आँगनमै नारायणीको बाढी «

आँगनमै नारायणीको बाढी

भरतपुर-बलबहादुर सुनार नारायणीको बाढीले घर घेरेपछि चिन्तामा छन् । नारायणी नदीमा पानी सतह बढेपछि सोमबार रातिदेखि बाढी बस्तीमा छिरेको छ । भरतपुर २६ र २७ को सीमा पर्ने भगडीका बलबहादुर पुख्र्यौली आरन पेशा गरेर जीविका चलाउँछन् । बाढीले उनको आरनका सामान पनि बगाइदिएको छ ।
६ लाख खर्चेर साढे २ वर्ष पहिले बनेको घर किनेका थिए । “घर अगाडिनै बाढी आयो”, उनले भने, “परिवारलाई आफन्तिकामा राखेर घर हेर्न यतै बसेको छु ।” उनको ५ जनाको परिवार छ । “पसिना बगाएर जोडेको सम्पत्ति बाढीले सखाप पार्न लाग्यो”, उनले दुखेसो पोखे, “पहिल्यै नारायणीमा अग्लो ड्याम बनिदिएको भए यस्तो विजोग बन्थेन होला ।” नकियाटाँडीबाट उनी बसाइ सरेका थिए ।
पीपराकी संगीता, विमति र निशा गुरुङ स–साना बच्चा काखी च्याप्दै भरतपुर–२८ मा रहेको साझापुर माविमा आश्रय लिएका छन् । टेकबहादुर पनि स्कुलको ओत लागेर बसेका छन् । टेकबहादुरको संगीता बुहारी हुन भने निशा र विमति छोरी हुन् । २०७२ सालको भूकम्पपछि उनीहरू जुगेडीको पहाड छाडेर चितवन झरेका हुन् । “उता भूकम्प र पहिरोको डर थियो”, टेकबहादुर भन्छन्, “सुरक्षित ठाउँ खोज्दै यता आइयो, आँगनमै बाढी आयो, अब कता जाने ?”
उनीहरूले कमाएको २ बिघा धान खेत पनि खोलाझै बनेको छ । असार २० गते रोपेको धान बाढीले बगाएपछि उनीहरू थप पीडामा छन् । संगीताको ३ वर्ष र वर्षदिनको छोरा छन् । “राति बाढी आउन थालेपछि घर छाडियो”, उनले भनिन्, “स्कुलमा बसे पनि रातभर निद्रा लागेको छैन ।” धान, चामल सबै बाढीले भगाएपछि अब अन्न कसरी जुटाउने पीर परेको बताइन् ।
उनी ३ वर्ष पहिले तनहुँबाट तीन वर्ष पहिले झरेकी हुन् । विमतिको १३ वर्षकी छोरी र ८ महिनाको छोरा छन् । “अहिले स्कुलको ओत लागेर बसेका छौँ, फर्केर कहाँ जानु ?”, उनी भन्छिन्, “बल्ल–बल्ल जोडेको घर पनि बगाउँछ कि भन्ने पीर छ ।” निशाको ३ महिने छोरा छन् । “बाबु जोगाउन घर छाडेर निस्कियौं”, निशाले भनिन्, “जति झरी पर्छ, त्यति मन पोल्छ ।” साझापुरका अगुवा श्यामप्रसाद अधिकारी पिपरा, दद्रेनी, मुसहर वस्ती, न्यूरे चोकका करिब २० घर साझापुर माविका कोठामा आश्रय लिएर बसेको बताउँछन् । “यति ठूलो बाढी आएको थाहा थिएन”, उनले भने, “बेलैमा घरखाली गराएकाले मानवीय क्षति हुन पाएन ।”
