महासंघमा आगामी नेतृत्व कस्तो ? «

महासंघमा आगामी नेतृत्व कस्तो ?

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणभसा साउन २६ र २७ गते ललितपुरमा हुँदैछ । महासंघको नयाँ नेतृत्वका लागि निर्वाचनसमेत हुने भएकाले यस साधारणसभाले विशेष महत्व बोकेको छ । चैत अन्तिम साता हुनुपर्ने साधारणसभा कोरोना संकट न्यूनीकरणका लागि सरकारले गरेको लकडाउनका कारण साउनमा सरेको हो । सरकारले लकडाउन हटाएसँगै साधारणसभाको पक्षमा माहौल बढे पनि अझै पनि साधारणसभा गराउनु जोखिमपूर्ण छ भन्ने पक्षमा केही व्यवसायीको मत रहेको पाइन्छ । यतिमात्र नभई निजी क्षेत्रले वर्तमान चुनौतीसँग कत्तिको जुध्न सक्ने नेतृत्व पाउने हो भन्ने चिन्ता पनि सर्वत्र छ । महासंघमा विगतजस्तै यसपटक पनि दुई समूह चुनावी मैदानमा छन् । दुवै समूहका उम्मेदवारहरूको क्षमता, अनुभव, योग्यता, समर्पणमा खासै ठूलो अन्तरसमेत नदेखिएको परिस्थितिमा देशैभरका आमव्यवसायी मतदातामा पनि नेतृत्व छान्न स्वाभाविक सकस छ । खासगरी महासंघको भूमिका नीति निर्माण तहमा कमजोर रहेको अवस्थामा अहिलेको नेतृत्व छनोटमा आम व्यवसायीहरू विशेष सचेत हुनु उत्तिकै आवश्यक छ । महासंघ नेतृत्वका मतदातामध्ये एसोसिएटबाहेक वस्तुगत र जिल्लानगर समूहका प्रतिनिधिहरू आफैं चुनावी अभ्यासबाट आएका कारणले कस्तो नेतृत्व चाहिन्छ भन्नेमा जानकार छन् भने एसोसिएट समूहले पनि विगतमा जस्तै महासंघलाई सुहाउँदो नेतृत्व नै छनोट गर्ने अपेक्षा गर्न सकिन्छ । कुनै एक समूहलाई हावी बनाउनुभन्दा दुवै समूहका राम्रा उम्मेदवार छनोट गरी मिश्रित परिणामको पक्षमा निजी क्षेत्रले मत जाहेर गर्नु उपयुक्त हुन्छ, किनकि दुवै समूहमा असल उम्मेदवारहरू छन् र तीमध्ये उपयुक्त र सन्तुलित ढंगले निर्वाचनको परिणाम अपेक्षाकृत बन्नेछ । यसै सन्दर्भमा आगामी दिनमा कस्तो नेतृत्व चाहिन्छ भनेर महासंघलाई नेतृत्व दिइसकेका केही पूर्वअध्यक्षहरूसँग कारोबारले गरेको कुराकानीको सार :

साझा उद्देश्य लिएर हिँड्न सक्ने टिम आउनुपर्छ
पशुपति मुरारका
निवर्तमान अध्यक्ष
नेपाल उद्योग वाणिज्य महासंघ निजी क्षेत्रको छाता संगठन हो । महासंघको भूमिकालाई भोलिका दिनमा अझै बढाएर लैजानु जरुरी छ । त्यसका लागि आउने नेतृत्वले अवश्य पनि योजना बनाएकै हुनुपर्छ । वर्तमान कार्यसमितिको कार्यकाल गत चैतमै सकिए पनि विश्वव्यापी रूपमा फैलिएको कोरोना (कोभिड–१९) महामारीका कारण साधारणसभा आउँदो २६ र २७ मा गर्ने तय भएको छ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने महासंघको विधानबमोजिम आउँदो कार्यकालको अध्यक्ष शेखर गोल्छा हो । अध्यक्षका लागि चुनाव नहुने भएपछि वरिष्ठ उपाध्यक्ष पद चासोको विषय बन्नु स्वाभाविक छ । त्यसैगरी एसोसिएट्स, वस्तुगत र जिल्ला-नगरको तर्फ गरी तीनजना विषयगत उपाध्यक्षको चयन हुनेछ । यसका साथै ६५ जना कार्यकारिणी सदस्य चयन साधारणसभाले गर्नेछ । निजी क्षेत्रलाई नयाँ उचाइमा पु-याउन सक्षम कार्यकारिणी समिति आउने भन्ने विश्वास छ ।
