रुकुममा १८ करोड बेरुजु «

रुकुममा १८ करोड बेरुजु

रुकुम-महालेखा परीक्षकको ५७ औैं प्रतिवेदन अनुसार रुकुम पश्चिमका ६ स्थानीय आर्थिक वर्ष २०७५-०७६ मा १३ करोडभन्दा बढी बेरुजु देखाएको छ । महालेखा परीक्षकको कार्यालयले बजेट अनियमित तवरले खर्च गरेर बेरुजु देखाएको हो । समग्र रुपमा स्थानीय तहहरुमा रकमान्तर नगरी विनियोजित भन्दा फरक शिर्षकमा बजेट खर्च गरेको र जनप्रतिनिधिले बैठक, भ्रमण भत्ताको नाममा दोहोरो सुविधा लिएको विषय उठाइएको छ । त्यस्तै सार्वजनिक खरीद ऐनको प्रतिकूल हुने गरी निर्माणमा उपकरण प्रयोग गरेको, प्रतिष्पर्धा विना सामग्री खरीद र योजनाको काम गरेको जस्ता कमजोरी स्थानीय सरकारको बेरुजु रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा सबैभन्दा बढी बेरुजु रकम देखिएको छ । आठबिसकोट नगरपालिकामा ४ करोड ५२ लाख ७६ हजार रकम बेरुजु देखाएको हो । त्यस्तै चौरजहारी नगरपालिकामा ३ करोड ७० लाख ९ हजार, सानीभेरी गाउँपालिकामा २ करोड १५ लाख ६८ हजार र त्रिवेणी गाउँपालिकामा १ करोड ३८ लाख ८१ हजार रुपैयाँ बेरुजु देखिएको छ । त्यस्तै मुसिकोट नगरपालिकामा ९७ लाख ९२ हजार र बाँफिकोट गाउँपालिकामा ५८ लाख ७६ हजार रुपैयाँ बेरुजु देखिएको हो । रुकुम पश्चिममा ६ स्थानीय तहमा सबैभन्दा कम बेरुजु रकम बाँफिकोटमा देखिएको छ । नयाँ जिल्ला बनेको रुकुम पूर्वमा पनि ५ करोड बढी रमक बेरुजु देखिएको छ । सबैभन्दा पुथा उत्तरगंगा गाउँपालिकमा ३ करोड ४२ लाख ६ हजार रुपैयाँ बेरुजु देखिएको थियो । त्यस्तै भूमे गाउँपालिकामा १ करोड १९ लाख २२ हजार र सिस्ने गाउँपालिकामा १ करोड ६ लाख बढी रकम बेरुजु देखिएको हो ।
जिल्ला समन्वय समितिहरुमा पनि बेरुजु देखिएको छ । तर, जसरी स्थानीय तहहरुमा करोडौं रकम बेरुजु देखिएको भएपनि जिल्ला समन्वय समिति रुकुममा भने खासै ठूलो रकम भने छैन । कर्मचारीहरुको तलब र सामान्य खर्च रकम मात्र जिल्ला समन्वयमा आउने भएका कारण बेरुजु रकम पनि कमै देखिएको छ । महालेखापरीक्षकको रिपोर्ट अनुसार जिल्ला समन्वय समिति रुकुम पश्चिममा १ लाख र जिल्ला समन्वय समिति रुकुम पूर्वमा ३ लाख १९ हजार रुपैयाँ बेरुजु देखिएको छ । जसअनुसार रुकुम पश्चिमको भन्दा रुकुम पूर्व समन्वय समितिमा बेरुजु रकम बढी देखिन्छ ।
महालेखाको प्रतिवेदनअनुसार रुकुम पूर्व र पश्चिमका ९ स्थानीय तहमा गरेर ७५ करोड बढी रकम बेरुजु देखिएको थियो । जबकी ५७ औं प्रतिवेदन अनुसार रुकुम पूर्व र पश्चिममा ९ स्थानीय तहमा करिब १८ करोड रुपैयाँ मात्र बेरुजु देखिएको छ । यसको विश्लेषण गर्दा बेरुजुलाई शुन्यमा झार्न अफसल भएपछि अघिल्लो वर्षको सिकाइपछि धेरै बेरुजु घटाएको देखिन्छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका अघिल्लो वर्षको रिपोर्टमा ९ करोड बेरुजु देखिएको थियो भने यसवर्ष ५७ लाखमा झारेको छ । जिल्ला सदरमुकामको नगरपालिका पनि रहेको र बजेट पनि अन्य स्थानीय तहको भन्दा बढी भएपनि यसपटक मुसिकोट नगरपालिकाले बेरुजु घटाउनमा निकै मेहनत गरेको देखिन्छ । त्यस्तै चौरजहारी नगरपालिकामा अघिल्लो वर्ष ८ करोड बेरुजु देखिएकोमा यस वर्ष ३ करोडमा झारेको छ । आठबिसकोट नगरपालिकामा अघिल्लो रिपोर्टमा १४ करोड बेरुजु देखिएकोमा यस वर्ष ४ करोडमा झारेको छ । त्यस्तै बाँफिकोट गाउँपालिकामा अघिल्लो वर्ष ६ करोड बेरुजु देखिएकोमा यस वर्ष ५८ लाख मात्र देखिएको छ । त्यसैगरी त्रिवेणी गाउँपालिकामा अघिल्लो वर्ष ८ करोड बेरुजु देखिएकोमा यस वर्ष १ करोडमा झारेको छ भने सानीभेरी गाउँपालिकामा अघिल्लो वर्ष ७ करोड बेरुजु रहेकोमा यस वर्षको रिपोर्टमा २ करोडमा झारेको छ । रुकुम पूर्वका ३ स्थानीय तहरुहले पनि बेरुजु रकममा सुधार गरेका छन् ।
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा अघिल्लो रिपोर्टमा १२ करोड बेरुजु देखिएकोमा यस वर्ष ३ करोड, भूमे गाउँपालिकाको अघिल्लो वर्ष ५ करोड बेरुजु देखिएकोमा यस वर्ष १ करोड र सिस्ने गाउँपालिकामा पनि अघिल्लो वर्षको रिपोर्टमा ६ करोड बेरुजु देखिएकोमा यस वर्ष १ करोड मात्र बेरुजु देखिएको छ ।

रुकुम पश्चिममा बेरुजु रकमको बिस्तृत विवरण
मुसिकोट नगरपालिका : ९७ लाख ९२ हजार
चौरजहारी नगरपालिका : ३ करोड ७०
आठबिसकोट नगरपालिका : ४ करोड, ५२ लाख
बाँफिकोट गाउँपालिका : ५८ लाख ७६ हजार
त्रिबेणी गाउँपालिका : १ करोड ३८
सानीभेरी गाउँपालिका : २ करोड १५ लाख
रुकुम पूर्वका कति बेरुजु
पुथाउत्तरगंगा गाउँपालिका : ३ करोड ४२
भूमे गाउँपालिका : १ करोड १९ लाख
सिस्ने गाउँपालिका : १ करोड ६ लाख
प्रतिक्रिया दिनुहोस्