हेवी इक्युपमेन्टले डोरएको विकासको बाटो

देश संघीयतामा गएसँगै केन्द्रमा रहेका अधिकारहरू प्रदेश तथा स्थानीय सरकारमा हस्तान्तरण भएका छन् । नयाँ संविधान जारी भएपश्चात् सम्पन्न निर्वाचनले तीनै तहमा सरकारहरू बनिसकेका छन् । राजनीतिक दलहरूले पनि अबको लक्ष्य समृद्धि नै भएको बताउन थालेका छन् । केन्द्रदेखि स्थानीय सरकारसम्मको उद्देश्य विकास निर्माण हुने भएकाले त्यो विकास डोराउन हेवी इक्युपमेन्ट सारथी बनेको छ ।
हेवी इक्युपमेन्टको प्रयोगसँगै विकास निर्माणको कार्यमा उत्साह थपेको छ । सामान्य औजारको प्रयोग गरी पूर्वाधार विकास हुन नसक्ने होइन तर सानो काम सम्पन्न गर्नका लागि सयौंको जनशक्ति महिनौ लगाउनु पर्छ । नेपालमा विगत दुई दशकअघिसम्म घरेलु औजारको प्रयोगले खनिँदै आएको सडक त्यसयता हेवी इक्युपमेन्टको सहज उपलब्धताले निक्कै तिब्रता पाएको बुझ्न गाह्रो छैन । सडक सञ्जाललाई पूर्वाधार विकासको पहिलो आधारका रुपमा लिइन्छ । सडक निर्माण मात्र नभई विभिन्न विकासे परियोजना जलविद्युत परियोजना, हवाई अड्डा लगायत निर्माणका लागि समेत हेवी इक्युपमेन्ट अत्यावश्यक भइसकेको छ ।
विकासको गोरेटो देखाउने सर्भे इक्युपमेन्टदेखि सुरुङ बनाउन आवश्यक पर्ने प्रविधियुक्त सामग्रीको उपलब्धताले निर्माण कार्यलाई खरायो गतिमा पुराएको छ । विगतमा वर्षौ लाग्ने काम गर्न प्रविधि तथा मेसिनको सहयोगले क्षणभरमै सम्पन्न गर्न सम्भव भएको छ । केही समयअघि जापानको एउटा सहर भासिएको सडक १ सातामा पुरानै अवस्थामा पुनर्निर्माण हुँदा विश्वभर चर्चा भएको थियो । प्रविधिको विकासले पूर्वाधार निर्माणको कामलाई जादुमयी बनाएको छ भन्दा फरक पर्दैन ।
भौगोलिक रुपमा पहाडी र हिमाली भूभाग धेरै भएको हाम्रो मुलुकमा छोटो अवधिमा सहज रुपमा देशका अधिकांश स्थानमा मोटर बाटो पुग्न सम्भव हेवी इक्युपमेन्टकै कारण भएको हो । एक दशक अघिसम्म नेपाली लगानीकर्ताहरूका लागि हेवी इक्युपमेन्ट धेरै परको विषयको रुपमा रहेको थियो । त्यसैले २०५० सालसम्म कसैलाई हेवी इक्युपमेन्ट चाहिएमा वानेश्वरमा रहेको डिभिजन कार्यालय जानु पथ्र्यो । उक्त कार्यालयबाट इक्युपमेन्टको भाडा रकम बुझाएपछि निश्चित समयका लागि हेवी इक्युपमेन्ट पाइन्थ्यो । तर अहिले समय फेरिएको छ । विकास निर्माणमा आएको तिव्रता, मूल्यमा आएको कमी र सहज उपलब्धताले नेपालमा हेवी इक्युपमेन्टमा लगानी गर्नेहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ । सरकारले २०५१ सालमा हेबी इक्युपमेन्टलाई निर्माणजन्य उद्योग अन्तर्गत राखेर भन्सार दर ४ प्रतिशतमा सीमित गरेपछि नेपालका निर्माण व्यावसायी तथा यस क्षेत्रमा लगानी गर्नेहरू बढेका हुन् । योसँगै विभिन्न कम्पनीहरू नेपालमा हेभी इक्युपमेन्ट लिएर आएकाले बजार प्रतिस्पर्धी समेत बनेको बताउँछन् व्यवसायीहरू ।
