संघीय संसदको आधुनिक भवन निर्माण जारी

सिंहदरबार हातामा निर्माणाधीन संघीय संसदको आधुनिक भवनको भौतिक प्रगति ७ प्रतिशत सम्पन्न भएको छ । सहरी विकास मन्त्रालय अन्तर्गत निर्माण भइरहेको विशेष भवन निर्माण आयोजना सिंहदरबार हातामा निर्माण भइरहेको भवनको काम ७ प्रतिशत सम्पन्न भएको हो । मन्त्रालयले विशेष भवन निर्माणअन्तर्गत उक्त आयोजनासहित ललितपुरको सैंबुस्थित भैंसेपाटीमा निर्माण भइरहेको राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाका उप–सभामुख, संघीय मन्त्रीहरुको आवास, र प्रदेश प्रमुख तथा मुख्य मन्त्रीहरुको सम्पर्क कार्यालय र ललितपुरकै गोदावारीमा ३ हजार सिट क्षमताको सम्मेलन केन्द्र (सिटी हल) निर्माणको गरी रहेको छ ।
सहरी विकास तथा भवन निर्माण विभागका उपसचिव प्रकीर्ण तुलाधरले अहिलेसम्म निर्माणस्थल घेर्ने, ३ सय ९० वटा रुख कटान गर्ने, निर्माण उपकरण र सामग्रीहरुको व्यवस्थापन गर्ने लगायतका काम भएको बताए । निर्माण स्थलमा रहेको चण्डीदल गण, नेपाली सेनाको बैण्ड गुल्म र शहरी वनस्पति उद्यान कार्यलाय हटाउने काम भएको समेत उनले बताए । कुल ६ अर्ब ९२ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी सुरु गरिएको आयोजनाको ३ वर्षभित्र सम्पन्न गर्नुपर्ने भएपनि अहिलेसम्म ७ प्रतिशत मात्रै भौतिक प्रगति भएको उनले बताए ।
निर्माणाधीन संघीय संसदको भवन अवलोकनका लागि पुग्नु भएका सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले भवन निर्माणको काममा कोभिड १९ ले आंशिक प्रभाव पारेको भएपनि तोकिएको समय अवधि भित्रै निर्माण सम्पन्न हुने बताए । उनले सरकारका ऐतिहासिक कामहरुको नतिजा जनताले महसुस गर्ने गरी देखिने बेला भएको समेत बताए । गत वर्ष असोज १६ गते निर्माण सम्झौता भएको संघीय संसद भवनको निर्माण तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कुल १ सय ७३ रोपनी ८ अना जग्गामा संसद भवन सहितका विभिन्न १२ वटा संरचना निर्माण हुने छन् । जस मध्ये अहिलेसम्म ६ वटा भवनहरुको निर्माण कार्य सुरु भएको छ ।