एक अर्ब ३४ करोड बजेट फिर्ता «

एक अर्ब ३४ करोड बजेट फिर्ता

रुकुम पश्चिममा आएको एक अर्ब ३४ करोड बढी रकम खर्च हुन नसकेर फिर्ता भएको छ । आर्थिक वर्ष २०७६-०७७ का लागि संघ र प्रदेश सरकारबाट रुकुम पश्चिममा आएको ठूलो रकम खर्च हुन नसकेर फ्रिज भएको हो । कोष तथा लेखा नियन्त्रण कार्यालय रुकुम पश्चिमका कोष नियन्त्रक खिमबहादुर केसीका अनुसार संघीय सरकारबाट जिल्लाका ६ स्थानीय तह र कार्यालयहरुमा आएको बजेटमा चालु तर्फ ९५ प्रतिशत र पुँजीगततर्फ ५५ प्रतिशत मात्र बजेट खर्च भएको छ ।
त्यस्तै प्रदेश सरकारबाट विनियोजन गरिएको चालु बजेटतर्फ ७८ प्रतिशत र पुँजीगत खर्चतर्फ ५२ प्रतिशत रकम मात्र खर्च भएको छ । कोष नियन्त्रक केसीका अनुसार संघीय सरकारमार्फत आएको चालुतर्फको ३ अर्ब ३४ करोड मध्य ३ अर्ब २० करोड रुपैयाँ मात्र खर्च भएको छ । तर यो बजेट कमचारीहरुको तलब भत्ता लगायतको बजेट भएका कारण बढी खर्च भएको हो । यस बजेटमा पनि १३ करोड बढी रकम खर्च नभएर फिर्ता भएको छ ।
त्यस्तै संघीय सरकारबाट विकास बजेटको रुपमा आएको ७४ करोड ४३ लाख पुँजीगत बजेटमध्ये ४१ करोड २४ लाख बजेट मात्र खर्च भएको छ । जसमा ३३ करोड १८ लाख बढी रकम खर्च हुन नसकेर फ्रिज भएको छ । त्यसैगरी प्रदेश सरकारबाट जिल्लामा आएको ८० करोड ८८ लाख बजेटमध्ये ६३ करोड १८ लाख मात्र खर्च भएको छ । जसमा १७ करोड बढी रकम खर्च हुन नसकेर फिर्ता भएको छ । जसमा कर्मचारीहरुको तलब भत्तादेखि बिभिन्न तालिमलगायतका कार्यक्रमका लागि बजेट थियो ।
त्यस्तै पुँजीगत बजेटतर्फ १ अर्ब ४९ करोड बजेट रहेकोमा ७९ करोड ४२ लाख रुपैयाँ मात्र खर्च भएको छ । आर्थिक २०७५-०७६ मा कुल ५ अर्ब ३१ करोड बजेट जिल्लामा आएकोमा ४ अर्ब ४ करोड मात्र खर्च भएको थियो । प्रत्येक आर्थिक वर्षमा जिल्लामा ठूलो विकास बजेट आउने भएपनि विभिन्न बहानामा खर्च हुन नसकेर फिर्ता हुँदै आएको छ । स्थानीय सरकार तथा जिल्लास्थित कार्यालयमार्फत हुने योजना छनौटमा कमजोरी, कर्मचारीको अपर्याप्तता, योजनामा विवाद, समयमै अख्तियारी नआउने र योजना कार्यन्वयनमा उपभोक्ता तथा कार्यालयहरुको चासो नहुनुका कारण पनि बजेट खर्च नहुने समस्या भएको बताइएको छ । तर यस वर्ष कोरोना महामारीको कारण विभिन्न विकास आयोजना तथा गतिविधिहरु सञ्चालन हुन नसक्दा बजेट खर्च नभएको कोष तथा लेखा नियन्त्रण कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्