३० टन मकैको बीउ वितरण «

३० टन मकैको बीउ वितरण

 जिल्ला कृषि विकास कार्यालय काभ्रेले यो वर्ष पनि अनुदानको मकै बीउ वितरण सुरु गरेको छ । कृषि आपूर्ति व्यवस्थापन समितिको निर्णयअनुसार मकै बीउ वितरण सुरु गरिएको हो । यो वर्ष ३० टन मकैको बीउ वितरण गरिने कार्यालयका बाली विकास अधिकृत थर्क जिसीले जानकारी दिए ।
बाली विकास निर्देशनालयको ५० प्रतिशत अनुदानमा उन्नत जातका मकै बीउ कृषक, कृषि समूह र कृषि सहकारीलाई वितरण गरिने छ । यो वर्ष रामपुर मम्पोजिट, देउती, अरुण जातका मकै बीउ कृषकले लैजान पाउने छन् । जिल्लाको २५ हजार ३ सय ५३ हेक्टरमा मकै खेती हुँदै आएको छ ।

हाईब्रिड बीउमा प्रतिबन्ध कायमै
जिल्ला कृषि विकास कार्यालय यो पटक पनि हाईब्रिड जातका मकै नलगाउन कृषकलाई आग्रह गरेको छ । थोरै ठाउँमा धेरै बाली फल्ने भन्दै आफूले सिफारिस गरेभन्दा बाहिरी एग्रोभेटबाट हाईब्रिट मकै लगाएर दाना नलागे आफूहरु जवाफदेही नहुने कार्यालयका बाली विकास अधिकृत थर्क जिसीले बताए ।
बीउविजन गुण नियन्त्रण केन्द्रले सूचीकृत गरेका हाईब्रिड जातका मकै लगाउँदासमेत ख्याल गर्न कार्यालयले कृषकलाई सचेत गराएको छ । “कार्यालयले कुनै पनि प्रकारका हाईब्रिड मकै बीउ सिफारिस गरेको छैन्,” जिसीले भने, “हाईब्रिड मकै बीउ लगाएर दाना नलागे त्यसको सम्पूर्ण जिम्मेवार कृषक आफैं हुनुपर्छ ।” हाईब्रिड प्रतिस्थापन गर्न कार्यालयले अनुदानमा विभिन्न उन्नत जातका मकै बीउ वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्