अझै पाँच दिन भारी वर्षा हुने, दैनिक मिडिया ब्रिफिङ «

अझै पाँच दिन भारी वर्षा हुने, दैनिक मिडिया ब्रिफिङ

जल तथा मौसम विज्ञान विभागले नेपालमा अझै पाँच दिन भारी वर्षा हुने जनाएको छ । न्यूनचापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षा जारी रहने विभागले जनाएको हो ।
विभागका महानिर्देशक सरजुकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनलाई गरेको ब्रिफिङ अनुसार ९ असारपछि मात्र क्रमशःपानी पर्ने क्रम कम भएर जानेछ ।
बैद्यका अनुसार नेपालको प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको छ । सोमबार मुलुकको अधिकांश स्थानमा एक सय मिलिलिटर वा सो भन्दा बढी पानी परेको थियो । यो मात्रा अझै बढेर २ सय मिलिलिटर पानी पर्ने सम्भावना छ । न्यूनचापीय रेखा पश्चिमबाट पूर्वतिर सरेकाले केही दिन पूर्वपहाडी क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेको वैद्यले बताए ।
उनका अनुसार सोमबार बाराको कोल्दीमा सबैभन्दा बढी १ सय ६९ मिलिमिटर पानी परेको छ । यस्तै नवलपुरको डण्डामा १ सय ५०.६, तनहुँको श्याम्घामा १४८.८ तथा गोरखामा १४०.२ मिलिमिटर पानी परेको छ । यो परिमाणमा अझै वृद्धि हुने वैद्यले बताए ।
सोमबार चितवनको देवघाटस्थित नारायणी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । उक्त स्थानमा जलसतह ८ मिटर नाघेपछि खतराको तह पार हुनेमा ९ मिटर माथि आइसकेको छ । अन्य नदीहरुमा पनि जल सतह खतराभन्दा माथि पुगेको छ ।
विभागले खतराको तह पार गरेको स्थानका तल्लो टतीय क्षेत्रका बासिन्दालाई उक्त स्थान छाडेर सुरक्षित स्थानमा जान तथा सतर्कताको तह पार गरेको स्थानका तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । पूर्व नवलपरासी र चितवनका तल्लो तटीय क्षेत्रमा बाढीको उच्च जोखिम रहेकाले सतर्क रहन भनिसकिएको वैद्यले जानकारी दिए ।
यसैगरी कोशी नदीमा सतर्कताको तह पार गरेकाले मंगलबारसम्म खतराको तह पार गर्न सक्ने अनुमान गरिएको छ । यस्तै कमला, कन्काई, बागमती र ती नदीका सहायक नदीमा बाढीले खतराको तह पार गर्न सक्ने अनुमान विभागले गरेको छ ।
सामान्यतया मनसुन असारमा सुरु भएर असोजमा सकिने भएपनि यो वर्ष भने झण्डै एक महिनापछिसम्म पानी पर्ने देखिएको छ । चार महिनामध्ये असारको अध्यदेखि भदौ मध्यसम्म अत्याधिक वर्षा हुने गर्दछ । तर, यो पटक मौसम सक्रिय भएदेखि नै वर्षाको दर उच्च छ ।
एक वर्षमा पर्ने पानीको ८० प्रतशित पानी मनसुनको चार महिनामा पर्ने गरेको मौसम विभागले जनाएको छ । विभागका अनुसार यसपटक हिउँदमा र प्रि–मौसममा समेत बढी पानी परेका कारण जमिन धेरै गलेकाले बाढीपहिरोको प्रकोप उच्च भएको छ ।

हरेक दिन मिडिया ब्रिफिङ
मौसम विभागले हरेक बिहान ११ बजे सामाजिक दूरी कायम गर्दै मिडिया ब्रिफिङ गर्ने भएको छ ।
बाढीपहिरोको सूचनालाई थप प्रभावकारी बनाउन अधिक वर्षा नरोकिएसम्म हरेक दिन मन्त्रालयमा मिडिया ब्रिफिङ गर्ने भएको हो । आगामी दिनमा विभागबाट जारी हुने मौसमसम्बन्धी सूचना थप विश्वसनीय बनाउनुपर्ने भन्दै मन्त्री पुनले हरेक दिन मिडिया बिफ्रिङ गर्न निर्देशन दिएका थिए ।
उनले मौसम पूर्वानुमानका लागि राज्यले प्रविधि र जनशक्तिमा धेरै लगानी गरेको भन्दै पूर्व सूचना प्रदान गरेर जनताको जीवन बचाउन कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्