पूर्वाधार, जलविद्युत्, राजमार्गलगायत बनाउन हेवी इक्युपमेन्टको ठूलो योगदान रहेको छ । मानिसले वर्षौ लगाएर गर्ने काम इक्युपमेन्टको सहायताले धेरै छिटो गर्न सकिएको भोल्भो इक्युपमेन्टको नेपालका लागि आधिकारिक बिक्रेता एक्सप्लोर अर्थ मुभर्सका निर्देशक सुशिल श्रेष्ठ बताउँछन् । “हामीले नेपाली बजारमा स्वीडेजको उत्पादन ल्याएका छौं । एक्सप्लोर अर्थ मुभर्सले भोल्भोका सबै रेन्जका इक्युपमेन्न भित्र्याएका छौं । यसले नेपालको विकास निर्माणको काम गुणस्तरिय बनाउन थप सहयोग गर्नेछ,” उनले भने ।
विकास निर्माणका लागि आवश्यक पर्ने पहिलो खुड्किलो नै मानिने सर्भे इक्युपमेन्टले विकासलाई सहज र छिटो बनाउन सहयोग पुराएको बागमती इन्टरप्राइजेजका एमडी निरजबहादुर राउतको भनाइ छ । “हामीले नेपाली बजारमा सर्भे गर्ने विभिन्न सामग्रीहरू लामो समयदेखि उपलब्ध गराउँदै आएका छौं । यस्ता सामानहरू हाइड्रोपावर, सडकलगायत भौतिक पूर्वाधार निर्माणका क्रममा आवश्यक पर्दछ, जसले कामलाई धेरै सहज बनाउँछ,” उनले भने । सर्भे इक्युपमेन्टमा कोर ड्रिलिङ, माटो परिक्षण मेसिन, जीपीएस, टोटल स्टेशन, गोटेक्स्टाइल, लगायत इक्युपमेन्ट पर्दछन् । मटेरियल टेस्टिङ मेसिनले ढुंगा, रोडा, बालुवा, छडलगायत सामानको गुणस्तर परीक्षण गर्छ । नेपाली बजारमा यस्ता मेसिनको माग बढ्दै गइरहेको छ । नयाँ नयाँ परियोजनाहरू बन्न थालेसँगै यस्ता सामानको माग समेत बढ्दै गइरहेको छ ।
७५ जिल्लामध्ये अझै दुई जिल्ला सदरमुकाम केन्द्रीय सडक सञ्जालसँग जोडिन सकेको छैन । जतिमा जोडिएका छन्, त्यो हेभी इक्युपमेन्टकै प्रयोगले सम्भव भएको भन्दा फरक पर्दैन । विकास निर्माणको कामलाई हेभी इक्युपमेन्टले जति सजिलो बनाएको छ, त्यो भन्दा धेरै छिटो बनाएको बताउँछन् हेभी इक्युपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँवर । “विगतमा हेभी इक्युपमेन्ट सरकारसँग मात्र हुन्थ्यो र विकासका काम पनि देशव्यापी विस्तार हुन सकेको थिएन,” कुँवरले भने, “विकासका काम बढेसँगै हेभी इक्युपमेन्टको व्यवसाय समेत उल्लेख्य रुपमा विस्तार भएको छ ।”
देशको अर्थतन्त्र गतिशिल बनाउन उद्योगधन्दा, कलकारखाना तथा बैंक वित्तलगायतका क्षेत्रको मात्र हिस्सा छ भन्ने भनाइलाई पछिल्लो समय हेबी इक्युपमेन्ट सहित निर्माण क्षेत्रले गलत भएको पुष्टि गरेको छ । नेपाली बजारमा हेबी इक्युपमेन्टको विक्रिवितरण बढेसंगै विभिन्न कम्पनीका इक्युपमेन्टहरू भित्रिएका छन् ।
