खाद्यान्नमा धान बालीको महत्व

तराई, मध्यपहाड र उच्च पहाडमा गरी नेपालले सन् २०२० सम्ममा ८७ प्रकारका धान विकास गरेर खेती गर्न सिफारिस गरेको छ । |
विश्वमा १६ करोड ३२ लाख हेक्टर कृषियोग्य भूमिमा ७४ करोड नौ लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । यसको उत्पादकत्व भने ४ दशमलव ५४ प्रतिहेक्टर मेट्रिक टन हुने अनुमान गरिएको छ । यसर्थ धान उत्पादक राष्ट्रहरूमध्ये सबैभन्दा बढी क्षेत्रफल, उत्पादन र उत्पादकत्व भएको देश चीन हो । यसरी चामल विश्वको ६५ प्रतिशतभन्दा बढी मानिसको मुख्य खाद्यान्न पनि हो । यसपछि क्रमशः भारत, इन्डोनेसिया, बङ्गलादेश, भियतनाम, थाइल्यान्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल र जापान रहेका छन् । यसका साथसाथै विश्वको जनसंख्याको आधा अर्थात् साढे ३ अर्ब मानिसको मुख्य खाना नै चामल हो ।
मूलतः ९० प्रतिशत धान एसियामै उत्पादन हुने गर्छ । यस उत्पादनको आधाभन्दा बढी एसियामै खपत हुने गरेको अनुमान छ । यसर्थ संसारका विकासोन्मुख मुलुकहरूमा ८४ करोड जनसंख्या कुपोषणले ग्रस्त छन्, जसमा २० करोड बालबालिका पर्छन् र चार वर्षमुनिका १ करोड ४० लाख केटाकेटी भोकमरीले गर्दा प्रत्येक वर्ष मर्ने गरेका छन् । त्यसैले संयुक्त राष्ट्रसंघले सन् २०२५ सम्म विश्वभर १ अर्ब कुपोषणको मारमा परेको जनसंख्यालाई आधामा झार्ने लक्ष्य किटान गरेको थियो र यो लक्ष्य पूरा गर्न कृषिको भूमिका महŒवपूर्ण छ ।
मुलुकको आर्थिक वर्ष २०७६-०७७ मा धानको क्षेत्रफल प्रदेश १ मा ३ लाख २३ हजार २ सय १७, प्रदेश २ मा ३ लाख ७७ हजार ६ सय ११, बागमती प्रदेशमा १ लाख २९ हजार ८ सय ३०, गण्डकी प्रदेशमा १ लाख ८ हजार ६ सय ९७, प्रदेश ५ मा ३ लाख ३ हजार ३ सय ९२, कर्णाली प्रदेशमा ३८ हजार ८ सय ८६ र सुदूरपश्चिम प्रदेशमा १ लाख ७७ हजार २ सय ८२ हेक्टर रहेको उल्लिखित तालिकाबाट स्पष्ट हुन्छ । यसरी सातैवटा प्रदेशको कुल क्षेत्रफल भने जम्माजम्मी १४ लाख ५८ हजार ९ सय १५ हेक्टर रहेको अनुमान गरिएको छ । त्यस्तै गरी धान बालीको उत्पादनतर्फ विश्लेषण गर्ने हो भने आर्थिक वर्ष २०७६-०७७ मा प्रदेश १ मा १२ लाख ४५ हजार ५ सय ४५, प्रदेश २ मा १४ लाख २० हजार ४ सय ३६, बागमती प्रदेशमा ५ लाख १० हजार २ सय १, गण्डकी प्रदेशमा ४ लाख ८ हजार ७ सय ३७, प्रदेश ५ मा ११ लनद ८५ हजार ४ सय ९३, कर्णाली प्रदेशमा १ लाख ३४ हजार ४ सय ७ र सुदूरपश्चिम प्रदेशमा ६ लाख ४६ हजार ५९ मेट्रिक टन रहेको उल्लिखित आकलनबाट स्पष्ट हुन्छ । यसरी सातैवटा प्रदेशको कुल उत्पादन भने जम्माजम्मी ५५ लाख ५० हजार ८ सय ७८ मेट्रिक टन रहेको अनुमान गरिएको छ ।
धान बालीको प्रतिहेक्टर मेट्रिक टन उत्पादकत्वलाई मध्यनजर लगाउँदा आर्थिक वर्ष २०७६-०७७ मा प्रदेश १ मा ३ दशमलव ९, प्रदेश २ मा ३ दशमलव ८, बागमती प्रदेशमा ३ दशमलव ९, गण्डकी प्रदेशमा ३ दशमलव ८, प्रदेश ५ मा ३.९, कर्णाली प्रदेशमा ३ दशमलव ५ र सुदूरपश्चिम प्रदेशमा ३ दशमलव ६ प्रति हेक्टर मेट्रिक टन रहेको तल उल्लिखित आकलनबाट स्पष्ट हुन्छ । यसरी सातैवटा प्रादेशिक क्षेत्रहरूको सालाखाला अर्थात् नेपाल धान बालीको उत्पादकत्व भने ३ दशमलव ८ प्रति हेक्टर मेट्रिक टन रहेको अनुमान गरिएको छ ।
नेपालको सातै प्रदेशगत रूपमा धानको क्षेत्रफलको घटी-बढी अध्ययन गर्ने हो भने आर्थिक वर्ष २०७५-७६ को तुलनामा आर्थिक वर्ष २०७६-७७ मा प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा क्रमशः –१.७, –६.०, –३.०, –४.९, –१.३, ०.९ र ६.१ प्रतिशत रहेको उल्लिखित तालिकाबाट स्पष्ट हुन्छ । त्यस्तै गरी धान बालीको उत्पादनतर्फ अवलोकन गर्ने हो भने आर्थिक वर्ष ०७५-०७६ को दाँजोमा आर्थिक वर्ष ०७६-७७ मा प्रदेशगत रूपमा घटीबढी प्रदेश १, प्रदेश २, बागमती प्रदेशमा, गण्डकी प्रदेशमा, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा क्रमशः ०.६, –५.०, –२.२, –४.४, –०.३, ०.६ र ६.७ प्रतिशत रहेको तल उल्लिखित तालिकाबाट स्पष्ट हुन्छ ।
