पहिरोका कारण गोरखाको ५ वटा स्थानीय तह पूर्णरूपमा विद्युतविहीन «

पहिरोका कारण गोरखाको ५ वटा स्थानीय तह पूर्णरूपमा विद्युतविहीन

गोरखा-वर्षा र पहिरोका कारण गोरखाको करिब ७५ प्रतिशत भूभागमा केन्द्रीय प्रशारण लाइनको विद्युत् सेवा अवरुद्ध भएको छ । साउन ४, ५ र ६ गते भएको वर्षाका कारण जिल्लाको ५ वटा स्थानीय तहको पूरै क्षेत्र र अन्य स्थानीय तहको अधिकांश भागमा विद्युत् आपूर्ति अवरुद्ध भएको हो । सिरानचोक, अजिरकोट, भीमसेनथापा, गण्डकी र बारपाक सुलिकोट गाउँपालिकाको पूरै भूभाग तथा अन्य स्थानीय तहको धेरैजसो क्षेत्रमा विद्युत् प्रशारण गर्न नसकिएको विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बताए । ‘गोरखा नगरपालिकाको वडा नम्वर १ र २, पालुङटार नगरपालिकाको १, २, ६, ७, ८, ९ र १० नम्बर वडा तथा सहिद लखन गाउँपालिकाको वडा नम्बर १, ७ र ८ बाहेकका अन्य क्षेत्रमा पूर्ण रुपमा विद्युत् अवरुद्ध भएको छ ।
३३ केभी प्रशारण लाइनबाट गोरखा सदरमुकामस्थित सवस्टेसनसम्म आइपुगेको बिजुली ३ वटा प्रशारण लाइनमार्फत जिल्लाका स्थानीय तहमा वितरण गरेका छौं । ती प्रशारण लाइनका ५० भन्दा बढी विद्युत् पोल पहिरोका कारण ढलेको छ । यसबाहेक धादिङको गजुरीबाट गण्डकी गाउँपालिकाको घ्याल्चोक क्षेत्र, तनहुँको डुम्रेबाट पालुङटार, सिरानचोक र अजिरकोट तथा चितवनको फिस्लिङबाट गण्डकी गाऊँपालिकाकै फुजेल, मकैसिं लगायतको क्षेत्रमा विद्युत आपूर्ति हुने गरेको छ ।
ती सबै प्रशारण लाइनको विभिन्न ठाउँमा पहिरोले पोल बगाएको गोरखा वितरण केन्द्रले जनाएको छ । हाइटेन्सन लाइनकै ५० भन्दा बढी पोलमा क्षति पुगेकाले केन्द्रीय प्रशारण लाइन पुगेको क्षेत्रमध्ये एक तिहाइभन्दा कम ग्राहकको घरमा मात्रै विद्युत् पु¥याउन सकिएको केन्द्र प्रमुख न्यौपानेले बताए ।
आँबुखैरेनी गोरखा ३३ केभी प्रशारण लाइनको पनि ३ ठाउँमा विद्युत् पोल पहिरोको जोखिममा परेको छ । मझुवाको दरैटार, आँबुवा पुल र १० किलो क्षेत्रका विद्युत् पोल पहिरोको जोखिममा परेका हुन् । यस्तै महेन्द्रज्योति फिडर लाइनअन्तर्गत पीपलथोकको ट्रान्सफर्मर जलेको छ भने अश्राङको एउटा ट्रान्सफर्मर पहिरोले बगाएको छ । तीन दिनको वर्षाका कारण उत्पन्न भएको विपद्बाट झण्डै २० लाख रुपैयाँको विद्युतीय संरचनामा क्षति पुगेको छ । ठाउँ–ठाउँमा सडक अवरुद्ध भएका कारण मर्मतको काम प्रभावित बनेको विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ । थप विपद्को अवस्था नआएमा एक साताभित्र क्षति पुगेका सबै संरचनाको मर्मत सकेर पहिलेको झैं विद्युत् आपूर्ति गर्न सकिने केन्द्र प्रमुख माधव न्यौपानेले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्