सिद्धिओडार चमेरे गुफामा पर्यटन प्रबद्र्धनको काम सकियो «

सिद्धिओडार चमेरे गुफामा पर्यटन प्रबद्र्धनको काम सकियो

धनकुटाको छथरजोरपाटी गाउँपालिका–४ मा रहेको सिद्धिओडार चमेरे गुफामा पर्यटन प्रबद्र्धन गर्न गरिएको दोस्रो चरणको काम पूरा भएको छ । प्रचार–प्रसारको अभाव रहेको गुफा व्यवस्थापनका लागि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले अघिल्लो वर्षसमेत गुफा व्यवस्थापनको काम गरेको र यो वर्षसमेत १० लाख विनियोजन गरेसँगै पोखरी निर्माण, गुफा परिसरको बाटो डलान, शौचालय निर्माण लगायतका काम सम्पन्न भएको निर्माण उपभोक्ता समितीका अध्यक्ष प्रेमप्रसाद ओझाले जानकारी दिए । प्रचार–प्रसार र आवश्यक पूर्वाधारको पर्खाइमा रहेको यस गुफाभित्र विभिन्न देवी देवताको मूर्ति देख्न सकिन्छ साथै गुफाभित्र भित्रैबाट ४, ५ किलोमिटरमा रहेका अन्य गुफासम्म पुग्न सकिन्छ भन्ने बुढापाकाको भनाई रहेको भए पनि यसको आधिकारिक पुष्टि भने नभएको स्थानीयहरुको भनाइ छ ।
पूर्वाधार र प्रचार–प्रसारको अभाव रहेको गुफामा अब भने पर्यटनको संभावना बढ्दै गएको निर्माण उपभोक्ता समितिका अध्यक्ष ओझाले बताए । त्यस्तै पूर्वको प्रमुख पर्यटकीय गन्तब्यको रुपमा स्थापित धनकुटाको नमस्ते झरना नजिकै रहेको लेउती खोलामा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । साँगुरीगढी गाउँपालिका–१ मा चालु आर्थिक वर्षमा प्रदेश सरकारको १० लाख लगानीमा पर्यटकीय पूर्वाधार निर्माणको काम गरिएको हो ।
प्रदेश सांसद आरसी तुम्बाको निर्वाचन पूर्वाधार विकास कार्यक्रमअन्तर्गत १० लाख र जनश्रमदान २ लाख ५७ हजार ६ सय ६२ रुपैयाँको लागतमा लेउतीमा पिकनिक स्थल, देविथान, पिकनिक स्थल जाने पदमार्ग निर्माण गरिएको लेउती जलाधार प्रकृति–सांस्कृतिक प्रवद्र्धन समितिका अध्यक्ष बलबहादुर राईले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्