अन्त्यमा भन्नुपर्दा धानले देशको कुल खाद्यान्न उत्पादनको आधाभन्दा बढी अर्थात् ६७ प्रतिशत हिस्सा ओगट्छ । किनभने धेरै मानिसले मकै, कोदो, फापर, जौ, कागुनो, लट्टेजस्ता परम्परागत पोषक अन्नहरू खान छोडेका छन् । फेरि अर्कातिर हेर्ने हो भने नेपालीहरूको दिनहुँ आहारमा ऊर्जाको ४० प्रतिशत र प्रोटिनको २३ प्रतिशत योगदान चामलकै रहेको छ ।
यसैले यो राष्ट्रका प्रमुख खाद्यान्न बाली पनि हो । यसपछिका बालीहरूमा मकै र गहुँ हुन् । देशमा धानका विभिन्न जातजाति पाइन्छन् र वर्षाको मात्रा र पानीको उपलब्धताका आधारमा विभिन्न स्थानमा लगाउन सकिने धानका प्रजाति पनि हाम्रो देशमा छ । देशमा लगभग वार्षिक ६० लाख मेट्रिक टन धान आवश्यक पर्छ । यसको खेती गरिने ५० दशमलव २ प्रतिशत जमिनमा धान खेती हुने गरेको छ । मौसमका आधारमा चैते, बर्खे, भदैया, घैया, हिउँदे (बोरो) धानको खेती हुन्छ । तराई, मध्यपहाड र उच्च पहाडमा गरी नेपालले सन् २०२० सम्ममा ८७ प्रकारका धान विकास गरेर खेती गर्न सिफारिस गरेको छ । कृषि गार्हस्थ्य उत्पादनमा धानको योगदान २० प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा ७ प्रतिशतभन्दा बढी योगदान गरिरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यसरी देशमा चामलको हिसाब किताप गर्ने हो भने प्रतिव्यक्ति प्रतिवर्ष १ सय ३७ दशमलव ५ किलोग्राम उपभोग हुने अनुमान गरिएको छ ।
सन् २०१९ मा मात्र ७ लाख ५० हजार मेट्रिक टनबराबरको लगभग ३१ अर्ब रुपैयाँको चामल आयात भएको थियो । यसका साथसाथै धानको उत्पादनमा १० प्रतिशत मात्र वृद्धि भएमा कुल गार्हस्थ्य उत्पादनमा १ प्रतिशत बढेको पाइन्छ । धानको उत्पादनमा १० प्रतिशतले घटेमा कुल गार्हस्थ्य उत्पादनमा १ प्रतिशतले घट्ने अनुमान सम्बन्धित क्षेत्रका विज्ञहरूको रहेको पाइन्छ । अतः देशमा समुद्री सतहबाट ६० मिटरदेखि ३ हजार मिटरसम्मको उचाइमा धानखेती राम्रो हुन्छ । मुलुकको उच्च हिमाली भेगका मनाङ र मुस्ताङबाहेकका सबै जिल्लाहरूमा धान खेती हुन्छ । यीमध्ये होचो स्थान झापाको केचनाकवल पर्छ भने धानखेती हुने सबैभन्दा अग्लो स्थान जुम्लाको थुमचौरमा पर्छ । तर, उत्पादनका दृष्टिले ६० देखि ५ सय मिटरसम्मको उचाइमा अत्यधिक उत्पादन हुन्छ । देशमा प्रतिवर्ष झन्डै १ खर्ब ९ अर्बबराबरको ३७ लाख ८० हजार मेट्रिक टन धानको उत्पादनमा योगदान दिने अनुमान गरिएको छ । यसर्थ देशमा धानको उत्पादकता १ दशमलव ५ प्रतिशत छ भने जनसंख्या वृद्धिदर भने २ दशमलव ३ प्रतिशत रहेको छ । यसरी दिनप्रतिदिन बढ्दो जनसंख्या भरणपोषणका लागि धानको उत्पादकत्वमा कम्तीमा १ दशमलव ५ गुणा बढाउन, उत्पादनको लागत घटाउन, कृषि ऋण, मल, बीउ, सिँचाइमा जोड दिनुका साथसाथै वातावरणीय सुरक्षालगायत विभिन्न किसिमको प्रविधिमैत्री खेती प्रणाली अवलम्बन गर्नु आवश्यक छ ।
यसरी पहाडी २२ जिल्लामा भएको धानका उत्पादन बराबर एउटै झापा जिल्लामा उत्पादन भएको अनुमान छ । मुलुकले प्रतिवर्ष त्यसैले पनि झापा सबैभन्दा बढी धान उत्पादन हुने जिल्ला हो । त्यसकारणले गर्दा यस जिल्लालाई धान सुपरजोनका रूपमा घोषणा गरिएको छ । झापापछि धेरै धान उत्पादन हुनेमा मोरङ, सुनसरी, बारा, पर्सा, चितवन, दाङ, बाँके, बर्दिया, कैलालीलगायत तराईका जिल्लाहरू पर्छन् ।