पहिरोले १८ घर बगायो, करिब ६० घर थप जोखिममा «

पहिरोले १८ घर बगायो, करिब ६० घर थप जोखिममा

लमजुङ-अविरल वर्षापछि लमजुङको मस्र्याङ्दी गाउँपालिका–३, खुदीमा गएको पहिरोले १८ घर बगाएको छ । खुदीको तरापुस्थित पल्लोटारी गाउँमाथिबाट आएको पहिरोले स्थानिय १८ घर बगाउनुको साथै अन्य ६० घर जोखिममा परेका हुन् ।
केही दिनदेखिको अविरल वर्षापछि बुधबार बिहान पौने १० बजेतिर पहिरो खस्दा १८ घर पूर्णरूपमा बगाएको हो । सोही ठाउँमा मंगलबार पनि पहिरो गएको र जोखिम पूर्वानुमान गर्दै स्थानीयहरू नजिकैको स्कुलमा बसेकोले मानवीय क्षति नभएको मस्र्याङदी गाउँपालिकाले जनाएको छ ।
स्थानीयका अनुसार पहिरो खस्दै गर्दा भाग्ने क्रममा चारजना घाइते भएका छन् । अघिल्लो दिनको पहिरोले पुरिएका घरका सामान झिक्ने क्रममा माथिबाट थप पहिरो झर्न थालेपछि भाग्ने क्रममा स्थानीय घाइते भएका थिए । घाइतेमध्ये दुईजनालाई जिल्ला अस्पताल र अन्यलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ ।
पहिरो झर्ने क्रम नरोकिएकोले बाँकी रहेका घरभित्रका सामानहरू निकाल्न पाइएको छैन । जिल्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना उद्धारमा खटिएको छ । स्थानीय साथै वरपरका बासिन्दा समेत उद्धार कार्यमा संलग्न रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
मंगलबारको पहिरोले केही घरमा क्षति पु-याएकोमा बुधबारको पहिरोले पूरै गाउँमा क्षति पु-याएको प्रहरीले जनाएको छ । यद्यपि क्षतिको विवरण अझै आइनसकेको लमजुङका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाको भनाइ छ ।
आइतबारदेखि निरन्तर परेको वर्षाले मंगलबार बिहान सामान्य पहिरो गएको थियो । सामान्य पहिरोपछि स्थानीयहरू स्थानान्तरण भई गाउँ छोडेका थिए । स्थानीयका अनुसार मंगलबारको पहिरोका कारण गोठहरू पुरिँदा नौ वटा पशुचौपाय मरेका छन् । पहिरोले एउटा राँगो, पाँचवटा बाख्रा, एउटा गाई, एउटा पाडो, एउटा गोरु मरेको स्थानीयको भनाइ छ ।

सन्देश पौडेल

प्रतिक्रिया दिनुहोस्