पर्यटन पूर्वाधारमा जोड दिन मन्त्रीसँग नाट्टाको माग

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले सरकारलाई पर्यटनको विकासका लागि तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने कामको सुझाव दिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई तत्काल गर्नुपर्ने ११ र दीर्घकालीन रूपमा गर्नुपर्ने १७ कामको सूची बुझाएको छ । नाट्टा अध्यक्ष सीएन पाण्डे नेतृत्वको टोलीले सुझाव दिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हवाई ट्राफिकको चाप ज्यादै बढी भई अवतरणका लागि आएका हवाई जहाजहरू आकाशमै होल्ड गरी राख्नुपर्ने अवस्थारहेको जानकारी दिँदै तत्कालै यस्तो अवस्थाको अन्त्य गर्न नाट्टाले माग गरेको छ ।
काठमाडौंबाट लामो दूरीमा चल्ने पर्यटन नम्बर प्लेटका बसहरूको प्रस्थान र आगमन टर्मिनल नभएको हुँदा त्यसको व्यवस्था गर्नसमेत माग गरेको छ ।
पर्यटन उद्योगलाई अत्यावश्यक सेवा संचालन ऐनअन्तर्गत राखी अन्य आकस्मिक सेवाहरू सरह सुविधा प्रदान गरि बन्द, हड्ताल र चक्का जामको स्थितिमा पनि पर्यटक बोकेका सवारीहरू निर्वाध रुपले सञ्चालन गराउन माग गरिएको छ ।
पर्यटन क्षेत्रलाई अझ सबल बनाउन दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको आवश्यकता ज्यादै टड्कारो रूपमा देखिएकाले बाराको निजगढ विमनस्थलको निर्माण कार्य तदारुकतासाथ सम्पन्न गर्न माग गरेको छ । त्यसैगरी निर्माणाधीन पोखरा र भैरहवा विमानस्थललाई पनि बैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा यथाशीघ्र निर्माण सम्पन्न गर्न सुझाव दिएको छ ।
मन्त्री अधिकारीले आफूले सबै सुझावलाई सकारात्मक रुपमा लिएको बताउँदै तत्काल गर्न सम्भव हुने काम केही दिनमै गर्न सुरु गर्ने बताए । उनले मन्त्रालयले सय दिन र एक वर्षको कार्यक्रम तयार गर्न लागेको जानकारी दिँदै ती कार्यक्रममा नाट्टाको मागसहितको सुझावलाई महत्वका साथ समेट्ने प्रतिबद्धता जनाए । मन्त्री अधिकारीले निजी क्षेत्रको सक्रियता बिना आर्थिक समृद्धि सम्भव नभएकाले व्यवसायमैत्री वातावरण तयार गर्न सरकार तयार रहेको बताउँदै सहयोग गर्न व्यवसायीलाई आग्रह गरेका छन् ।