सुर्खेत–काठमाडौं सीधा हवाई उडान हुने

कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि केन्द्रीय राजधानी काठमाडौंसँग अब सीधा हवाई उडान हुने भएको छ । चैत तेस्रो सातादेखि सीधा हवाई उडान गरिने हवाई सेवाप्रदायक कम्पनीहरूले जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा बुद्ध एयर र नेपाल वायुसेवा निगमले काठमाडौं–सुर्खेत उडान गर्न सहमति जनाएका हुन् ।
“०७४ चैतभित्र सुर्खेतबाट काठमाडौ सीधा उडानका लागि हामीले बुद्ध एयर र नेपाल एयरलाइनसँग संवाद गरिरहेका छौं,” कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बताए ।
संस्मृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र प्रदेश मन्त्रीहरूबीच कर्णालीको पर्यटन विकाससम्बन्धी बुधबार भएको छलफलमा निजी वायुसेवा कम्पनी बुद्ध एयर र नेपाल वायुसेवा निगमले सुर्खेत उडान सुरु गर्ने प्रतिबद्धता जनाएका हुन् ।
उक्त छलफलमा बुद्ध एयर र नेपाल एरलाइन्सले चैत तेस्रो साताबाट उडान भर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । छलफलमा बोल्दै बुद्ध एरका निर्देशक रुपेश जोशीले अबको १५ दिनमा पहिलो उडान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसकारले चैत २१ गतेबाट उडान सुरु गर्ने बताए ।
कर्णाली क्षेत्रको समस्या उस्तै:
कर्णाली प्रदेश सरकारको पहलमा काठमाडौंबाट सिधै सुर्खेतमा उडान हुने भए तापनि हवाई यात्रामा कर्णाली बासीले भोग्दै आएको सदियौं देखिको समस्या भने, उस्तै छ । तत्कालका लागि प्रदेश सरकारले सुर्खेतबाट काठमाडौं सीधा उडान हुने कुरामा पहल गरे पनि कर्णालीका जिल्लाबाट सीधा सुर्खेत हवाई उडान हुनेबारे मौन देखिन्छ ।
विशेष कामले सुर्खेत आउँदा पनि बाध्यातत्मक हिसाबले नेपालगन्ज गएर सुर्खेत फर्किनु पर्ने स्थिति अहिले पनि छ । तर, कहिले यो अवस्थाबाट छुटकरा पाइएला भनी कर्णालीवासी छटपटाएका छन् । कर्णालीका जनप्रतिनिधिहरूलाई राजधानी सुर्खेतमा हुने अति आवश्यक बैठक सेमिनारमा सहभागी हुन प्रदेश नं ५ नआइकन सुर्खेत जान मिल्दैन । अझै कर्णाली राजमार्गमा गाडीको यात्रा पूर्ण धरपर्दो छैन ।
यता कर्णाली बासिन्दा भने, प्रदेश सरकारले कर्णाली बासीको पीडालाई सम्बोधन नगरेको गुनासो गरेका छन् । सुर्खेतबाट सीधा काठमाडौं उडान गर्नु आफ्नो सहजताका लागि गरेको आरोप पनि छ । तर, ततत्काल सुर्खेतबाट कर्णालीमा हवाई उडान सुरु गर्नुपर्ने माग भने, उठिरहेको छ ।
बुद्ध एयरले नयाँवर्षदेखि काठमाडौं–सुर्खेत उडान गर्ने
बुद्ध एयरले नयाँ वर्ष २०७५ देखि काठमाडौंबाट सुर्खेत उडान सुरु गर्ने भएको छ । सुर्खेत कर्णाली प्रदेशको राजधानी भएपछि कम्पनीले उडान सुरु गर्न लागेको हो ।
देशको बदलिँदो राजनीतिक, सामाजिक र आर्थिक परिस्थितिमा कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई केन्द्रीय राजधानी काठमाडौंसँग जोड्नु आफ्नो दायित्व भएको कम्पनीले बताएको छ ।
सोहीअनुसार आगामी वैशाख १ गतेदेखि काठमाडौं–सुर्खेत–काठमाडौं उडान सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष निवेदन दिन लागिएको बुद्ध एयरले जनाएको छ । १८ सिट क्षमताको बिचक्राफ्ट जहाजबाट काठमाडौं–सुर्खेत–काठमाडौंको दैनिक एक उडान भर्ने योजना कम्पनीको छ ।
सरकार तथा नागरिक उड्डयन प्राधिकरणले तोकेको अधिकतम एकतर्फी भाडा दर ११ हजार ४ सय १९ रुपैयाँ भए पनि आधा सिट ८ हजार ५ सय र बाँकी आधा सिट १० जार ५ सयमा बेच्ने कम्पनीले विज्ञप्तिमा जनाएको छ ।
यसअघि बुद्ध एयरले ०६९ पुसदेखि ०७० असारसम्म काठमाडौंबाट सुर्खेतको दैनिक उडान सञ्चालन गरेको थियो । पर्याप्त यात्रु नभएपछि सुर्खेत उडान रोकिएको थियो ।