माडीका चेपाङ बिचल्लिमा «

माडीका चेपाङ बिचल्लिमा

भरतपुर-माडी–९ कुसुमखोलाका चेपाङहरूले उचित बसोबासको माग गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने कुसुमखोलामा २०४७ सालदेखि वस्ती बसेकोे थियो । तर, निकुञ्जले अतिक्रमण गरेर बसेको भन्दै बर्सेनि हटाउन खाजेको थियो । ३ वर्ष पहिलेको बाढीले बालीनाली सखाप परेपछि उचित बसोबासको माग गर्दै वडा कार्यालय पुगेका थिए ।
“निकुञ्जले कुसुमखोला खाली नगरे घरनै भत्काइदिने चेतवानी सधै दिन्थ्यो”, कुसुमखोला सुकुम्बासी संघर्ष समितिका अध्यक्ष छविलाल चेपाङ भन्छन्, “नगरपालिकाले घर बनाइदिने आश्वासन दिएपछि विस्तारै वस्ती खाली ग-यौँ, तर अझै सबैको घर बन्न सकेन ।” लोथर, कोराक, गोर्खा, धादिङ लगायतबाट आएका चेपाङको कुसुमखोलामा १ सय ६० घर थिए । करिब ४ सय विघा जग्गा भोगचलन थियो । २०७५ पुसदेखि सो वस्ती खाली हुन थालेको हो । अहिले त्यहाँ करिब १० घरमात्रै छन् । “कुसुमखोलाका सबै घरधुरी एकै क्षेत्रमा सार्न माग गरेका थियौँ”, उनले भने, “अहिले ३ वडामा बाडिएका छौँ, कैयन घरवारविहीन छन् ।”
नगरपालिकाले खोलाका किनार, सामुदायिक वन आसपासका क्षेत्रमा १ कट्टठा बढी भोगचलन नगर्ने गरी घर बनाएर बस्न सुझाएको थियो । कुसुमखोलाबाट ९ नम्बर वडाको राइटोल, खरिकुना, ८ को इन्द्रवस्ती, ७ को देवेन्द्रपुरको परुयु क्षेत्रमा ससाना टहरा बस्न थाले । “सुरुमा स्थानीयलेनै घर बनाउन दिएनन”, उनी सम्झन्छन्, “नगरपालिकालेनै समन्वय गरेपछि खाली जग्गामा घर बनाउन पायौँ ।” छविलालले लालपुर्जा सहितको जमिनमा घर बनाएर बस्न नपाएको दुखेसो पोख्छन् । “यता पनि घर बनाउँदा निकुञ्जले बनाउन पाइँदैन भन्छ”, उनी भन्छन्, “माडीनै मध्यवर्ती क्षेत्र जस्तो लाग्छ, जहाँ जाउँ निकुञ्जको क्षेत्र हो भन्छन् ।” उनले घर वरपरको जग्गा कमाउने अवस्था समेत नभएकाले जीविका चलाउनै गारो भएको बताउँछन् ।
शनिबार निकुञ्जको वगई पोष्टबाट ७ हात्ती परिचालन गरेर कुसुमखोलामा रहेका ८ घर भत्काइदिएको थियो । २ घरमा आगजानी गरेको स्थानीय बताउँछन् । “पानीको ओत लागेर बसेका थियौँ, दिउसो हात्तीले घर भत्काउन थाल्यो” स्थानीय दानबहादुर प्रजा भन्छन्, “धान, मकैपनि माडिदियो, घरमा आगोनै लगाइदिए ।” उनको परिवार ३ वर्ष पहिले खरिकुना सरेका थिए । पछि परुयुतिर घर बनाएका थिए । “घरको काठ कुसुमखोलातिरै थियो, बाली रेखदेख गर्न प्राय आउँथे”, उनी भन्छन्, “वर्षातमा समेत उठिवास लगाउने काम भयो ।” नागरिकता सहितका कागजपत्र, नगद १० हजार रुपैयाँ समेत जलेको उनले बताए । “परुयुतिर सानो घर छ, जमिन यतै भएकाले यताको बाली रेखदेख गर्न बसेको हुँ”, उनले भने, “उचित व्यवस्थापन उतै भएको भए फर्केर किन आउँथे र ?”