आउँदो कार्यकारिणी समितिमा अध्यक्ष शेखर गोल्छाले टिम बनाएर काम गर्ने हो । उहाँलाई जुन टिम मन पर्छ जोसँग मिलेर काम गर्न सक्छु भन्ने लाग्छ रोजेर जान सक्नुहुन्छ । यदि टिम मिलेन भने महासंघमा दुईवटा धार बन्छ । जुन वर्तमान कार्यसमितिमा देखियो । निजी क्षेत्रका समस्यालाई सरकारसँग बलियो रूपमा लैजाने, लबिङ गर्ने, लगानीका लागि उचित वातावरण बनाउन सक्ने टिम महासंघमा आवश्यक छ । खुला बजार अर्थतन्त्रलाई प्रमोट गर्ने, बहसमा उत्रिन सक्ने निजी क्षेत्रको आवाज चाहिन्छ । समग्र टिमको साझा उद्देश्य हुनुपर्छ । यसका साथै नेपालमा श्रम सम्बन्धका विषयमा पटक–पटक चिसोपना आउने समस्या समाधान हुने गरेको छ । रोजगारदाता र श्रमिकबीचको चिसोपना हटाएर दुवैलाई सौहार्दपूर्ण वातावरणमा जिम्मेवारी पूरा गराउन महासंघ नेतृत्वको भूमिका हुन्छ ।
कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा अहिले नेपालका उद्योग क्षेत्रको योगदान घट्दो क्रममा रहेकाले नेतृत्वको ध्यान यसतर्फ जानु जरुरी छ । केही वर्षअघि १० प्रतिशत योगदान रहेको उद्योग क्षेत्र अहिले जीडीपीमा ५ प्रतिशत योगदान गर्दै आएको छ । यदि हामीले समयमै उचित कदम चाल्न सकिएन, नीति–नियममा सुधार गर्न सकिएन भने उद्योग क्षेत्रको अवस्थामा अन्धकारमय हुनेछ । यस्ता विषयलाई सरकारसमक्ष निडर भएर वार्ता गर्न सक्ने र निक्र्योलमा पु-याउन सक्ने टिम महासंघलाई चाहिन्छ ।
अहिले निजी क्षेत्रप्रतिको धारणा आम जनमानसमा राम्रो छैन । व्यापारी भन्नासाथ अर्कै दृष्टिले हेर्ने धारणा परिवर्तन गराउनु छ । यसका लागि वर्तमान कार्यसमितिले पनि सक्दो प्रयास गरेको हो, तर धेरै महत्वपूर्ण विषयहरू विधान संशोधनको मुद्दाले छायामा परे । जब विधान संशोधनको कुरा आयो, एउटा पक्षले अर्काेलाई कसरी हटाउने भनेर लाग्योे भने अर्काे पक्ष कसरी जोगिने भन्नेबाहेक कामतिर ध्यान जान सकेन । महासंघको मूल उद्देश्यभन्दा ध्यान अर्कैतिर गयो । देशभरका व्यवसायी विधानमै अड्किएर बसे उनीहरूका समस्याका विषयमा छलफल हुनै पाएन । विधान संशोधनले महासंघका महत्वपूर्ण मुद्दाहरू छायामा परे भने महासंघमा धार सिर्जना भयो ।
यदि महासंघलाई सही ट्र्याकमा लैजाने, राजनीतिभन्दा टाढा राख्ने हो भने प्यानल बनाएर चुनाव लड्नु नै गलत हो । खुला रूपमा जो आए पनि ठीक छ, तर प्यानल बनाएर जाने हो भने आउने अध्यक्ष शेखरजीले आफूलाई काम गर्न सहज हुने टिम खोज्नु नयाँ कुरा होइन । यसका लागि अध्यक्षलाई सहयोग गर्ने कार्यसमिति हुनुपर्छ । हामी पूर्वअध्यक्ष साधारणसभामा जाने, बस्ने, कुरा सुन्ने र लागेको कुरा सुझाव दिने हो । महासंघको अबको टिम बलियो र खेमा विभाजन नहुने गरी आओस् भन्न चाहन्छु ।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने निर्णय हतारमा गरियो
