विपद प्रभावितलाई राज्यले सहयोग गर्छ : मुख्यमन्त्री गुरुङ «

विपद प्रभावितलाई राज्यले सहयोग गर्छ : मुख्यमन्त्री गुरुङ

लमजुङ- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले बाढी, पहिरा जस्ता विपदबाट प्रभावितहरुलाई राज्यले अनिवार्य सहयोग गर्ने बताएका छन् । गत साता लमजुङमा परेको भारी वर्षासँगै बाढी पहिरोबाट प्रभावितहरुको घरदैलोमा पुगेर उनीहरुको व्यवस्थापनको निम्ति राज्यले सम्बोधन गर्ने आश्वासन दिएका हुन् ।
पीडितहरुसँग कुरा गर्दै मुख्यमन्त्री गुरुङले राज्यबाट उपलब्ध हुने राहत बाढी पहिरोबाट प्रभावित सबै नागरिकहरुले समान रुपमा पाउनुपर्ने बताए । नोक्सानीको आधारमा सबै पीडितहरुलाई राहत उपलब्ध हुनुपर्ने भन्दै मुख्यमन्त्री गुरुङले राहत पाउनुपर्ने विषयमा कोहि पनि छुट्न नहुने बताए ।
“विपद प्रभावितहरुलाई सरकारले सहयोग नगरी सुख पाउँदैन,” मुख्यमन्त्री गुरुङले भने, “स्थानीय सरकार, संघ सरकारको सहयोग सँगै प्रदेश सरकारले थप सहयोग गर्छ ।”
मुख्यमन्त्री गुरुङले तत्कालको राहत स्थानीय सरकारबाट प्रदान गरिएको भन्दै विस्थापित भएका नागरिकहरुलाई संघ, सरकार र प्रदेश सरकारले थप व्यवस्थापन गर्ने बताए । विपत्तीमा परेकाहरुलाई सहयोग गर्ने संघीय सरकारको कार्यक्रम रहेको भन्दै त्यसमा प्रदेश सरकारले थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
गण्डकी प्रदेश भित्रमात्रै पाँच सय भन्दा बढी घर बाढी पहिरोका कारण विस्थापित भएको मुख्यमन्त्री गुरुङको भनाइ छ । संघ सरकारसँग समन्वय गरी प्रभावित सवै परिवारलाई प्रदेश सरकारले विशेष सहयोग थप गर्ने प्रतिवद्धता उनले व्यक्त गरे । घर नभएकालाई घर बनाउने र जग्गा समेत नभएकाहरुलाई उपयुक्त ठाउँको व्यवस्थापन गरी घर बनाउनका लागि आवश्यक सहयोग गर्ने उनले बताए ।
मुख्यमन्त्री गुरुङले जिल्ला विपद व्यवस्थापन समिति लमजुङसँग समन्वय गरी मध्य नेपाल नगरपालिका अन्तर्गत लामासोती र रानीपानीका बाढी पहिरो प्रभावित ६० घर परिवारलाई खाद्यान्न तथा अन्य अति आवश्यक सामग्री वितरण समेत गरेका थिए
जिल्लाको मध्य नेपाल नगरपालिकामा मात्रै एक सय भन्दा बढी घर बाढी र पहिरोका कारण प्रभावित भएका छन् । बाढी पहिरोबाट प्रभावितमध्ये घर खेत बगाएर विस्थापित भएकाहरुलाई नगरपालिकाले अस्थायी बास र खानाको व्यवस्था गरेको नगरप्रमुख रमेश कुमार पाण्डेले बताए ।
सोबाहेक मस्र्याङदी, दोर्दी र दूधपोखरी गाउँपालिकामा पनि झण्डै दुई सय घर बाढी र पहिरोका कारण प्रभावित भएका छन् । बाढी पहिरो पीडितहरुलाई जिल्ला विपद व्यवस्थापन समितीले एकद्धार प्रणालीबाट राहत वितरणको काम गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्