मौद्रिक नीतिपछिको सेयर बजार «

मौद्रिक नीतिपछिको सेयर बजार

सेयर बजारका सम्भावित जोखिमप्रति भने केन्द्रीय बैंक सचेत र सजग रहनैपर्ने देखिन्छ भने यसको दिशा तथा प्रवृत्तिप्रति सुक्ष्म निगरानी पनि आवश्यक छ ।

शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएसँगै पुँजी बजारमा यसको सकारात्मक प्रभाव पर्ने जुन आकलन गरिएको थियो, आइतबारको कारोबारमा त्यही नै भयो । आइतबार सेयर बजार खुलेको ६ मिनेटदेखि १ घण्टा ८ मिनेटसम्म तीन पटक सकारात्मक सर्किट ब्रेक लाग्नुले सेयर बजार अब केही दिन उकालो यात्रामा अघि बढ्ने देखिन्छ । पहिलो पटकको सर्किटमा २० मिनेट र दोस्रो पटकको सर्किट ४० मिनेट लागेपछि जम्मा कारोबार भने ८ मिनेट मात्र भएको छ । यसले बजारमा बिक्री गर्नेभन्दा खरिद गर्ने बढी भएकाले कोरोना महामारीका कारण होल्डमा रहेको रकम पनि अब विस्तारै बाहिर आउने र यसबाट बजारमा सकारात्मक प्रभाव पर्ने देखिन्छ । अर्थतन्त्रलाई एकैपटक चलायमान बनाउन पुँजी बजारजस्तो सजिलो विकल्प अरु हुन सक्दैन । तर, अन्य क्षेत्रमा पनि समानान्तर गतिविधि हुन सकेनन् भने यो दिगो चाहिँ हुन सक्दैन ।
त्यसो त माद्रिक नीतिले सेयर बजारमा मार्जिन कर्जाको सीमा निर्धारणलगायत थुप्रै राहत दिएको देखिन्छ । यसअघि बैंक तथा वित्तीय संस्थाले आफ्नो सेयर मूल्यको ६५ प्रतिशत रकम मात्रै बैंक तथा वित्तीय संस्थाबाट ऋणस्वरूप प्राप्त गर्थे । यो अहिले बढेर ७० प्रतिशत पुगेको छ । यसले गर्दा लगानीकर्ताहरूलाई थप ५ प्रतिशत ऋण लिने छुट मिलेको छ । अहिले त्यस्तो ऋणबापत करिब ३८ अर्ब रूपैयाँ ऋण प्रवाह भएको छ । प्रवाह भएको उक्त ऋणकै धितोमा करिब १ अर्ब ९० करोड थप ऋण प्रवाह हुनसक्ने अवस्था देखिएको छ । यतिमात्र नभइ राष्ट्र बैंकले सेयर धितोमा प्रवाह हुने कर्जाको सीमा बैंक तथा वित्तीय संस्थाको प्राथमिक पुँजीमा ४० प्रतिशतसम्मको सीमालाई राष्ट्र बैंकले यथावत नै राखेको छ । अर्कोतर्फ राष्ट्र बैंकले बैंकहरूलाई नगद लाभांशको लागि भन्दा सेयर लाभांशको लागि जोड दिनुले पनि लगानीकर्ताहरू थप उत्साहित भएको देखिन्छ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको साँवा ब्याज तिर्ने अवधि बढीमा १ वर्षलाई सरेको कारणले पनि समग्र आर्थिक क्षेत्र उत्साहित हुँदा पुँजी बजार स्वाभाविक रूपमा सकारात्मक देखिन्छ ।
सेयर बजार परिसूचक नेप्सेमा सबैभन्दा बढी हिस्सा बैंकले लिएका कारण बैंकको सूचक बढ्नेबित्तिकै नेप्सेकै सूचक उकालो लाग्ने प्रवृत्ति छ । आइतबारको कारोबारमा पनि म्युचुअल फण्डको सूचकबाहेक अरु सबै सूचक १ प्रतिशतदेखि ७ प्रतिशतसम्म बढेको छ । लघुवित्त र बिमाको सूचक नै तीन प्रतिशतमाथि बढेको छ । यसलाई लघुवित्तको ब्याजमा लगाइएको सीमाले पनि बजारमा कुनै असर नगरेको संकेतका रूपमा बुझ्न सकिन्छ । त्यसो त पछिल्लो समय सेयर बजार धेरै तल रहेको र बैंकहरूको मूल्य खासै धेरै नभएकाले बढेको तर्क पनि गरिन्छ र यसमा सरकारको नीतिगत अन्योलले धेरै काम गरेको थियो । खासगरी अर्थमन्त्री डा. युवराज खतिवडा सेयर बजारका सम्बन्धमा आफ्नो पुरानो अडानबाट विस्तारै पछाडि हट्नु र गभर्नर महाप्रसाद अधिकारी यस क्षेत्रप्रति उदार देखिनुको सकारात्मक परिणाम देखिएको छ । तर, सेयर बजारका सम्भावित जोखिमप्रति भने केन्द्रीय बैंक सचेत र सजग रहनैपर्ने देखिन्छ भने यसको दिशा तथा प्रवृत्तिप्रति सुक्ष्म निगरानी आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्