सुरज वैद्य
पूर्वअध्यक्ष
विश्वव्यापी रूपमा कोरोना महामारीले उद्योग व्यवसायलाई वर्षाैं पछाडि धकेलेका बेला नेपाल अछुतो छैन । सरकारले चार महिना लामो लकडाउनलाई बुधबारबाट केही सहज बनाएको त छ, तर भोलि के हुने कसैलाई थाहा छैन । यस्तो अवस्थामा उद्योग–व्यवसाय कसरी अगाडि बढाउन सकिएला ? गुमेका रोजगारी कसरी फर्काउन सकिएला ? निजी क्षेत्रको काँधमा जिम्मेवारी झनै थपिएको छ । यही अप्ठेरो परिस्थितिमा निजी क्षेत्रको छाता संस्थाको नेतृत्व पनि परिवर्तन हुँदैछ । वर्तमान परिस्थिति बुझेको र आगामी दिनमा सशक्त ढंगले टिममा बसेर काम गर्न सक्ने व्यक्तिले चुनाव जित्नुपर्छ । नयाँ नेतृत्वको चयन गर्नका लागि हिजोका दिनमा विधान संशोधन गर्दा गृहकार्य कम गरियो भन्ने लाग्छ । वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने गरी विधान संशोधन हुँदा संस्थाभन्दा व्यक्तिलाई हेरेर गरियो भनेर आरोप लाग्यो । वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने निर्णय हतारमा गरियो । विधान संशोधन भइसकेकाले महासंघको अबको नेतृत्व हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले गर्ने हो । महासंघमा वरिष्ठ उपाध्यक्षसहित तलसम्मको सबै टिम बनेर चुनाव लड्नु गलत भयो । यसले महासंघलाई भड्किलोपनतर्फ लैजाँदैछ भने राजनीतिक गन्ध पनि दिएको छ । जो वरिष्ठ उपाध्यक्ष आएपछि हालको विधानले तीन वर्षपछि स्वतः अध्यक्षको जिम्मेवारी दिनेछ ।
कोरोनाका कारण ५-६ वर्ष यसको असर देखिनेछ भने अमेरिका र चीनको व्यापार युद्धको असर पनि नेपाललाई पर्नेछ । यस्तो परिस्थितिमा लगानी बढाउनुपर्नेछ भने बेरोजगारीलाई सम्बोधन गर्नुपर्नेछ । आउने कार्यकारणी समितिलाई धेरै जिम्मेवारी छन् । अहिले महासंघ व्यक्तिगत रूपमा चलेको छ, व्यावसायिक आकार दिनु जरुरी छ । व्यावसायिक डिल, साझा एजेन्डा, सरकारसँग बलियो लबिङ हुनुपर्छ । संघीय संरचनामा देश गइसकेको अवस्थामा महासंघलाई पनि हिजोको जस्तो केन्द्रमा अधिकार थुपारेर हुँदैन । प्रदेशहरूलाई अधिकार दिइनुपर्छ, सातै प्रदेशमा मजबुत बनाउन र महासंघको बलियो अंग केन्द्रभन्दा बाहिर पनि छ भन्ने अनुभूति दिनुपर्छ ।
