सरकारको विकल्प खोज्नुको विकल्प छैन : मीन विश्वकर्मा «

सरकारको विकल्प खोज्नुको विकल्प छैन : मीन विश्वकर्मा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले वर्तमान सरकार चौतर्फी रुपमा असफल भएको दाबी गर्दै सरकारको विकल्प खोजिनुपर्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने, ‘सरकार कहाँ छ ? सरकार कहीँपनि देखिएको छैन । नेपालको सिमानाभित्र नेपाल सरकार छैन । सरकार हामीभन्दा बाहिर छ । अहिले यत्रो बाढीपहिरो गएको छ, कोरोनाको महामारी छ, हत्या, हिंसा, बलात्कार, एसिड आक्रमणजस्ता घटना बढेका छन्, तर सरकार कहीँपनि छैन ।’
विश्वकर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमा कविता लेखेर बस्ने गरेको तर प्रधानमन्त्रीलाई जनताको दुःख र पीरमर्का थाहा नभएको टिप्पणी गरे । उनले भने, ‘जनता दुःख र पीडामा छन्, तर प्रधानमन्त्री बालुवाटारमा बसेर अब आँशु झार्नु पर्दैन र कोही भोकै मर्नुपर्दैन भनेर कविता लेख्नुहुन्छ । जनतालाई प्रधानमन्त्री बालुवाटारमा छन् भन्ने कुरा थाहा छ, तर सरकार कहाँ छ भन्नेबारे केही थाहा छैन ।’
सत्तारूढ दलभित्रबाटै प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पको खोजि भैरहेकोले वर्तमान सरकारको विकल्प खोज्नुको विकल्प नै नभएको उनको भनाइ छ । उनले भने, ‘नेकपाले जनता झुक्याउने काम गरिराखेको छ । यो सरकारको विकल्प खोजिनुपर्छ ।’ तर, सरकारको विकल्प खोज्नेबारे बल सत्तारूढ नेकपाकै कोर्टमा रहेको उनको टिप्पणी छ ।
उनले आम नागरिकबीच सरकार नभएको जिकिर गरे । उनले भने, ‘कहिलेकाहीँ हामी सञ्चारमाध्यमबाटै देख्छौं–यो सरकार नेपालभित्र नभएर बाहिर पो छ कि ? किनकी बाहिरका मान्छे आएर यो सरकार टिकाईदिने, बाहिरका मान्छे आएर सत्तारुढ दलको अविश्वासको प्रस्ताव रोकिदिने ? बाहिरको मान्छे आएर प्रधानमन्त्रीको आयु लम्ब्याईदिएको देख्दा सरकार हामीसँग छैन । सरकार हामीभन्दा बाहिर छ कि जस्तो अनूभुति हुन्छ ।’
रुकुमपश्चिमको नरसंहार, युवतीमाथि एसिड आक्रमणदेखि चितवनको राष्ट्रिय निकुञ्जमा सेनाले मान्छे मारेको घटना कतैपनि सरकार नदेखिएको उनको गुनासो छ ।
वर्तमान सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउँदै गर्दा वैकल्पिक प्रधानमन्त्रीको नाम पनि उल्लेख गरेर प्रस्ताव ल्याउनुपर्ने संवैधानिक प्रावधान सुनाउँदै विश्वकर्माले भने, ‘स्पष्ट बहुमतको साथ रहिरहेको सरकारको विकल्पको खोजि गर्ने जिम्मा पहिलो त सत्तारुढ दलकै हो । उहाँहरु अर्को प्रधानमन्त्रीको खोजिमा आफैं लाग्नुभएको छ । आफैं त्यहाँ अर्को प्रधानमन्त्रीको खोजि गर्ने निश्कर्ष निस्किसकेपछि आम जनताको तर्फबाट वैकल्पिक सरकार खोज्ने कुरामा प्रमुख प्रतिपक्षी दल पछाडि पर्दैन । हामी समयको पर्खाइमा मात्रै छौं ।’
उनले शक्ति पृथकीकरणको सिद्धान्तबमोजिम संविधानमै आफूहरुले स्वतन्त्र न्यायापालिकाको कल्पना गरेको र उसले दिर्ने निर्देशन, गर्ने फैसला र निर्णयलाई अक्षरंश पालना गर्ने कुरा संविधानमै प्रत्याभूति गरिएको बताए । तर, न्यायालयबाट गैर–न्यायिक, गैरकानूनी र गैरसंवैधानिक फैसला आउँछ भने जनताले फेरि कानून, संविधानको अक्षरमात्रै पढेर अन्याय सहेर नबस्नेपनि उनले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्