महासंघको साधारणसभा फेरि स्थगित «

महासंघको साधारणसभा फेरि स्थगित

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा पुनः स्थागित भएको छ । महासंघ कार्यकारिणी समितिले तोकेको साधारणसभाको मिति पदाधिकारी बैठकले स्थगित गरेको हो । महासंघले लकडाउन खुले पनि सभा सम्मेलनजस्ता धेरै जमघट हुने क्षेत्रमा बन्देज कायमै रहेकाले साधारणसभा स्थगित गरे पनि उपाध्यक्ष चन्द्र ढकाल समूहले भने पदाधिकारी बैठकले अधिकार क्षेत्रबाहिर गएर निर्णय गरेको भन्दै आपत्ति जनाएको छ । बिहीबार पूर्वअध्यक्षहरुसँगको छलफलपछि महासंघ पदाधिकारी बैठक बसेको थियो । बैठकमा कोषाध्यक्ष निरक केसी अनुपस्थित थिए र उनले आफूलाई समय नै नदिइ बैठकमा आउन सूचित गरेको भन्दै आपत्ति जनाएका छन् । पदाधिकारी बैठकले भने सरकारले सभा सम्मेलन भेला गर्न स्वीकृति दिएको १५ दिनभित्र साधारणसभा गर्ने निर्णय गरेको छ ।
महासंघका अध्यक्ष भवानी राणाले साधारणसभामा निर्वाचनसमेत हुने भएकाले ठूलो संख्यामा व्यवसायी भेला हुने भएकाले साधारणसभा सार्नुपरेको बताइन् । उनको अध्यक्षतामा बिहीबार महासंघ सचिवालयमा पदाधिकारी समिति बैठक बसेको थियो । कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी साउन ५ गतेको मन्त्रिपरिषदले अर्को निर्णय नभएसम्मका लागि कुनैपनि प्रकारको सभा, सम्मेलन, भेला आयोजना गर्न प्रतिबन्ध लगाएको छ । यसै निर्णयलाई आधार मानी महासंघको निर्धारित साउन २६ र २७ गतेको वार्षिक साधारण सभा सरकारले सभा, सम्मेलन, भेला गर्ने स्वीकृति दिएको १५ दिन भित्र सम्पन्न गर्ने निर्णय गरेको छ । बैठकमा निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, महासंघका पूर्व अध्यक्षहरू महेशलाल प्रधान, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, सुरज वैद्य, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू किशोरकुमार प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्र प्रसाद ढकालको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्