पार्टी बलियो बनाउन एकताबद्ध हुनु अपरिहार्य : प्रधानमन्त्री ओली «

पार्टी बलियो बनाउन एकताबद्ध हुनु अपरिहार्य : प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाउन एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य रहेको बताएका छन् ।
नेकपाका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवसमा उनीप्रति श्रद्धाञ्जलि गर्दै ओलीले भनेका छन्, ‘पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला हामी एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य छ ।’
ओलीले पुष्पलालको सांगठनिक राजनीतिक चाहना धेरै हदसम्म पूरा गरेको दाबी गरेका छन् । उनले भनेका छन्, ‘विभाजित कम्युनिस्ट आन्दोलन एकताबद्ध, राष्ट्रव्यापी र मजबुत भएको छ । पार्टीले करिब दुई तिहाइ बहुमतका साथ प्रमुख स्थान हासिल गरेको छ ।’
प्रधानमन्त्री ओलीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा अगाडि सारेर यसअघि गर्न नसकेका र नगरिएका तमाम काम गर्न लागिएको पनि बताएका छन् ।
प्रधानमन्त्रीले भनेका छन्, ‘पुँजी र प्रविधिलाई हाम्रा प्रयासमा मिसाऔं, उत्पादन बढाऔं, निर्यात बढाऔं, आयात घटाऔँ । यस बाटोबाट हामी समृद्धि हासिल गर्नेछौं ।’ प्रधानमन्त्रीले पुष्पलालको वैचारिक मार्गदर्शनमा मुलुकलाई अग्रसर गराउने संकल्प गर्दै उनीप्रति श्रद्धासुमन अर्पण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्