१ अर्बको लगानीमा विराटनगरमा भाटभटेनी सुपर मार्केट

एक अर्ब रुपैयाँको लगानीमा विराटनगरमा अन्तर्राष्ट्रियस्तरको भाटभटेनी सुपर मार्केट सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
विराटनगरमा भाटभटेनीको शाखा १५ औं संस्करणका रूपमा सञ्चालनमा ल्याउन लागिएको हो । साढे ८ कट्ठा जमिन र १ लाख ४५ हजार वर्गफिट भवनका लागि ६० करोड खर्च भएको सञ्चालक मीनबहादुर गुरुङले जानकारी दिए । ४० करोडको विभिन्न सामान राखिनेछ । भवनलाई साजसज्जासहित अन्तिमरूप दिन ३ सय ५० कामदार २४ घण्टा नै काम गरिरहेका छन् । बाढी आउँदा एक महिनाबाहेक भवन निर्माण २४ घण्टानै काम भएको छ । नयाँ वर्षका दिनदेखि सुपर मार्केट सञ्चालनमा ल्याउने तयारी भएको उनले बताए ।
सुपर मार्केटमा २ तलाको बेसमेन्ट र माथि ५ तला छन् । बेसमेन्टको स्थान पार्किङ र कार्यालयका लागि छुट्याइएको छ । भुइँ तलामा ग्रोसरी अर्थात् खाद्य सामग्री र पहिलो तलामा भान्साका सामग्री (किचनवेयर) र शृंगार–प्रशाधन (कस्मेटिक)का सामग्री राखिने गुरुङले बताए । त्यस्तै दोस्रो तलामा रेडिमेड गार्मेन्ट र कपडा, तेस्रोमा फुटवेयर र इलेक्ट्रोनिक तथा चौथो तलामा फर्निचरका सामग्री राखिनेछन् । पाँचौं तला मनोरञ्जनका लागि हुनेछ । यस तलामा २ छुट्टाछुट्टै वातानुकूलित सिनेमा हलको तयारी गरिँदैछ । यही तलामा फुडकोर्ट रेस्टुरेन्टको व्यवस्था पनि गरिनेछ । सिनेमा हल र फुडकोर्टका लागि काठमाडौंमा काम गरेर नाम कमाएको क्युएफएक्सलाई जिम्मेवारी दिइएको सञ्चालक गुरुङले जनाए ।
विराटनगरबाहेक राजधानीमा १० वटा तथा पोखरा, बुटवल, चितवन र धरानमा गरी भाटभटेनीका १४ सुपर मार्केट छन् । यसपछि भैरहवा र ललितपुरको सातदोबाटोमा सञ्चालनको तयारी भइरहेको उनले सुनाए ।
विराटनगरमा नेपाल बजार डिपार्टमेन्टल स्टोर ४ वर्षदेखि सञ्चालनमा छ । तर, सुपर मार्केट भने थिएन । भारतको जोगबनी जाने ग्राहकलाई सुपर मार्केटले आकर्षित गर्ने सञ्चालक गुरुङको दाबी छ । “जोगबनीकै दाममा हामी चिनी, तेललगायतका खाद्य सामग्री उपलब्ध गराउँछौं,” उनले भने, “अब सामान खरिदकै लागि जोगबनी जानु पर्दैन । चाडपर्वबाहेक अन्य समयमा पनि जोगबनीको व्यापार नेपाली ग्राहककै कारण चलेको छ । दसैं र तिहारको समयमा दैनिक ३ करोडभन्दा बढीको कारोबार हुने गरेको छ । अहिले पनि विशेष गरी शनिबार जोगबनीमा नेपाली ग्राहकका कारण खुट्टा राख्ने ठाउँ हुँदैन । नेपाल बजार डिपार्टमेन्टल सञ्चालनमा आएपछि भने जोगबनी जाने ग्राहकलाई केही हदसम्म रोकेको छ । मून्दडा समूहको लगानीमा अर्को सुपर मार्केट पनि धमाधम निर्माण भइरहेको छ । मोती दुगडको लगानीको सेञ्जुरी मलको भौतिक संरचना निर्माणको क्रममा छ ।