सहकारीको भिजन बनाउन महासम्मेलन «

सहकारीको भिजन बनाउन महासम्मेलन

राष्ट्रिय सहकारी महासंघले सहकारी महासम्मेलनमार्फत ५ वर्षका लागि कार्यदिशा बनाउने भएको छ । यही चैत २१ र २२ गते हुने महासम्मेलनमा सहकारी अभियानले हालसम्म प्राप्त गरेको उपलब्धिको समीक्षा गर्दै भावी कार्यदिशा बनाउने महासंघका अध्यक्ष केशवप्रसाद बडालले जानकारी दिए ।
“सहकारीका हालसम्मको उपलब्धि समीक्षा गर्न र आगामी बाटो तय गर्न महासम्मेलन प्रभावकारी हुन्छ,” बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बडालले भने । विश्वका अधिकांश देशमा महासम्मेलन गरी योजना बनाउने मोडल अनुसार नेपालमा पनि २०७० सालदेखि सम्मेलन गर्न थालिएको हो ।
पहिलो महासम्मेलनले तय गरेका अधिकांश लक्ष्य प्राप्ति भएको र नयाँ परिस्थितिमा नयाँ योजना बनाउन दोस्रो महासम्मेलन गर्न लागिएको महासंघले जनाएको छ । प्रत्येक ५—५ वर्षमा सम्मेलन गर्ने भनिए पनि नयाँ संविधानसँगै देश संघीयतामा गएको र नयाँ सहकारी ऐनसमेत जारी भएकाले एक वर्ष अघि नै महासम्मेलन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सहकारी महासंघ र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको संयुक्त आयोजनामा हुने महासम्मेलनमा विश्व सहकारी अभियानको सर्वाेच्च निकाय अन्तर्राष्ट्रिय सहकारी महासंघका अध्यक्ष एरियल ग्वार्काेसहित भारत, चीन, जापान, कोरिया, मलेसिया, सिंगापुर, श्रीलंका, पाकिस्तानलगायतका सहकारी अभियान्ताहरुसहित मुलुकका करिब १ हजार सहकारी अगुवा सहभागी हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्