निगमको वाइडबडी जेठ तेस्रो साता «

निगमको वाइडबडी जेठ तेस्रो साता

नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको एयरबस ३३०–२०० सिरिजको वाइडबडी जहाज निर्माता कम्पनीले जेठको तेस्रो सातामात्रै नेपाललाई हस्तान्तरण गर्ने भएको छ । एयरबसले २०१८ को जुन पहिलो साता पहिलो जहाज हस्तान्तरण गर्नेगरी कार्यतालिका पठाएको निगमले जनाएको छ । निगमका अनुसार दोस्रो थान जहाज भने पहिलो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको एक महिनापछि नेपाल आउनेगरी कार्यतालिका पठाएको छ । जसमा दोस्रो जहाज असार तेस्रो साता नेपाल आउने छ । यसअघि निगमले वैशाखको अन्तिम साता नेपाल आउने जनाउँदै आएको थियो ।
२ सय ७४ सिट क्षमताका जहाज निगमले आयरल्यान्डको हाइफ्लाई एक्स लिजिङ कम्पनीमार्फत खरिद गर्न लागेको हो । निगमको पाँच सदस्यीय प्राविधिक टोली जहाज परीक्षणका लागि यसै साता फ्रान्स जाँदैछ । निगमलले दुई थान जहाज २० करोड ८० लाख १६ हजार डलर अर्थात २२ अर्ब ६३ करोड रुपैयाँमा खरिद गर्दैछ । जसमा पहिलो किस्ताबापत ७९ मिलियन डलर अर्थात झन्डै ८ अर्ब रूपैयाँ पठाइसकेको छ ।
निगमले सञ्चय कोष र नागरिक लगानी कोषसँग १२-१२ अर्ब रुपैयाँ ऋण लिएर दुई थान एयरबस ३३०–२०० सिरिजको जहाज खरिदका लागि स्रोत जुटाएको थियो । निगमले बाँकी रकम १४ अर्ब ६३ करोड रुपैयाँ दोस्रो किस्ताबापत जहाज आउनुभन्दा केही अगाडि पठाउने छ । निगमले यो जहाजबाट दक्षिण कोरिया, जापान, अष्ट्रेलिया लन्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको छ । निगमले पहिलो चरणमा जापानको ओशाका विमानस्थल र दक्षिण कोरियाको सोलमा उडान गर्ने भएको छ । जापानले हालै नेपाललाई हवाई सम्झौताको लागि बोलाइसकेको छ ।

लुक्ला र माउन्टेन फ्लाइट अब विराटनगरबाट
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट माउन्टेन फ्लाइट र लुक्ला विमानस्थलमा हुने उडान-अवतरण विराटनगर विमानस्थलबाट गराउने तयारी थालेको छ । सगरमाथा आरोहणको सिजनमा लुक्ला उडान दैनिक १ सय २० वटाभन्दा बढी हुने गरेकोले उक्त उडान विराटनगर सारेर काठमाडौं हवाई ट्राफिक सहज बनाउन लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले बताए ।
अहिले नै भैरहवा तथा निजगढजस्ता विमानस्थल तयार नभएकोले तत्कालीन समस्या समाधान गर्न लुक्ला र माउन्टेन फ्लाइटको उडानको हब विराटनगर तोक्नेगरी छलफल भएको मन्त्री अधिकारीले जानकारी दिए । हाल लुक्लामा तारा एयर, समिट एयर तथा सीता एयरले उडान गर्दै आएका छन् ।
काठमाडौंमा आन्तरिक उडान बढी हुँदा अन्तर्राष्ट्रिय एयरलाइन्सलाई समेत समस्या आएपछि आन्तरिक उडानको हब परिर्वतन गर्न लागिएको हो । विमानस्थल कार्यालयका अनुसार माउन्टेन र लुक्लाकोमात्रै उडान १ सय ५० भन्दा बढी दैनिक रूपमा हुने भएकोले हटाउँदा विमानस्थलको १५ प्रतिशत समस्या समाधान हुने दावी गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्