हिन्दू राष्ट्र र राजसंस्थाको मूल तत्व कायम रहन्छ «

हिन्दू राष्ट्र र राजसंस्थाको मूल तत्व कायम रहन्छ

वर्तमान प्रधानमन्त्री केपी ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्री थिए । त्यो बेला भारत र चीनसँग प्रधानमन्त्रीको दूत बनेर निकै चर्चा पनि कमाए । तर संविधान घोषणापछि भएको तीन तहको निर्वाचनमा राप्रपाले नराम्रोसँग हार ब्यहोरेको छ । हारको समीक्षा खोज्न धुलिखेलमा आयोजना गरिएको अनुशिक्षण कार्यक्रममा सहभागी हुन आएका थापासँग गरिएको कुराकानी ।
उच्चस्तरीय अनुशिक्षणमा के भयो ?
यो अनुशिक्षणमा चुवानी समीक्षा राम्रोसँग भयो । त्यसका साथै पार्टीको भावी वैचारिक, राजनीतिक कार्यदिशा र कार्ययोजनाका बारेमा छलफल भयो । यो अनुशिक्षण कार्यक्रममा प्राप्त भएका सुझावहरूको आधारमा आगामी वैशाखमा हुने पार्टीको केन्द्रीय परिषद् बैठकमा कार्यपत्र तयार गरिनेछ ।
चुनावमा पार्टी यति नराम्रोसँग हार्नुको कारण के रहेछ ?
मुख्य रुपले निर्वाचनको मुखमा पार्टी विभाजन हुनु नै हो । अनि पार्टीको नीति र अडानका बारेमा रहेको भ्रमहरू निराकरण गर्न नसक्नु अर्को पाटो छ । त्यसै गरी नेपाली काँग्रेससँगको सहकार्यमा स्थानीय तहमा इमान्दारिता पटक्कै देखिएन । र, पार्टीको कमजोर संगठन नै मुख्य कारण हुन् । यीनै कुराहरूले गर्दा हामीले यो अप्रत्याशित परिमाणको सामान गर्नुपर्यो ।
हालका प्रधानमन्त्री केपी ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा जति तपार्इंको राजनीतिक हाईट थियो, त्यो सबै गुम्यो होइन ?
वास्तवमा अघिल्लो पटक केपी ओलीको सरकारमा रहेर मैले जुन काम गरें, त्यसले साँच्चिकै जनतामा राम्रो सन्देश गएको थियो । नाकाबन्दीका बेला चीनसँगको दीर्घकालिन सबन्ध विकासका लागि, अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा अभिवृद्धिका निमित्त हामीले जुन राष्ट्रवादी अडान र भूमिका निर्वाह गरेको थियौँ, त्यसलाई नेपाली जनताले सकारात्मक रुपमा लिएका थिए । तर, पछिल्लो दिनमा पार्टी एकीकरणसँगै हाम्रा अडानहरूमा केही शिथिलता देखा पर्नु र हाम्रो अडानहरूमा केही विचलन आएको जनतालाई महशुस हुनुलाई हामीले एउटा महत्वपूर्ण पाठका रुपमा ग्रहण गरेका छौँ ।
यो पटकको निर्वाचनको परिणामले पनि चेत्नुभएन है हिन्दू राष्ट्रको कुरा गर्न ?
वास्तवमा यो चुनाव पार्टीको योजनाबारे जनमत संग्रह थिएन ।
तर, जनमतले स्पष्ट पारिदियो नि?
मैले अघि पनि भनें, चुनावको हारका कारणका बारेमा । निश्चय पनि हामीले अवलम्बन गर्दै आएको एजेण्डाहरूका बारे पनि समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता छ । त्यसको मूलतत्वलाई नछोडिकन, जनभावनाअनुसार आफ्नो एजेण्डाहरूलाई समेत परिमार्जित गर्दै जाने हाम्रो नीति रहेको छ ।
भनेको हिन्दूराज्य र राजसंस्था हो ?
हिन्दू राष्ट्र र राजसंस्थाको मूल तत्वलाई कायम राख्दै अहिलेको परिवर्तनसँग सामन्जस्य कायम गर्दै अघि बढ्ने हाम्रो नीति रहन्छ ।
वर्तमान ओली सरकारप्रति राप्रपाको दृष्टिकोण कस्तो हुन्छ ?
सरकारले गर्ने कामको गुण र दोषका आधारमा हामी सरकारसँग व्यवहार गर्ने नीति अबलम्बन गर्नेछौँ । हामीले ओली सरकारलाई विश्वासको मत दिएका छौँ । त्यो विश्वासको मत दिँदा राष्ट्रिय एकता र अखण्डताको संरक्षण, प्रजातन्त्रको सुदृढिकरण, मुलुकको आर्थिक विकास हुने विश्वासका साथ दिएका हौँ । सरकारबाट हाम्रो यो अपेक्षा पूरा भएन भने स्वाभाविक रुपले हामी त्यसको प्रतिरोध पनि गर्नेछौँ ।
तीन राप्रपासँग त पूर्वराजाले पनि भेट गरेछन्, अब फेरि पार्टी एकता हुन्छ ?
त्यो भेटलाई हामीले एउटा साधारण घटनाका रुपमा लिएका छौँ । यो भेटलाई अतिरञ्जित हुने ढंगले व्याख्या विश्लेषण गर्नु उचित हुँदैन । हामी अन्य पार्टीसँग एकताका लागि सधैं खुल्ला छौं । भरपर्दो आधार तय भयो भने पशुपतिजी र लोहनीजीको पार्टीसँग एकता गर्न हामी तयार छौँ । तर एकता केवल व्यक्तिहरू एक ठाउँमा भेला हुनका लागिमात्रै वा फेरि सामान्य कुरा नमिल्नेबित्तिकै पार्टी छोडेर जानका निमित्त हुन सक्दैन ।

प्रतिक्रिया दिनुहोस्