नेपाल सुरक्षित गन्तव्य हो

तीन वर्षअघिको भूकम्प र नाकाबन्दीका कारण खस्किएको नेपालको पर्यटन क्षेत्र अझै पनि राम्ररी ब्यूतिसकेको छैन । भूकम्पमा भएको ठूलो धनजनको क्षतिका कारण नेपाल असुरक्षित गन्तव्य भन्ने संसारभर प्रचारप्रसार भएको थियो भने त्यसपछिको भारतीय नाकाबन्दीका कारण नेपालमा अति आवश्यकीय वस्तु तथा सेवामा समेत गम्भीर प्रभाव परेको प्रचारले पर्यटकहरू नेपाल आउन डराउनु स्वाभाविक पनि थियो । भलै, भूकम्पका बेला नेपालमा रहेका सम्पूर्ण पर्यटक सुरक्षित रहेको र सबैजसो पर्यटकीय गन्तव्यसमेत सुरक्षित रहेको अवस्था थियो । नाकाबन्दीका बेलामा समेत नेपाल आएका पर्यटकलाई जसोतसो सेवा व्यवसायीहरूले दिइ नै रहेका थिए । यसैले हल्लैहल्लामा नेपालको पर्यटन क्षेत्र ध्वस्त भएको यथार्थ हो ।
पछिल्लो पटक काठमाडौंस्थित अमेरिकी दूतावासले चन्द्रागिरि केबलकार र आसपासका क्षेत्रमा नजान आफ्ना नागरिकलाई ‘अलर्ट’ जारी गरेको छ । हुन त आफ्ना नागरिकको सुरक्षा संवेदनशीलताप्रति अमेरिकी चासो र चिन्तालाई सकारात्मक रूपमा लिन सकिएला, तर यसको अर्को पक्ष के हो भने कुनै पनि समस्या नभएको क्षेत्रलाई बिनाआधार यसरी बदनाम गराउने अमेरिकी प्रचारलाई भने स्वाभाविक रूपमा लिन सकिन्न । अमेरिकाले आफ्ना नागरिकका लागि ‘स्थानीयको अवरोध’ भन्ने जुन कारण देखाउँदै यस्तो अलर्ट जारी गरेको छ, त्यसमा कुनै सत्यता भने देखिँदैन । यसैले अमेरिकी दूतावासको यो विज्ञप्ति भ्रामक रहेको स्पष्ट हुन्छ र यसका सम्बन्धमा दूतावासले माफी मागेर तत्काल सच्याउनु जरुरी छ । नेपाल सरकारले पनि कूटनीतिक माध्यमबाट अमेरिकी दूतावासलाई यस सम्बन्धमा स्पष्टीकरण लिएर उक्त अलर्टसम्बन्धी सूचना सच्याउन निर्देशन दिनुपर्छ । अन्यथा, नेपालमा कुनै पनि सुरक्षा र प्रशासनिक निकायमा जानकारी नै नरहेको उक्त अवरोधसम्बन्धी घटनाको पुष्टि गर्न अमेरिकी दूतावास जवाफदेही हुनुपर्छ ।
चन्द्रागिरि नेपालको महŒवपूर्ण पर्यटकीय प्रडक्ट हो । पछिल्लो समय आम काठमाडौंवासीको मात्र नभई काठमाडौं आउने धेरैको चाहना चन्द्रागिरि पुग्ने नै हुने गरेको छ । यसको आकर्षण विदेशीमा भन्दा स्वदेशीमै बढी पनि छ । त्यसैले तत्कालका लागि अमेरिकी दूतावासको उक्त अलर्टले यसको व्यापार–व्यवसायमा कुनै असर पार्ने भने देखिँदैन, किनकि कुनै पनि नेपालीले आजसम्म चन्द्रागिरिमा अवरोध झेल्नुपरेको छैन भने उनीहरूले त्यहाँ जाँदा असुरक्षित महसुस गरेका पनि छैनन् । तर, दूतावासले यस्तै भ्रामक अलर्ट जारी गर्ने हो भने चन्द्रागिरि क्षेत्रभित्रै बनिरहेको तारे होटलको व्यवसायमा भने भविष्यमा असर पर्ने देखिएको छ । यसर्थ, अहिलेको सूचना कुनै समस्या नभए पनि यस्ता भ्रम सिर्जना गर्ने प्रवृत्तिप्रति भने सरकार सचेत रहनुपर्छ र कूटनीतिक निकायलाई आपूmखुसी नेपालको अन्तर्राष्ट्रिय छविमै आँच आउने गरी सूचना जारी गर्नमा रोक लगाउनुपर्छ ।
चन्द्रागिरिका सम्बन्धमा दूतावासको अलर्टपछि यसलाई सुरक्षित देखाउन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले देखाएको तत्परता पनि अनुकरणीय छ । निजी क्षेत्रलाई कुनै समस्या पर्दा सरकार कानमा तेल हालेर बस्ने अहिलेसम्मको प्रवृत्तिमा अधिकारी अपवाद बन्न सके । त्यसै पनि नेपालको पर्यटन क्षेत्र नै निजी क्षेत्रका व्यवसायीले धानेको अवस्थामा उनीहरूलाई सरकारले सहयोग गर्नुपर्छ नै, त्यससँगै निजी क्षेत्रलाई गाह्रोसाह्रो पर्दा पर्यटनमन्त्री यसरी अगाडि आउने प्रचलनले निरन्तरता पाउनुपर्छ । पूर्वाधारमा केही कमजोरी भए पनि मानवसिर्जित समस्याका आधारमा हेर्ने हो भने नेपाल संसारकै सुरक्षित गन्तव्यमध्येको एक हो । नेपालका कुनै पनि भूभागमा संसारका कुनै पनि मुलुकका पर्यटकलाई कुनै खाले समस्या छैन । यो तथ्यलाई स्थापित गर्ने जिम्मेवारी सरकार र निजी क्षेत्रकै हो ।