आँपको रुख सुक्न थालेपछि किसान चिन्तित

जनकपुरधाम-वातावरणमा आएको परिवर्तनसंगै धनुषा र महोत्तरीमा हजारौँ हेक्टर क्षेत्रफलमा रहेको आँपको रुखमा रोग लागेपछि सुक्न थालेको छ । आँपको रुखमा रोग लागेपछि धनुषा र महोत्तरीका अधिकांश गाउँमा रहेको आँपको रुख सुक्न थालेको हो ।
आँपको रुखमा रोग लाग्नुपूर्व माकुराको जालो जस्तो लाग्ने र विस्तारै पातहरु सुक्दै गएपछि रुख पनि सुक्ने गरेको किसानहरुको गुनासो छ ।
धनुषाको मिथिला नगरपालिका स्थित ढल्केवरका सरोज रायले आँपको रुखमा अचानक रोग लागेको बताए । उनले पहिला यस्तो प्रकारको समस्या रुखमा नदेखिएपनि यस पटक रुखमा नौलो प्रकारको समस्या देखिएको बताए ।
त्यस्तै रुखमा लागेको जालो आफै निको हुने अनुमान गरेतापनि केहि समयमा रुख नै सुक्ने गरेको महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर २ बस्ने ५४ वर्षिय रामनरेश यादवले बताए । उनले भने– ‘सुरुमा त रुखमा माकुराको जालो लाग्यो, हामीले यस प्रति खासै चासो राखेनौ, तर पछि त रुख नै सुक्यो ।’ जालो लागेको रुखमा औषधी छर्किदा पनि राम्रोसँग काम नगरेको उनको भनाई छ ।
त्यस्तै कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शंकर प्रसाद साहले अहिले आँपको बोटमा भयावह अवस्थामा जालो देखिएपनि डराउनु पर्ने आवश्यकता नरहेको बताए । उनले किसानहरुले सजगता अपनाए समस्या न्युनिकरण हुने दावी गरे । अहिले निरन्तर रुपमा परिरहेकोले वर्षाले किसानले रुखमा लागेको जालोलाई हातले वा आफु अनुकुल कुनै साधनले हटाएर नष्ट ग¥यो भने ठुलो मात्रामा समस्या समाधान हुने प्रमुख साहले बताए ।
आँपमा जालो लगाउने किराले पातमा जालो लगाएर त्यसको भित्र बसेर रुखको पात खानेगरेकोले समस्या भ्यावह देखिएको छ । आँपको रुखमा जालो लागेकोले त्यसमा औषधी छर्कदा जालोको कारण किरामा औषधी नपुग्ने गरेकोले औषधीले समेत राम्रो सँग काम नगरेको अवस्थामा जालो लागेको पातलाई तोडेर नष्ट गर्दा धेरै मात्रामा समस्या समाधान हुने प्रमुख साहले बताए ।
धनुषा र महोत्तरीमा गरी करिब ४ हजार हेक्टर क्षेत्रफलमा आँपको खेती हुने गरेको छ । धनुषामा ३ हजार २ सय ३८ हेक्टर क्षेत्रफल र महोत्तरीमा १ हजार ७ सय १० हेक्टर जग्गामा आँप खेती हुने गरेको छ ।