताल संरक्षणमा सरकारको ध्यानाकर्ष गर्न पनि आफ्नो तलवको दुई महिनाको पारिश्रमिक दिएको बताए । फेवाताल संरक्षणमा सरकारले कम्तीमा पनि २५ करोड बजेट विनियोजना गरी समयमै प्राकृतिक र मानव अतिक्रमणबाट बचाउनु पर्ने उनको जोड थियो । उनले भने, “फेवातालबाट राज्यले जति आम्दानी गर्न सफल भएको छ, त्यसको कम्तिामा पनि ५० प्रतिशत रकम फेवाताल संरक्षण र पर्यटन पूर्वाधारमा विकास गर्नुपर्छ ।”
फेवातालमा बर्सेनि आउने डुंगा, माटोलाई नियन्त्रण गर्न, फेवातालको बाध जीर्ण भएकाले त्यसको समयमै मर्मत गर्न सांसद पहारीकोे जोड थियो । पोखराको पर्यटन प्रबद्र्धन गर्न नयाँ कार्यक्रम नो भेइकल जोनलाई दिगो रूपमा सञ्चालन गर्न उनले सबै क्षेत्रले सहयोग गर्नुपर्ने बताए । पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग हुने उक्त कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्दै आवश्यक सहयोग गर्न महानगरपालिका तयार रहेको बताए ।
नेपाली नयाँ वर्ष २०७५ बाट यसलाई अझ व्यबस्थित पारी निरन्तर रूपमा सञ्चालन गर्न उनले आग्रह गरे । उनले भने, “पोखराको लेकसाइड क्षेत्रमा कुनै खाली निजी जग्गा छ भने त्यस क्षेत्रमा पार्किङका लागि महानगरसँग के कसरी समन्वय गरी अघि बढ्न सकिन्छ आउनुहोस्, यसमा हामी केही महिना कर छुटसहितको प्याकेज दिन तयार छौं ।”
नेपाल पर्यटन बोर्ड प्रदेश नम्बर ४ पोखराका प्रमुख सूर्य थपलियाले काठमाडौं ठमेलमा केही महिना सञ्चालनमा आएको नो भेइकल जोन कार्यक्रमले स्थानीय व्यवसायमा करिब ३० प्रतिशत प्रवद्र्धन भएको बताए । उनले भने, “ठमेलको जस्तै पर्यटनको सम्भावना पोखरामा पनि छ, यसको दिगोपनका लागि हामीले आवश्यक सहयोग गर्न तयार छौं ।” पोखरा पर्यटन परिषद्का अध्यक्ष एवं कार्यक्रम सहसंयोजक केदारनाथ शर्माले लेकसाइडमा साताको दुई दिन केही घण्टा मात्र सवारी साधन निषेधित गर्दा ध्वनि प्रदूषणबाट मुक्त भई पर्यटकहरूलाई आनन्द हुने बताए । नो भेइकल जोन क्षेत्रका व्यापारीहरूले पर्यटकरुलाई स्वागत गर्न ठाउँ–ठाउँमा झिलिमिली बत्ती बालेका थिए ।