बढ्दो बजारले सिर्जना गरेको प्रतिस्पर्धा

बढ्दो बजारले सिर्जना गरेको प्रतिस्पर्धा बढ्दो बजारले सिर्जना गरेको प्रतिस्पर्धा काठमाडौंविकास निर्माणको कामले गति लिएसँगै यसमा प्रयोग हुने इक्युप्मेन्ट उत्पादक कम्पनीहरूले नेपाली बजारलाई प्राथमिकता दिँदै आएका छन् । मेसिनरी इक्युप्मेन्टको सहज उपलब्धताले विकासे कामका लागि घरेलु औजारको प्रयोग अब कथा जस्तै भइसकेको छ । ठूला परियोजनाको निर्माण बढेसँगै यसले हेवी इक्युप्मेन्टको बजार बढाएको छ । २०-३० वर्ष अघिसम्म सरकारमै सिमित रहेको कन्स्ट्रक्सन इक्युप्मेन्ट पछिल्लो समय विभिन्न कम्पनी मार्फत निजी क्षेत्रले व्यावसायीकरूपमै आयात गरी उपलब्ध गराउँदै आएका छन् ।
हाल नेपाली बजारमा दुई दर्जनभन्दा बढी हेवी इक्युप्मेन्ट ब्रान्ड उपलब्ध छन् । सरकारले मात्र ल्याउने समयमा केही सिमित उपकरण आउने गरेकोमा अहिले दर्जनौं इक्युप्मेन्ट स्वदेसी बजारमा नै पाउन थालिएको छ । विकास निर्माणको कामलाई हेवी इक्युप्मेन्टले जति सजिलो बनाएको छ त्यो भन्दा धेरै छिटो पनि बनाएको हेवी इक्युप्मेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँवर बताउँछन् । “विगतमा हेवी इक्युप्मेन्ट सरकारसँग मात्र हुन्थ्यो र विकासका काम पनि केही ठाउँमा मात्र सिमित थियो,” कुँवरले भने, “विकासका काम बढेसँगै हेवी इक्युप्मेन्टको व्यवसायसमेत उल्लेख्य रूपमा विस्तार भएको र धेरै प्रकारका इक्युप्मेन्ट आयातमा विभिन्न कम्पनीबीच प्रतिस्पर्धा बढेको छ ।” यसले हेवी इक्युप्मेन्ट उपभोक्ता र कन्स्ट्रक्सन कम्पनीलाई समेत फाइदा पुगेको उनको भनाइ छ ।
२०५१ सालमा हेवी इक्युप्मेन्टलाई सरकारले निर्माणजन्य उद्योगअन्तर्गत राखेर भन्सार दर ४ प्रतिशतमा सिमित गरेपछि नेपालका निर्माण व्यावसायी तथा यस क्षेत्रमा लगानी गर्नेहरू बढेका हुन् । योसँगै विभिन्न कम्पनी नेपालमा हेवी इक्युप्मेन्ट बिक्रीका लागि लिएर आएकाले बजार प्रतिस्पर्धीसमेत बढेको व्यवसायीहरूको भनाइ छ । हेवी इक्युप्मेन्टको बिक्री वितरण बढेसँगै विभिन्न कम्पनीका इक्युप्मेन्ट भित्रिएका छन् । आवश्यकताअनुसार आयातकर्ता कम्पनीले विभिन्न इक्युप्मेन्ट आयात गरिरहेको देखिन्छ । विकास निर्माणको कामले गति लिएका इक्युप्मेन्टको बजार प्रतिस्पर्धा बन्दै गइरहेको डूसान इक्युप्मेन्टको नेपालका लागि आधिकारिक बिक्रेता इन्टरनेसनल कन्स्ट्रक्सन प्रालिका एजीएम नरेश महर्जनको भनाइ छ । पछिल्लो समय नयाँ–नयाँ ब्रान्डका कन्स्ट्रक्सन इक्युप्मेन्ट आउनुले पनि बजार प्रतिस्पर्धी रहेको बझ्न गाह्रो नहुने उनको भनाइ छ ।
पहाडि र हिमाली भूभाग धेरै भएको हाम्रो मुलुकमा छोटो अवधिमा सहज रूपमा देशका अधिकांश स्थानमा मोटर बाटो पुग्न सम्भव हेवी इक्युप्मेन्टकै कारण भएको हो । एक दशक अघिसम्म नेपाली लगानीकर्ताहरूका लागि हेवी इक्युप्मेन्ट कल्पनाको विषय जस्तै थियो । त्यसैले २०५० साल अघिसम्म जोकोहीलाई हेवी इक्युप्मेन्ट चाहिएमा सरकारी स्वामित्वमा रहेको हेवी इक्युप्मेन्ट डिभिजन कार्यालय जानुपथ्र्यो । उक्त कार्यालयबाट इक्युप्मेन्टको भाडा रकम बुझाएपछि निश्चित समयका लागि हेवी इक्युप्मेन्ट पाइन्थ्यो । तर अहिले अवस्थामा व्यापक परिवर्तन आएको छ । विकास निर्माणमा आएको तिब्रता, मूल्यमा आएको कमी र सहज उपलब्धताले नेपालमा हेवी इक्युप्मेन्टमा लगानी गर्नेहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।
