निर्वाचनपछि तीन प्रकारका दल «

निर्वाचनपछि तीन प्रकारका दल

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि मुलुकमा तीन प्रकारका दल हुने भएका छन् । निर्वाचन कानुनमा व्यवस्था गरिएको थ्रेसहोल्ड (न्यूनतम भोट सीमा) का कारण दलहरूको वर्गीकरण हुने भएको हो । मंसिर १० र २१ गते हुने निर्वाचनको परिणामले दलहरूको किसिम निर्धारण गर्नेछ । 
दुई चरणमा गरी देशभरमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिटका लागि निर्वाचन हुँदैछ । निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालका अनुसार निर्वाचनपछि राष्ट्रिय मान्यता प्राप्त दल, संसदमा प्रतिनिधत्व गर्ने दल र निर्वाचन आयोगमा दर्ता भएको दल गरी तीन प्रकारका दल हुनेछन् । 
प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १ सिट जितेको र समानुपातिकतर्फ कुल खसेको मतमध्ये कुल सदर मतको तीन प्रतिशत प्राप्त गर्ने दलले राष्ट्रिय दलको मान्यता पाउनेछ । 
यस्तै, प्रत्यक्षतर्फ एक सिट जितेको तर समानुपातिकमा तीन प्रतिशत मत नकटाएको वा समानुपातिकतर्फ तीन प्रतिशत भोट पाए पनि प्रत्यक्षतर्फ एक सिट नजितेको दल संसदमा प्रतिनिधित्व गर्ने दलको हैसियतमा हुनेछ । 
संसद्मा प्रतिनिधित्व गर्ने दलले राष्ट्रिय दलले पाउनेजस्तो सुविधा नपाउने अर्यालले जनकारी दिए । राष्ट्रिय दलको मान्यताप्राप्त दलले मात्र संसद् सचिवालयले दिने कार्यालय, सचेतकले गाडीलगायतको सुविधा पाउने छन् ।
यसैगरी निर्वाचनमा भाग लिएको तर प्रत्यक्षतर्फ एक सिट पनि जित्न नसकेको र समानुपातिकतर्फ तीन प्रतिशत भोट ल्याउन नसकेको दल भने निर्वाचन आयोगमा दर्ता भएको दलको हैसियतमा हुनेछ । समानुपातिकतर्फ तीन प्रतिशत मत नल्याउने दलका एक जना पनि सांसद बन्न पाउँदैनन् । 
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि १ करोड ५४ लाख मतदाता छन् । निर्वाचन अयोगले करिब ७५ प्रतिशत मतदान हुने अनुमान गरेको छ । ७५ प्रतिशत मतदान भएमा करिब १ करोड १६ लाख मत खस्नेछ । यसरी हेर्दा खसेको सबै मत सदर भएको अवस्थामा समानुपातिकतर्फबाट संसदमा प्रतिनिधत्व गर्न करिब ३ लाख ५० हजार मत आवश्यक पर्छ । 
“कुल खसेको मतमध्ये सदर मतको तीन प्रतिशत नल्याउने दलका एक जना सांसद हुनेछैनन्,” अर्यालले भने, “सदर मतको तीन प्रतिशत पुग्न एक मत पुगेन भने पनि त्यो दलका सांसद हुँदैनन् ।” यसको अर्थ तीन प्रतिशत भन्दा एक भोटमात्रै पनि कम भयो पनि त्यो दलले पाएको मत खेर जान्छ । यसको फाइदा ठूला दललाई हुनेछ । क्योसेन्ट पद्धतिबाट समानुपातिकको मतविभाजन गरेर दलले पाउने सीटको टुंगो लगाइने अर्यालले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्