कोभिड–१९ पछिको सम्भावनाबारे अमेरिकी दूतावास–एसीईएम छलफल «

कोभिड–१९ पछिको सम्भावनाबारे अमेरिकी दूतावास–एसीईएम छलफल

एडभान्स्ड कलेज अफ इन्जिनियरिङ तथा म्यानेजमेन्ट (एसीईएम) ले नेपालस्थित अमेरिकी दूतावाससँगको सहकार्यमा अन्तरसञ्जाल सम्मेलन सञ्चालन गरेको छ । कोभिड–१९ पछिको इन्जिनियरिङ र शिक्षा क्षेत्रकोे सम्भावना एवम् इन्जिनियरिङ, शिक्षा र कोभिड–१९ को महामारीमा विश्वको वर्तमान अवस्थाका बारेमा उक्त सम्मेलन केन्द्रित थियो ।
अमेरिकास्थित ड्युक विश्वविद्यालयको सिभिल तथा पर्यावरणीय इन्जिनियरिङ विभागका प्राध्यापक डा. हेनरी पी गेविन र कलेज अफ भर्जिनिया टेकको इन्जियनियरिङ शिक्षा विभागका प्राध्यापक बेभ्ली वार्टफड उक्त अन्तरसञ्जाल सम्मेलनका प्रमुख वक्ता थिए ।
सम्मेलनलाई अमेरिकी दूतावासका सांस्कृतिक मामिला अधिकृत कार्ल रोगेर्सले सहजीकरण गरेका थिए । अन्तरसञ्जाल सम्मेलन शिक्षा, इन्जिनियरिङ तथा विश्वव्यापी सङ्कटको वर्तमान प्रभाव तथा यससम्बन्धी छलफलमा केन्द्रित थियो । कार्यक्रममा मन्तव्य राख्दै दूतावासका सांस्कृतिक मामिला अधिकृत कार्ल रोगेर्सले नेपाल र अमेरिकाको व्यावसायिक सम्बन्ध सृदृढीकरणकामा विज्ञहरूको योगदानबारे प्रकाश पारे ।
सम्मेलनमा स्वागत मन्तव्य दिँदै एडभान्स्ड कलेज अफ इन्जिनियरिङ तथा म्यानेजमेन्ट (एसीईएम) तथा हिसानका अध्यक्ष रमेश सिलवालले कोभिड–१९ को वर्तमान अवस्था तथा यस महामारीका बीचमा भएका रिक्तताबारे चर्चा गरे । उनले कोभिड १९ बाट इन्जिनियरिङ क्षेत्रसँगै संसारभरिका मानिसहरूमा वृद्धि भएको सक्रियता र समस्या समाधान कौशलका बारेमा समेत आफ्ना धारणा राखे ।
अमेरिकास्थित कलेज अफ भर्जिनिया टेकको इन्जियनियरिङ शिक्षा विभागका प्राध्यापक बेभ्ली वार्टफर्डले दूतावासहरू बन्द रहँदा र भिसाहरूसमेत जारी नभएको अवस्थामा अन्तर्राष्ट्रिय स्तरको शिक्षामा संलग्न विद्यार्थीहरू कसरी प्रभावित बनिरहेका छन् भन्ने विषयमा आफ्ना धारणा राखिन् ।
हरेक प्राविधिक पक्षमा इन्जिनियरिङ शिक्षा लागू हुने भए पनि यो अनुसरण गर्न योग्य क्षेत्र बन्न नसकिरहेको बताइन् । इन्जिनियरिङ शिक्षाप्रति विद्यार्थीहरूलाई प्रोत्साहन गर्नुपर्ने धारणा राख्दै वार्टफर्डले भर्जिनिया टेक कलेजले कसरी आफ्ना विद्यार्थीहरूलाई सक्षम र सफल बन्न सहयोग गरिरहेको छ भन्ने विषयबारे पनि प्रकाश पारिन् ।
त्यस्तै अमेरिकास्थित ड्युक विश्वविद्यालयको सिभिल तथा पर्यावरणीय इन्जिनियरिङ विभागका प्राध्यापक डा. हेनरी पी गेविनले इन्जिनियरिङ क्षेत्र समस्या समाधान गर्ने क्षेत्र रहेको बताउँदै उत्कृष्ट निर्णयले खराब परिणाम निम्त्याए पनि त्यसले सबैलाई समस्या समाधान गर्ने शिक्षा दिने बताए ।
समावेशिताको मूल्यबारे चर्चा गर्दै उनले प्रतिभाशाली व्यक्तिले कुनै दौड, लिङ्गको प्रतीक्षा गर्न नपर्ने तथा त्यस्तो व्यक्ति सीमित व्यक्तिको समूहमा खुम्चिएर बसिरहन पनि नपर्ने बताए । वैविध्यपूर्ण संसारका विभिन्न कुनाबाट यस्तो प्रकृतिको शिक्षामा विद्यार्थीहरूलाई सहभागी गराउनु आजको टड्कारो आवश्यकता रहेको उनको ठम्याइ थियो ।
उक्त सम्मेलनमा कोभिड–१९ ले प्राकृतिक सञ्जालमा पारेको प्रभाव, वर्तमान अवस्थामा इन्जिनियरिङ अध्ययनको महत्त्व, भविष्यका समस्या समाधान गर्ने कार्ययोजना, कोभिडका कारण इन्जिनियरिङ क्षेत्रको विस्तृतीकरण नीति तथा किन विश्वविद्यालयहरू बढी समावेशी हुनुपर्छ भन्ने विषयमा समेत विस्तृत छलफल गरिएको थियो ।
सवाल–जवाफको चरणपछि एडभान्स्ड कलेज अफ इन्जिनियरिङ तथा म्यानेजमेन्ट (एसीईएम्) का निर्देशक कपिलदेव रेग्मीले सम्मेलनका लागि सहकार्य गर्ने अमेरिकी दूतावाससँगै कार्यक्रममा उपस्थित विज्ञ तथा अन्य सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे ।
उनले झन्डै एक घण्टे लामो अन्तरसञ्जाल सम्मेलन सूचनामूलक तथा विचार निर्माणमा सहायक भएको बताए । कोभिड–१९ को महामारीले हामीलाई बाँच्ने नयाँ कला सिकाएको प्रसङ्ग उल्लेख गर्दै निर्देशक रेग्मीले यथाशीघ्र परिवर्तनलाई स्वीकार गरी हामी अघि बढ्नुको विकल्प नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्