नेपालमा जेसीबी, एसकर्टस, कोमात्सु, क्याट, टाटा, केस, भोल्भो, डुसान, हुन्डाइ, हिटाची, कोभेल्को, टेरेक्स, कावासाकीलगायत ब्रान्डका हेबी इक्युप्मेन्ट बिक्री हुँदै आएका छन् । नेपालमा एक्स्याभेटर सबैभन्दा धेरै बिक्री हुने हेभी इक्युप्मेन्ट हो । नेपालमा इक्युप्मेन्ट आयातकर्ता कम्पनीहरू सबैको एक्स्याभेटर छन् । त्यसपछि अर्को धेरै बिक्री हुने हेभी इक्युप्मेन्ट हो ब्याकहो लोडर । यो इक्युप्मेन्ट मल्टि प्रपोजमा प्रयोग हुने भएकाले लोकप्रिय भएको व्यसायीहरूको भनाइ छ ।
पहाडि लोकेसनमा बाटो खन्न सजिलो हुने भएकाले एक्स्याभेटर धेरै बिक्री हुने हेभी इक्युप्मेन्ट भएको हो । हेभी इक्युप्मेन्ट धेरै प्रकारका हुने भएको र नेपालमा ब्याकहो लोडर र एस्काभेटरको बिक्री अत्याधिक हुने गरेको व्यवसायीहरू बताउँछन् । योसँगै लोडर, डोजर, क्रेन, कम्प्याक्टरलगायत इक्युप्मेन्टसमेत माग बढ्दै गइरहेको छ । देशमा अन्य ठूला परियोजना शुरु भएमा यस्ता कन्स्ट्रक्सन इक्युप्मेन्टको व्यापार व्यवसाय गुणात्मक रूपमै वृद्धि हुने विश्वास व्यवसायीहरूको छ ।
हेभी इक्युप्मेन्टको बजार उल्लेख्य रूपमा विस्तार हुने क्रममा रहेको जेसीबी हेभी इक्युप्मेन्टको नेपालका लागि आधिकारीक बिक्रेता एमएडब्लू अर्थमुभर प्रालिका डीजिएम–सेल्स एन्ड मार्केर्टिङ दिपकराज गिरीले बताए । “हाम्रो देशमा विगत दुई वर्षको तथ्यांक हेर्ने हो भने हेभी इक्युप्मेन्टको बिक्री दोब्बर वृद्धि भइरहेको छ,” गिरीले भने, “४ वर्ष अघिसम्म करिब ३-४ सयको संख्यामा बिक्री भएको हेभी इक्युप्मेन्ट गत वर्ष हजार-१२ सय भन्दा बढी बिक्री भएको छ ।”
हेभी इक्युप्मेन्टमा ट्रकसमेत राखेर सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार आव २०६८-६९ मा १ हजार ३ सय ३३ क्रेन-डोजर-एक्स्याभेटर-ट्रक दर्ता भएकोमा आव २०७२-७३ मा आइपुग्दा यो बढेर ८ हजार ३ सय २८ पुगेको छ । पाँच वर्षको अन्तरमा आएको यो वृद्धिले पनि नेपाली बजारमा हेभी इक्युप्मेन्टको बिक्री तथा कम्पनीहरूबीच प्रतिस्पर्धा बढेको पुष्टि हुन्छ । त्यस्तै आव २०७३-७४ मा १२ हजार ७ सय १२ वटा क्रेन-डोजर-एक्स्याभेटर-ट्रक दर्ता भएको यातायात व्यवस्था विभागको तथ्यांक छ । चालू आवको ७ महिनामा भने हेवी इक्युप्मेन्टको आयात केही घटेर ३ हजार ९ सय ३० बटा मात्र दर्ता भएको देखिन्छ ।
नेपालमा विकासको काम सुस्त गतिमा भएकाले आगामी दिनमा इक्युप्मेन्टको माग झनै बढ्ने एसकर्टस हेभी इक्युप्मेन्टको नेपालका लागि आधिकारीक बिक्रेता एलटी इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले बताए । अहिले हेभी इक्युप्मेन्टको माग वार्षिक करिब १२-१४ सय रहेको छ भने विकासले तिब्रता लिँदा यो संख्या ५-६ गुणाभन्दा धेरैले उनको भनाइ छ । योसँगै भूकम्पपछिको पुनः निर्माणको कामले पूर्णरूपमा गति लिएको अवस्थामा पनि इक्युप्मेन्टको माग बढ्ने देखिन्छ ।
यही पाँच वर्षको अवधिमा विभिन्न इक्युप्मेन्ट कम्पनीहरू औपचारिक रूपमा आधिकारीक बिक्रेतासहित नेपाली बजारमा भित्रिएका छन् । भूकम्पपछिको पुनर्निर्माणले विकासका काम झनै थपेकाले आगामी वर्ष हेभी इक्युप्मेन्टको माग अझ बढ्ने देखिन्छ । यसबीचमा चिनियाँ हेवी इक्युपकेन्ट कम्पनीहरू पनि आक्रामक रूपमा नेपाली बजारमा भित्रिएका छन् ।
हेवी इक्युप्मेन्टको आयात अवस्था
आर्थिक वर्ष | दर्ता भएका क्रेन/डोजर/एक्स्याभेटर/ट्रक |
२०६८/६९ | १३३३ |
२०६८/६९ | १३३३ |
२०६९/७० | ३३३२ |
२०७०/७१ | २७८९ |
२०७१/७२ | ४२३६ |
२०७२/७३ | ८३२८ |
२०७३/७४ | १२७१२ |
२०७४/७५ | सात महिनाको ३९३० |