भगडीका धनकुमार महतो परबाट बाढीले डुबाएको घर हेर्दे बसेका छन् । “पोहर ब्लक लगाएर घर बनाएको थिएँ, यसपालि बाढीनै आयो”, उनले भने, “बाढी नरोकिँदासम्म आफन्तिकोमा बसौला, तर घरमा पुगेको क्षति कसले हेरिदिन्छ ?” उनको परिवारमा ३ जना छन् । भरतपुर–२६ का वडाध्यक्ष ज्ञानप्रसाद खनाल नारायणीको बाढीले बस्ती जलमग्न बनेको बताउँछन् । “बाढी सबै खेत हुँदै घरमै आइपुगेको छ, सोमबार राति १२ बजेतिर केही घटेको थियो, बिहानदेखि फेरि बढ्यो”, उनले भने, “घरनै डुवाउन थालेपछि ट्रिपर, ट्याक्टरमा राखेर स्थानीयलाई सारियो ।”
उनले नारायणीले सिसुवार, सिसई र कोइलाको ड्यामलाई कटान गरेको बताए । “७० जनालाई सुरक्षित ठाउँमा सारेका छौँ, केही आफन्तकामा बसेका छन्”, उनले भने, “हाम्रो वडामा घर त्यतिधेरै डुवानमा छैन, तर खेतीयोग्य जग्गा सबै डुवानमा छ ।” भरतपुर–२७ का वडाध्यक्ष गोविन्द तामाङ ८ किमि क्षेत्र तटीय क्षेत्रमा पर्ने बताए । “न्यूरेचोक क्षेत्रमा ड्याम भत्केपछि बस्तीमा बाढी आएको छ”, उनले भने, “करिब १५० मिटर भागमा कटान गरेको छ, कैयन ठाउँमा पानीको ‘ओभरफ्लो’ छ ।” उनका अनुसार करिब ६० घर प्रभावित छन् । भरतपुर–२८ का वडाध्यक्ष आशबहादुर कुमाल करिब ४ सय घर सामान्य डुवानमा परेको बताउँछन् । “सालवास, सिसबास, गोलाघाट, मजुटा टोल प्रभावित छन्”, उनले भने, “अन्य वडाबाट बाढी छिरेको छ ।” उनका अनुसार २२ घरलाई उद्वार गरेर सिसवासमा रहेको स्कुलमा राखिएको छ । “न्यूरेचोकमा दीर्घकालिन तटबन्धन नहुँदासम्म बाढीको डर बर्सेनि हुन्छ”, उनले भने, “२६, २७ र हाम्रो वडा सबै प्रभावित बन्छन्, बेलैमा सोच्नुपर्छ ।”
नारायणी नदी व्यवस्थापन आयोजनाका आयोजना निर्देशक मेखनाथ शर्माले न्यूरेचोक क्षेत्रमा निरन्तर मर्मत कार्य भइरहेको बताए । “करिब ८० मिटर बाँध भत्काएको छ, सिसईमा पनि २ सय मिटर भत्काएको छ”, उनले भने, “नारायणीमा यसपालि ठूलो बाढी आएकाले कैयन भागमा ‘ओभरफ्लो’ भएर बस्ती पुगेको छ ।” उनले ५० वर्षसम्म आउने बाढीलाई धान्ने गरी तटबन्धन गरे पनि १ सय वर्षमा आउने जस्तो ठूलो बाढी आएकाले समस्या भएको बताए ।
आयोजनाबाट चितवनतर्फ करिब साढे १४ किमि भागमा तटबन्धन गरिएको छ । मंगलपुरदेखि गोलाघाटसम्मका केही खण्ड तटबन्धन गरिएको हो । आयोजना २०६६ सालदेखि सुरु भएको हो । “न्यूरे चोकमा ‘विग वोल्डर’ सहितको तटबन्धन गरेका थियौँ, भत्काइदियो”, उनले भने, “बाढी हुदा पुनः तटबन्धन गर्न गारो छ, त्यसैले सुरक्षित ठाउँमा वस्ती स्थानान्तरण गर्न सुझाएका छौँ, केही भंगालामा बालुवा सहितको बोरा, स्याउला, ढुंगा राखेर छेक्ने काम भएको छ ।”

प्रतिक्रिया दिनुहोस्