वर्तमान अध्यक्ष भवानी राणा म अध्यक्ष हुँदा महासंघको इतिहासमै महिला उपाध्यक्ष हुनुभयो । उहाँ अध्यक्ष पनि हुनुभयो, हामी सबैका लागि गर्वको विषय भयो । तर, उहाँले महासंघको एउटा कुर्सीलाई एउटामा मात्रै सीमित गर्न सक्नुभएन । जब कुर्सी अध्यक्षको मात्रै हुन सक्दैन तब विषयगत धार आउनु स्वाभाविक हो । पूर्वअध्यक्षहरूले अध्यक्षलाई सहयोग गर्ने सल्लाह दिने हो, तर कुर्सी सेयर गर्न खोज्ने होइन । आफूले अध्यक्ष हुँदा सँगालेका अनुभव नयाँ आउने अध्यक्षलाइ सिकाउने हो, मार्ग देखाउने हो; तर कुर्सी लिन खोज्ने होइन । भोलि आउने नेतृत्वले वर्तमानबाट केही सिकोस् र आफ्नो जिम्मेवारी के हो, अधिकार के हो भन्ने कुरा राम्रोसँग बुझोस् भन्ने लाग्छ । सल्लाह आवश्यक भएमा पूर्वअध्यक्ष बोलाउने, छलफल गर्ने, विषयगत धारणा बनाउने गर्नुपर्छ । अध्यक्षले आफ्नो कुर्सीको गरिमा राख्नुपर्छ । महासंघ निजी क्षेत्रको छाता संगठन हो भने आमउद्यमी–व्यवसायीले छाता संस्थाको अनुभूति पनि गर्न पाउनुपर्छ ।

सकेसम्म मिलाउन प्रयास गरेका छौँ
महेशलाल प्रधान
पूर्वअध्यक्ष
नेपाल उद्योग वाणिज्य संघको नेतृत्व सकेसम्म सर्वसम्मतले होस् भन्ने मलगायत अरू पूर्वअध्यक्षको इच्छा हो । व्यवसायी साथीहरू मिलेर नेतृत्व छान्न सके टिम पनि राम्रो हुने र काम गर्न पनि सहज हुनेछ । हामी मिलाउने प्रयासमा छौँ । सहमति हुन सकेन भने मात्रै चुनावमा जानुपर्छ । अहिलेको अवस्थामा चुनाव हुने कि नहुने भन्नेमा स्पष्ट धारणा आइसकेको छैन । सरकारले लकडाउन खोले पनि सभा–सम्मेलनलाई खुला गरेको छैन । महासंघको चुनावमा देशभरका व्यवसायी सहभागी हुने भएकाले ठूलै जमघट हुन्छ । साधारणसभाको दिन आउन केही समय बाँकी रहेकाले थप कारबाही यो विषयमा हुने नै छ ।
यदि सहमति भएन, चुनावमै जानुपर्ने अवस्था आयो भने पनि कोरोना महामारीबाट जोगिने हरकदम चालेर मात्रै जानुपर्छ । अहिले वरिष्ठ उपाध्यक्षको चुनाव चासोको विषय होला । वरिष्ठ उपाध्यक्ष भएमा अर्काे कार्यकाल स्वतः अध्यक्ष हुने विधानले व्यवस्था गरेको छ । महासंघलाई बुझेको, व्यवसायीका समस्या चिनेको, सरकारमा जुनसुकै पार्टी आए पनि निडरसाथ निजी क्षेत्रको माग राख्न सक्ने खालको टिम आवश्यक छ । हाम्रो पालामा जस्तो यतिबेला छैन, आफ्ना कुरा राख्न पाइन्छ । उद्योगपतिका समस्या निडरतासाथ तर्कसंगत रूपमा राख्न सक्ने र समाधानको बाटो खोज्न सक्ने व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्छ । हामीले सरकारलाई सुझाव दिंदा सबै कार्यसमिति, विषय विज्ञ राखेर छलफल गरेर मात्रै दिन्थ्यौं तर अहिले त्यस्तो छैन । बुझ्दै नबुझी बोलिहाल्ने, पछिबाट पछुताउने र बोली फेर्ने गर्छन् । महासंघजस्तो संस्थाले त्यस्तो गर्नु ठूलो गल्ती हो । ढिला प्रतिक्रिया ंिदँदा फरक पर्दैन, तर विषयको गहिराइसम्म बुझेर मात्रै प्रतिक्रिया दिनु ठीक हुन्छ । आउने टिमले यस विषयलाई गम्भीरताका साथ लेओस् भन्ने लाग्छ । जसले विद्रोह गर्न सक्छ, जसले शक्ति देखाउँछ उसको भ्यालु देखिने जमाना आयो । त्यसैले ‘बोल्ड’ भएर प्रस्तुत हुने व्यक्ति महासंघले चाहेको छ । कतै बोल्दा पनि आफ्नो व्यवसाय जाला, घाटा होला भन्ने सोच भएका व्यक्तिलाई नेतृत्वमा ल्याउनु गलत हुनेछ । सरकारसँग नीतिगत रूपमा महासंघले कडा भएर आवाज उठाउनुपर्छ, त्यसमा पछाडि नहट्ने वरिष्ठ उपाध्यक्ष छनोट होस् । मलाई व्यक्तिसँग सरोकार छैन ।
