सामाजिक सुरक्षा भत्ता कटौती नगर्न आग्रह «

सामाजिक सुरक्षा भत्ता कटौती नगर्न आग्रह

लमजुङ-सरकारले सामाजिक सुरक्षा भत्ता कटौती गरेको भन्दै लमजुङका भूपू सैनिकले विरोध गरेका छन् । विदेशी सरकारबाट निवृत्तिभरण भएका नेपाली नागरिकले नेपाल सरकारबाट प्राप्त गर्दै आएको सामाजिक सुरक्षा भत्ता नदिने निर्णय गरेसँगै लमजुङका भूपू सैनिक विरोधमा उत्रिएका हुन् ।
नेपालबाहेक अन्य देशबाट सैनिक सेवा निवृत्त भएका भूपू सैनिकले ७० वर्ष उमेर कटेपछि पाउदै आएको सामाजिक सुरक्षा भत्ता कटौति गरेको भन्दै सरकारलाई उक्त निर्णय सच्चाउन आग्रह गरेका छन् । भूपू सैनिकहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै विदेशी सरकारबाट निवृत्तिभरण पाएका नागरिकलाई सामाजिक सुरक्षा भत्ता रोक्का गर्ने निर्णय सच्याउन आग्रह गरेका हुन् ।
भूपू सैनिकहरूको रेमिट्यान्सले सरकारको आर्थिक क्षेत्रमा ठूलो टेवा पुगेको दाबी गर्दै जिल्लाका भूपू सैनिकले निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् । स्वदेशमा रोजगारी अभाव हुँदा विदेशिन बाध्य भएको अवस्थालाई ख्याल नगरी नेपाली नागरिकको हैसियतमा पाउँदै आएको सेवाबाट सरकारले वञ्चित गराएको भूपै सैनिक सँघ लमजुङका अध्यक्ष कमलप्रसाद अधिकारीले बताए । “हामी परिबन्धले विदेशिन बाध्य भयौँ र पनि नेपाली नागरिक हौँ,” अधिकारीले भने, “हामीले बाहिरबाट पाउने पेन्सन त हाम्रो खुनको मूल्य हो, तर नेपाल सरकारबाट के पायौँ त ?”
गरिब तथा असाहय नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिएर आर्थिक राहत दिने सरकारको काम प्रशंसनीय भए पनि कुनै निश्चित वर्ग वा समूहलाई लक्षित गरी नदिने निर्णय पूर्वाग्रही भएको उनीहरूको आरोप छ । सरकारकै चाहनाबमोजिम आफूहरू विदेशमा रगत पसिना बगाउन बाध्य भए पनि अहिले सरकारले नै आफूहरूलाई दोस्रो दर्जाको नागरिक ठानेको भूपू सैनिक सँघ लमजुङका सचिव राजकुमार भुजेलको गुनासो पोखे । “सरकारको निर्णयले हामीलाई निराश बनाएको छ,” भुजेलले भने, “हामी सरकारकै अनुमतिमा विदेसी सेना भएका हौँ, अहिले यही सरकारले दोस्रो दर्जाको नागरिक बनायो ।”
नेपाल सरकार गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको पत्रअनुसार विदेशी भूपू सैनिकको सामाजिक सुरक्षा भत्ता कटौती भएको जानकारी पाएको उनीहरूले बताएका छन् । ७० वर्ष उमेर पुगेसँगै नेपाली नागरिकको हैसियतमा सरकारले दिँदै आएको सेवासमेत कटौती गरेकोमा अहिले सांकेतिक विरोध गरेको र सुनुवाइ नभए सडक संघर्ष गर्ने भूतपूर्व सैनिक रमेशबहादुर राउतले बताए ।
जिल्लाका भूपू सैनिकले प्रशासन कार्यालय पुगी प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मामार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका हुन् । भूपू सैनिकहरूको ज्ञापनपत्र बुझ्दै प्रजिअ शर्माले उक्त ज्ञापनपत्र सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्