जाने शून्य, फर्कने ३० हजार बढी

वैदेशिक रोजगारी
कोरोना संक्रमणका कारण विदेशमा रोजगारी गुमाएर स्वदेश फर्कने श्रमिकको संख्या ३० हजारभन्दा बढी पुगेको छ । संक्रमणको जोखिम न्यून नहुँदै सरकारले वैदेशिक रोजगारी खुला गरेको छ तर यो अवधिमा एक जना पनि रोजगारीमा गएका छैनन् भने फर्कनेको संख्या दिनहुँ बढिरहेको अवस्था छ ।
सरकारले रेमिट्यान्स आप्रवाहमा असर पर्ने भएसँगै वैदेशिक रोजगारीमा जान प्रोत्सहान गर्न श्रम स्वीकृति खुला गरे पनि प्रमुख श्रम गन्तव्यबाट फर्कने नेपालीको संख्या बढेर ३० हजारभन्दा बढी पुगेको हो । विदेशबाट आइतबारसम्म फर्किएका लगभग ३५ हजार नेपालीमध्ये ८५ प्रतिशत अर्थात ३० हजार श्रमिकमात्र रहेका छन । हाल २५ देशबाट स्वदेश फर्काइएका नेपालीमध्ये रोजगारीमा गएका यूएई, साउदी अरब, कुवेत, कतार, मलेसिया, बहराइन लगायतका देशबाट आएका हुन् ।
विदेशबाट फर्कने तर जाने नेपाली श्रमिक नभएको भन्दै असार १८ बाट श्रम स्वीकृति खुला गरे पनि अनुमति पाएका श्रमिक विदेश जान पाएका छैनन् । हालसम्म श्रम स्वीकृति लिएर पनि विदेश जान नपाएका ३ हजार ५ सयभन्दा बढी नेपाली विदेश जाने समय कुरेर बसेका छन् । यो अवधिमा सरकारले विदेशबाट तोकिएको संख्याभन्दा बढीको उद्धार गरिसकेको भए पनि जाने श्रमिकको बारेमा ठोस निर्णय गर्न सकेको छैन । साउदी अरब, कतार र मलेसिया लगायतका नेपाली दूतावासले स्वदेश फर्कने संख्या ३० हजार बढी नेपालीले स्वदेश फर्कन निवेदन दिएको जनाएपनि हाल संख्या बढ्दै गइरहेको छ । आइतबारसम्म सबैभन्दा बढी यूइईबाट ७ हजार ७८५, साउदी अरबबाट ५ हजार ६११, कुवेतबाट ५ हजार ५४९, मलेसिया ५ हजार ३३३ र बहराइनबाट ९८० श्रमिक फर्केका छन् । केही श्रम गन्तव्यबाट केही संख्यामा भने गैरश्रमिक नेपाली पनि फर्किएका छन् ।
साउदी अरब, कतार र मलेसियास्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार अभैm पनि प्राथमिकतामा परेका बाहेक हजारौं श्रमिक रोजगारदाताले दिएको हवाई टिकट लिएर उडानको पखाईमा रहेको बताएका छन् । केही समयअघि साउदी अरबका राजदूत डा. महेन्द्रप्रसाद सिंह राजपुत, कतारका डा. नारदनाथ भारद्वाज र मलेसियाका उदयराज पाण्डेले रोजगारदाताले फिर्ती हवाई टिकट दिएर नेपाल जाने आशामा रहेका नेपालीको संख्या अझ बढी रहेको जनाएका थिए । मलेसियाबाट हातमा हवाई टिकट लिएर बसेका तर हवाई सेवा सुचारु नहुँदा फर्कन नपाएका नेपाली श्रमिक धेरै रहेका छन् । मलेसियाबाट आफनैै खर्च वा रोजगारदाताको टिकटमा फर्कने तर उद्दारको प्राथमिकतामा नपरेका नेपाली धेरै भएका कारण व्यावसायिक उडान खुला गर्न श्रमिकले अनुरोध गर्दै आएका छन् । स्वदेश फर्किएकामध्ये सबैभन्दा बढी प्रदेश २ का ९ हजार ५६८, प्रदेश १ का ७ हजार ३६९ र सबैभन्दा कम कर्णाली प्रदेशका ८१० रहेका छन् । फर्किएका ३५ हजारमध्ये २६ हजार २४७ सम्बन्धित प्रदेश गइसकेका छन् । १ हजार १५५ होटल क्वारेन्टाइन, ३ हजार ७०४ होम क्यारेन्टिन, ३ हजार ६५७ लोकल क्यारेन्टिन, ५७ अस्पतालमा बसेका थिए ।
२२१ शव ल्याइयो
वैदेशिक रोजगारी तथा अन्य प्रयोजनमा गइ विदेशमा मृत्यु भएका २२१ नेपालीको शव स्वदेश ल्याइएको छ । यसमध्ये कोरोना संक्रमणका कारण मृत्यु भएका अधिकांश मृतक नेपाली श्रमिकको शवको सम्बन्धित देशमै दाहसंस्कार गरिएको छ । यो अवधिमा सबैभन्दा बढी मलेसियामा ७२, साउदी अरब ७० र कतारमा ४८ नेपालीको मृत्यु भएका शव नेपाल ल्याइएको छ ।