हालसम्म बाँचेको अध्यक्षमध्ये सबैभन्दा पुरानो म नै हुँ । नयाँ पुस्तामा ज्ञान, विवेक र क्षमता बढी छ । नयाँ तरिकाले संस्थालाई अगाडि बढाउनुपर्छ । महासंघलाई एकढिक्का बनाइराख्न अन्तिमसम्म पनि दुवै टिमलाई मिलाउने प्रयास हामी पूर्वअध्यक्षको हुनेछ ।

पूर्वअध्यक्षहरू सल्लाहाकारको भूमिकामा हुनुपर्छ
कुशकुमार जोशी
पूर्वअध्यक्ष
नेपाल उद्योग वाणिज्य महासंघ
पूर्वअध्यक्षको अपेक्षा भनेको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधान बनेसँगै महासंघमा हुने गुटबन्दी र राजनीति कम भएर जानेछ र महासंघ अझ बलियो बन्ने छ भन्ने आशा राखेका थियौं । तर महासंघमा त्यस्तो नभई सोचेभन्दा अझ बलियो रूपमा राजनीति हावी हुँदै गएको अवस्था छ । अघिल्लो पटकको महासंघको निर्वाचनमा पनि राजनीति हावी हुँदै गएपछि हामीले अब अध्यक्षकै निर्वाचन हुनुपर्छ भनेका थियौं तर त्यस्तो भएन । जो अध्यक्ष आउँछ उसले आफ्नो टिममा छनोट गर्ने हो । हुनतः अध्यक्ष जो आए पनि मेरो टिम नै हो भन्ने अवधारणाको विकास हुनुपर्छ र त्यो छ पनि । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्यो तर वरिष्ठ उपाध्क्षयमा भने मेरो र तेरो टिम भनेर गुटगत राजनीति हावी हुँदै गएको अवस्था छ । वरिष्ठ उपाध्यक्षको टिम नभएर टिम त अध्यक्षको हुनुपर्नेमा मेरो र तेरो टिम भनेर निर्वाचनको अभियान चलाइएको छ । अबको कार्यकाल शेखर गोल्छाको कार्यकाल हो । अब जो निर्वाचित भएर गए पनि शेखरको टिम हो । शेखरको पनि दुवै टिमलाई मिलाएर नै अगाडि बढाउनु पर्छ भन्ने थियो होला । दुवै पक्ष मिलाउन शेखर र पूर्वअध्यक्षहरूले पनि कोसिस ग-यौं । हाम्रा पूर्वअध्यक्षहरूले दुवै पक्षसँग छलफल पनि ग-यो तर दुवै पक्ष मिल्ने छाँटकाँट नदेखिएपछि निर्वाचन प्रकृयाबाट नै वरिष्ठ उपाध्यक्षसहितको अन्य पदको टुंगो लगाउने निक्र्याेलमा पुगेको हो । यसरी वरिष्ठ उपाध्यक्ष जो स्वतः अध्यक्ष हुँदैछ उसले मलाई कस्तो टिम चाँहिन्छ, भन्ने परिकल्पना गर्नु र मेरो कार्यकालमा यो टिम मरो लागि उपयुक्त हुन्छ भनेर लगिएको अवस्था छ । यसअघिको निर्वाचनमा पनि हालको अध्यक्षले कुनै टिमलाई लिएर हिँड्नु भएको थियो । यस वर्ष पनि विगतका जस्तै प्रकृया आएको हो । यसरी हुनेवाला अध्यक्षले आफ्नो एउटा भिजन बनाएर महासंघलाई शुद्धीकरण गरी बलियो बनाउने, सरकारलाई आफ्ना माग राखेर व्यवसायीको हकहित र राष्ट्रको अर्थतन्त्रमा योगदान पु-याउन सकिन्छ भनेर हालको निर्वाचन प्रकृया अगाडि बढेको देखिन्छ । अब कुन पक्षमा भनेर