बैंकहरूले कमर्सियल भेहिकल र इक्युपमेन्ट क्षेत्रमा पनि सहज रुपमा लोन दिने व्यवस्था गरेकाले पनि व्यवसायीहरूलाई इक्युपमेन्ट व्यवसाय गर्न सहज बनेको हो । विभिन्न अन्तर्राट्रिय कन्स्ट्रकसन इक्युपमेन्ट उत्पादक कम्पनीहरूले भारतमा उत्पादन थालेकाले पनि नेपालमा त्यस्ता इक्युपमेन्ट भित्र्याउन मूल्य तथा आयातका दृष्टिले सहज हुँदै गएको हो । अर्बौ रुपैयाँ बराबरको कन्स्ट्रकसन इक्युपमेनट आयात हुने गरेको छ । त्यस्तै कन्स्ट्रकसन इक्युपमेन्टको रुपमा प्रयोग हुने ट्रिपर वार्षिक हजारौंको संख्यामा विक्रिहुने गरेको छन् ।
हेभी इक्युपमेन्ट धेरै प्रकारका हुने भएको र नेपालमा ब्याक्हो लोडर र एस्काभेटरको विक्रि अत्याधिक हुने गरेको व्यवसायिहरू बताउँछन् । यो संगै लोडर, डोजर, क्रेन, कम्प्याक्टर लगायत इक्युपमेन्ट समेत माग बढ्दै गइरहेको छ । यस क्षेत्रमा व्यवसायि तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न मजदुरहरूको संख्या २० हजारको हाराहारीमा रहेका छन् । देशमा अन्य ठूला परियोजनाहरू शुरु भएमा यस्ता कन्स्ट्रकसन इक्युपमेन्टको व्यापार व्यवसाय गुणात्मक रुपमै वृद्धि हुने विश्वास व्यवसायीहरूको छ । नेपाली बजारमा हेबी इक्युपमेन्टको बिक्रीवितरण बढेसँगै विभिन्न कम्पनीका इक्युपमेन्टहरू भित्रिएका छन् । हाल नेपालमा जेसीबी, कोमात्सु, क्याट, टाटा–हिटाची, एस्कर्टस, केस, भोल्भो, हुन्डाइ, कोभेल्को, टेरेक्स, डूसान, लगायत ब्रान्डका हेबी इक्युपमेन्ट विक्रि हुँदै आएको छ ।
यातायात व्यवस्था विभागको तथ्यांकअनुसार विगतमा केही सयमा आयात हुने इक्युपमेन्ट अहिले हजारौंमा पुगेको छ । हेभी इक्युपमेन्ट धेरै प्रकारका हुने भएको र नेपालमा ब्याकु लोडर र एस्काभेटरको बिक्री अत्यधिक हुने गरेको व्यवसायीहरू बताउँछन् । नेपालमा बिक्रीवितरण भएका सबैजसो इक्युपमेन्ट सडक खन्नकै लागि प्रयोग भइरहेको पाइन्छ । हाम्रो देशमा राष्ट्रिय गौरवका आयोजनाहरू निर्माण हुन नसक्दा पनि यस्ता इक्युपमेन्टको व्यापार वर्षेनि बढ्दै गइरहेको छ ।
नेपालमा हेवी इक्युपमेन्ट भित्र्याउने कम्पनीहरूले सबैखाले मेसिनहरू ल्याए पनि त्यसका लागि आवश्यक पर्ने प्राविधिक उत्पादन गर्नेतर्फ ध्यान नदिएको जेसीबीको नेपालका लागि आधिकारीक विक्रेता एमएडब्लू इन्टरप्राइजेजका मार्केटिङ म्यानेजर सन्जिव देउजाले बताए । नेपालमा अप्रेटर भएपछि लाइसेन्स (चालक अनुमति पत्र) लिने र विदेश जाने, त्यसपछि हेल्पर अप्रेटर बन्ने र ऊ पनि विदेश जाने ट्रेन नै विकास भएको पाइन्छ । सामान्य खालका इक्युपमेन्ट चलाउने तालिम भने जेसीबी लगायत कम्पनीले समेत दिने गरेका छन् । तर ठूला इक्युपमेन्ट चलाउने प्राविधिक विदेशबाट ल्याउन महँगो हुने भएकाले यसतर्फ हेवी इक्युपमेन्ट आयातकर्ता कम्पनीले चासो दिएका छैनन् । इक्युपमेन्ट बिक्री हुने क्रम दिन दुईगुणा रात चौगुणा बढे पनि चलाउन जान्ने अप्रेटर बाहिरिने क्रम पनि त्यही दरमा रहेको व्यवसायीहरूको भनाइ छ ।