मनकामना र स्मार्ट लघुवित्तको एकीकृत कारोबार सुरु «

मनकामना र स्मार्ट लघुवित्तको एकीकृत कारोबार सुरु

भैरहवा-सिद्धार्थनगरमा केन्द्रीय कार्यालय रहेको मनकामना लघुवित्त वित्तीय संस्था लिमिटेड र दाङ्गको घोराहीमा केन्द्रीय कार्यालय रहेको स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिएर संयुक्त कारोबार सुरु गरेका छन् ।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आइतबारदेखि संयुक्त कारोबारको शुभारम्भ भएको हो । एकीकृत संस्थाको अधिकृत पुँजी १२ करोड ११ लाख ५० हजार र चुक्ता पुँजी ८ करोड २२ लाख ५० हजार रहेको छ । ३ करोड ८९ लाख रुपैयाँको सर्वसाधारणका लागि छुट्याइएको छ ।
एकीकृत भएपछि संस्थाका शाखा २५ वटा, सदस्य संख्या १७ हजार पुगेको छ । संस्थाको कार्यक्षेत्र प्रदेश ५ रहेको छ ।
एकीकृत कारोबार शुभारम्भ गर्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक सुदिप फुँयालले राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था घटाउन मर्ज गर्ने नीति अनुसरण गरेकोमा दुवै संस्थाका सञ्चालकलाई धन्यवाद दिए । उनले वित्तीय पहुँच बढाउन र वित्तीय साक्षरता बढाउन ग्रामीण लघुवित्तको ठूलो भूमिका रहेको उल्लेख गर्दै धेरै संस्थाबाट कर्जा लिने र दोहोरोपना यस क्षेत्रका मुख्य चुनौति रहेकाले त्यसलाई घटाउन संस्थाले विशेष ध्यान दिनुपर्ने बताए ।
संस्थाका अध्यक्ष अजय गोयनकाले चालु वर्षभित्र सर्वसाधारणलाई छुट्याइएको सेयर जारी गर्ने बताए । उनले लघुवित्तको माध्यमबाट गरिबी निवारणका लागि बिना धितोमा कर्जा लगानी गरिरहँदा आवश्यक पर्ने फण्डको ब्याजदर महंगो हुने गरेको गुनासो गरे ।
वित्तीय क्षेत्रका विज्ञ बाबुकाजी शाक्यले मर्जपछि बन्ने संस्था बलियो बन्ने हुँदा सेवाहरुलाई पनि स्तरीय र जनमुखी गराउन आग्रह गरे ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत देवसिंह बिष्टले एक वर्ष अघिदेखि सुरु भएको मर्जर प्रकृया सफल भएकोमा खुशी व्यक्त गर्दै सेवा नपुगेका ठाउँहरुमा लघुवित्त सेवाको विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरे ।
आइतबार नै मर्जपछि बनेको संस्थाको सञ्चालक समितिका अध्यक्ष अजय गोयनकाले नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक सुदिप फुयाँलसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।
यसैगरी साविक मनकामना लघुवित्तबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरु अभिषेक बेरिवाल, प्रदीपकुमार सुद्रनिया, साविक स्मार्ट लघुवित्तबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरु शान्ति चौधरी, जर्मन चौधरी, नवराज अधिकारी र स्वतन्त्र सञ्चालक अच्युत पन्तले पनि अध्यक्ष गोयनकाबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्