निर्वाचनमा होमिएको सर्वविवितै छ । गत चैत २८ मा नै हुनुपर्ने निर्वाचन कोभिड–१९ का कारण सर्दैसर्दै गइरहेको छ । मंगलबारको मन्त्रिपरिषद्को निर्णयले बुधबारबाट पूर्णरूपमा लकडाउन खुला गरे पनि सभा, सम्मेलन बैठकमा भने प्रतिबन्द कायमै राखेकाले निर्वाचनको अन्योलता कायमै छ । यसमा पनि एक पक्ष यस्तो विषम परिस्थितिमा निर्वाचन गर्न उपयुक्त नभएको भन्दै छ भने अर्को पक्ष जसरी पनि निर्वाचन प्रकृया गराउनु पर्छ भन्ने पक्षमा छ । संस्थागत रूपमा हजारौँ  मानिसलाई भीडभाड गरेर निर्वाचन तत्काल हुने अवस्था भने देखिँदैन । यसरी हुने निर्वाचनले भोलिको दिनमा जोखिम निम्त्याउने भएकाले स्वास्थ्यजस्तो विषयमा संवेदनशील हुन र संस्था नैतिकवान बन्नु पर्छ । यसरी धेरै मानिस उपस्थित हुने भएकाले व्यवस्थापनमा जोखिम देखिन्छ । निर्वाचन भनेको भावी अध्यक्षले मेरो टिम यस्तो हुनुपर्छ भनेर लाग्नु स्वाभाविक हो । हामी पूर्वअध्यक्षको रोल भने केही हुँदैन, हामी अभिभावकीय र सल्लाहाकारको भूमिकामा मात्र छौं । साथै पूर्वअध्यक्षहरूले लबिङ गर्न र निर्वाचनको माहोल बनाउन हुँदैन । मेरो र मैले चाहेको टिम ल्याउनु पर्छ लगायतको व्यक्तिवादी प्रवृतिबाट महासंघलाई पूर्णरूपमा अलग गर्नुपर्छ र यस्तो हुन नदिएर संस्थाले छुट्कारा पाउनु पर्छ भन्ने हाम्रो मान्यता रहँदै आएको छ । पूर्वअध्यक्ष महासंघमा हावी हुनुहुँदैन र नितान्त सल्लाहाकार, अभिभावकत्वको भूमिकामा सीमित हुनुपर्छ । व्यक्तिभन्दा संस्था ठूलो भएकाले व्यक्तिवादी सोचभन्दा संस्थागत सोच र निर्णयको परिपालना हुनुपर्छ । विगतमा संस्थाभन्दा व्यक्तिवादी सोच हावी भएकाले गर्दा महासंघको बदनाम भई गरिमामा नै आँच आएको छ । अब महासंघलाई नयाँ नेतृत्वले यस्ता प्रवृतिको पूर्णरूपमा शुद्धिकरण गरेर महासंघलाई नयाँ उचाइमा पु-याउनु पर्ने अभिभारा र जिम्मेवारी आगामी नेतृत्व सामु छ । जिल्ला, नगर, वस्तुगत, एसोसिएट तहमा तल्लोस्तरबाट नै शुद्धिकरणको अभियान चलाएर महासंघको छवि र गरिमालाई पुनः स्थापित गर्नुपर्छ । महासंघको भूमिका र जिम्मेवारीलाई पनि बढाएर शुद्धिकरण गर्नुपर्छ भन्ने पूर्वअध्यक्षहरूको भनाइ रहँदै आएको छ, अबको नेतृत्वले यो चुनौती सामना गरेर अगाडि बढ्नु पर्छ ।
अझ पनि हामी सहमतिकै पक्षमा छौं त्यो कायमै छ र उम्मेदवारमा संस्थाका लागि त्याग र आदर गर्नसक्छु भन्ने भावनाको विकास हुनुपर्छ । म भए संस्था ठीक म भएन भने संस्था बेठिक भन्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ । पद र व्यक्तिभन्दा संस्थाको सर्वोपरि हितका लागि व्यक्तिले समर्पण गर्न सक्नुपर्छ । कोरोना संक्रमणको अवस्थामा सरकारले सभा सम्मेलनमा लगाएको प्रतिबन्द खुला नगरेसम्म निर्वाचनमा जान उपयुक्त हुँदैन ।

प्रतिक्रिया दिनुहोस्