हेवी इक्युप्मेन्ट अप्रेटर बन्न सहज, अभाव कम हुने आशा «

हेवी इक्युप्मेन्ट अप्रेटर बन्न सहज, अभाव कम हुने आशा

हेवी इक्युप्मेन्ट चालक (अपरेटर) बन्नका लागि निक्कै झन्झटिलो प्रक्रियाले सबैलाई सास्ती दिएको थियो । सरकारले हेवी इक्युप्मेन्ट चालक अनुमतिपत्र (लाइसेन्स) लिने प्रक्रिया अघिल्लो महिना निर्णय गरेर सरल बनाएको छ । यसअघि हेवी इक्युप्मेन्टको लाइसेन्स लिनका लागि चारपांग्रे हलुका सवारीको लाइसेन्स लिएको दुई वर्ष पूरा भएपछि मात्र हेवी इक्युप्मेन्टको ट्रायल प्रक्रियामा सहभागी हुन पाइने व्यवस्था थियो । यसले हेवी इक्युमेन्ट चालक अभाव भएको भन्दै व्यवसायीहरूले विरोध गर्दै आएका थिए । सरकारको अव्यावहारिक नियमका कारण अपरेटर उत्पादन निक्कै कम उत्पादन हुँदा समस्या भोग्नु परेको गुनासो व्यवसायीहरूको रहँदै आएको थियो ।
पूर्वाधारको विकासले गति लिएसँगै बर्सेनि हजारौं इक्युप्मेन्ट नेपाली बजारमा भित्रिरहेका छन् । इक्युप्मेन्ट भित्रिएसँगै त्यो अप्रेट गर्नका लागि दक्ष अप्रेटर (चालक) आवश्यकता पर्छ । लाइसेन्स लिन विगतमा भएको झन्झटिलो प्रक्रियाका कारण दक्ष चालकको उत्पादन नै कम हुन्थ्यो भने सयौंको संख्यामा अप्रेटर रोजगारीका लागि विदेशिने क्रमले स्वदेशमा हेवी इक्युप्मेन्ट अप्रेटरको चरम अभाव हुँदै आएको छ । अब भने यस्तो अवस्था भोग्नु पर्ने अवस्था नआउने नेपाल हेवी इक्युप्मेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँवरले बताए ।
सरकारले क्रेन, डोजर, रोलर-कम्प्याक्टर, ब्याकहोलोडर, ग्रेडरलगायत १६ वटा इक्युप्मेन्टको लाइसेन्स लिनका लागि सरलीकरण गरेको छ । अब हेवी इक्युप्मेन्ट चालक बन्न चाहनेले सरकारी मान्यता प्राप्त संस्थाबाट निश्चित अवधिको तालिम लिएपछि हेवी इक्युप्मेन्टको लाइसेन्स लिने प्रक्रियामा सहभागी हुन पाइने छ । हेवी इक्युमेन्टको लाइसेन्स लिने प्रक्रिया सरकारले सहज बनाएको यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराइले जानकारी दिए । सरकारले पुरानो प्रावधान झन्झटिलो भएको व्यापक गुनासो आएपछि यसलाई सरलिकृत गरेर ४५ दिने तालिम लिएको प्रमाणपत्र पाएकाले हेवी इक्युप्मेन्टको लाइसेन्स लिन ट्रायल प्रक्रियामा सहभागी हुन पाइने व्यवस्था गरेको उनको भनाइ छ ।
नयाँ व्ययवस्थाले हेवी इक्युप्मेन्ट अप्रेटर उत्पादनका लागि सहज हुने विश्वास लिएको छ । जलविद्युत्, सडकजस्ता पूर्वाधारको विकास विस्तार भएसँगै मानिसले गरेर सम्भव नहुने भएकाले परियोजना समयमा नै सम्पन्न गर्नका लागि हेवी इक्युप्मेन्टको प्रयोग हुन थालेको हो । विभिन्न परियोजनाका कामले गति लिएको र विकासका काममा उत्साह देखिएकाले इक्युप्मेन्ट आयात बढेको तर इक्युप्मेन्ट अप्रेटरहरू भने काम हुँदै गएको नेपाल हेवी इक्युप्मेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँवरले बताए । “हामीले धेरै लामो समयदेखि गरेको प्रयास सफल भएको छ,” कुँवरले भने, “माघ २६ गते मन्त्रीस्तरीय निर्णय भएपछि फागुन १६ गतेको राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको छ ।” हेवी इक्युप्मेन्टको लाइसेन्स लिन चारपांग्रे सवारीको लाइसेन्स नचाहिनले नयाँ व्यवस्थाले अब अप्रेटर उत्पादन हुने व्यवसायीले समस्या झेल्नु नपर्ने विश्वास उनले गरे । “हेवी इक्युप्मेन्ट भित्रिने क्रम तीव्र छ तर उक्त मेसिन चलाउने अप्रेटरहरू विदेशिने गरेकाले नेपालमा अप्रेटरको चरम अभाव देखिएको छ,” कुँवरले भने, “नयाँ व्यवस्थासँगै अब यस्तो अभावले व्यवसायीहरूले विदेशबाट अप्रेटर ल्याउने अवस्था कम हुनेछ ।” पछिल्लो समय नेपालमा विकास निर्माणको कामले केही गति लिएसँगै हेवी इक्युप्मेन्टको आयात अत्यधिक रूपमा वृद्धि भएको छ । यसका लागि चाललको संख्या पनि बढ्नु आवश्यक छ । सरकारले बनाएको नयाँ नियमले यो समस्या कम हुने अपेक्षा सबैको छ ।
हेवी इक्युप्मेन्टको चालकको लाइसेन्स पाइपछि आकर्षक तलब हुने भएकाले विदेशिने युवाको संख्या पनि ठूलो छ । विगतमा सीमित संख्यामा दक्ष चालक उत्पादन हुने र त्यसमा पनि केही विदेशिँदा समस्या झेल्नु परेको व्यवसायीहरू सरकारले ल्याएको नयाँ प्रावधानबाट केही उत्साही भएका छन् । कतिपय कम्पनीहरूले दक्ष अप्रेटर विदेशबाट ल्याउनु पर्ने बताएका छन् । तर अब त्यस्तो समस्या नआउने उनीहरूको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्