कुसुमखोलाको बस्ती सार्र्दा पनि असहयोग
निकुञ्जको एक्लो प्रयासले वस्ती खाली नभएपछि माडी नगरपालिकालेनै स्थानीय चेपाङलाई बस्ती खाली गरेर सरे घर बनाइदिने आश्वासन दिएको थियो । मेयर ठाकुरप्रसाद ढकालले वस्ती खाली गर्न खोज्दा समेत निकुञ्ज असहयोगी बनेको आरोप लगाए । “जंगलभित्र छ, यहाँ नापी पनि हुदैन, बस्न गारो छ, सर्नु भनेपछि उहाँहरू सर्न थाल्नुभयो”, उनले भने, “४ सय विघा जमिन खालि गरिदिएर अन्यत्रै घर बनाउन खोज्दा फेरी अवरोध गर्न थाल्यो ।” उनका अनुसार १ सय ८० घर बनाउने लक्ष्य छ । “ऐलानी र प्रतिजग्गा खोजेर सुरुक्षित बसोबासको व्यवस्था मिलाउन थालेका थियौँ”, मेयर ढकाल भन्छन्, “कतै सामुदायीक वन पर्दैन, तर निकुञ्ज सधै असहयोगी बन्छ ।” उनका राइटोलमा फागुनबाट घर बनाउन थालिएको थियो । २८ घर बनिसकेका छन्, १३ घरमा टिन राख्न खोज्दा निकुञ्जले रोकेको छ । इन्द्रवस्तीमा २९ र परुयुमा ५३ घर बनाइनेछ । परुयुमा १४ घरमात्रै बनेका छन् ।
नगरपालिकाले जनता आवास कार्यक्रम मार्फत २ कोठे घर बनाउन सहयोग गरेको हो । कुसुमखोलाबाट पुरानो घरको संरचना ओसार्नसमेत सहयोग गरेको थियो । “जेठ १६ पछि निकुञ्जले घर बनाउन पनि दिएको छैन”, उनले भने, “यता घर नभएपछि केही कुसुमखोलामै बस्न बाध्य छन् ।” उनले सूचिकृत भएका चेपाङलाई ब्लक र टिनको घर बनाउन नगरपालिकाले सहयोग गर्दै आएको बताए । “शनिबार भत्काइदिएका घर तुरुन्तै बनाउन पहल गर्नेछौँ”, उनले भने, “अमानवीय काम नगर्न निकुञ्जलाई चेतावनी दिएका छौँ ।” वडा–९ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता शिवहरी सुवेदीले चेपाङको घरबास बनाउन निकुञ्जले रोकेको बताए । “तटबन्धन गरेर, शौचालय, खानेपानी लगायतका सुविधा सहितको घर बनाउँदै थियौँ”, उनी भन्छन्, “जता सार्न खोजे पनि निकुञ्जले सधै निहुँमात्र खोज्छ ।” असोजसम्म कुसुमखोला खाली नभए निकुञ्जसँगै समन्वय गरेर सार्ने योजना रहे पनि निकुञ्ज प्रशासनले दमनकारी शैली अपनाएको बताए ।
भत्काइएको घर कि झुप्रो ?
शनिबार निकुञ्जले हात्ती लगाएर कुसुमखोलमा घर भत्काएको खबर भोलिपल्ट सार्वजनिक भयो । तर, निकुञ्जले घर नभत्काएको जीकिर गर्छ । “बाली कुर्न बनाइएका झुप्रा भत्काएका हौँ, ती वास्तविक घर होइनन्”, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख नारायण रुपाखेतीले भने, “घरनै भत्कायो, आगो लगायो भनेर अतिरञ्जित भयो, वास्तवमा त्यो सत्य होइन ।” उनले वस्ती सरेर गएकाहरू बाली लगाउन पुनः तीनै झुप्रामा बसेर रेखदेख गरेको जानकारी पाएपछि अटेर गर्नेका झुप्रा भत्काएको स्वीकारे ।
“वर्षातका बेला बसिरहेका घर भत्काउने काम हामीले गरेका होइनौँ”, उनले भने, “अमानवीय क्रुर व्यवहार गरेका छैनौँ, बाली नलगाउनु भनेर सांकेतिक रुपमा केही अस्थायी टहरा हटाएका हौँ ।” तर, माडी नगरपालिकाले सो ठाउँमा बस्दै आएका घरनै भत्काएको, आगजनी गरेको आरोप लगाएको छ । आइतबार मेयर ढकालद्वारा जारी विज्ञप्तिमा ‘हात्ती लगाएर घरहरू भत्काएमो घोर भत्र्सना’ गरिएको उल्लेख छ । लत्ताकपडा, भाडाकुडा, महत्वपूर्ण कागजात तथा रकम समेत नष्ट हुने गरी २ वटा घरमा आगो लगाउने तथा ८ घरहरू भत्काउने निकृष्ट काम गरेको आरोप लगाएको छ ।
वडाध्यक्ष सुवेदीले बसोबास गरिरहेकै घर भत्काएको जीकिर गरे । “गास, वास, कपासको उचित व्यवस्था नभए नगरपालिकानै बन्द गरेर आन्दोलनमा होमिन्छौँ”, माडीका चेपाङ अगुवा छविलाल भन्छन्, “वस्ती छाडेर नयाँ ठाउँ सरेकाको घर तुरुन्तै बन्नुपर्छ, रोजगारीको व्यवस्था हुनुपर्छ ।” नेकपा माडी र कांग्रेस माडीले कुसुमखोलामा निकुञ्जले गरेको हस्तक्षेपको भत्र्सना गरेका छन् । नकेपा नगर कमिटि माडी अध्यक्ष प्रभुप्रसाद महतो र कांग्रेस नगर समितिका अध्यक्ष कोमलनाथ भुषालले सुकुमबासी समस्या बेलैमा सम्बोधन गरेर उचित बसोबासको व्यवस्था मिलाउन आग्रह गरेका छन् । बाँदरझुलामा ७ सय घरधुरी छन् । यो क्षेत्रमा बेलाबखत निकुञ्जले वस्ती खाली गराउने भन्दै निगरानी बढाउने गर्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्