मौद्रिक नीति कार्यान्वयनमा ध्यान दिनुपर्छ : सरोकारवाला «

मौद्रिक नीति कार्यान्वयनमा ध्यान दिनुपर्छ : सरोकारवाला

पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले नेपाल राष्ट्र बैंकले ल्याएको आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीति राम्रो आएकाले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।
शनिबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा पूर्व गभर्नर क्षेत्रीले मौद्रिक नीतिले निजी क्षेत्रपनि उत्साही भएको बताए । तर, निजी क्षेत्रले जति अपेक्षा गरेको थियो त्यो सबै पूरा नभएको उनको टिप्पणी छ । उनले भने, “सबैले आशा गरेअनुसार नै नीति आएको छ । हुन त मौद्रिक नीतिमा सबैको अपेक्षा ठूलो थियो । सबै अपेक्षा पूरा हुने कुरा त भएन । तर, समग्रमा नीति राम्रै आएको छ ।”
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले बजेटले हतोत्साही भएको बेलामा मौद्रिक नीतिले राम्रो फिल भएको स्पष्ट पारेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले मौद्रिक नीतिलाई आफूहरुले सकारात्मक रुपमा लिएको भन्दै स्वागत गरे । उनले भने, “मौद्रिक नीतिले समग्रमा सबै कुरा समेटेको छ । अब कार्यान्वयन पक्षलाई ध्यान दिनुपर्छ । यसको लागि तुरुन्तै निर्देशिका आउनुपर्छ ।”
उनले सहुलियतपूर्ण कर्जा मागको विषयमा नीतिमार्फत सम्बोधन भएको पनि प्रतिक्रिया दिए । उनले साना तथा मझौला उद्यमी (एसएमई) को माग पनि सम्बोधन भएको जनाए । उनले बैंक नबाँचे व्यवसाय पनि नबाँच्ने बताए । उनले भने,“लकडाउनको यो कठिन समयमा कर्जा लिनेहरुलाई ब्याज तिर्न पनि समस्या छ । ब्याज सिंगल डिजिटमा ल्याउनुपर्छ भनेर हामीले पनि भनेका छौं । तर, म उद्योग वाणिज्य महासंघ र चेम्बरका साथीहरुलाई स्प्रेडदर घटाईदिनुहोस भनेर बोलेको कुरा अलिकति नमिल्दोजस्तो आभाष भएको छ । किनभने बैंक बाँचेन भने व्यवसायपनि बाँच्दैन् । र, व्यवसाय बाँचेन भने बैंकपनि बाँच्दैन् ।”
गोल्यानले समग्र रुपमा नीति राम्रै आएको भएपनि यसबारे आफूहरुले विस्तृतमा अध्ययन नगरिसकेको प्रतिक्रिया दिए । पूरा कर्जाको १५ प्रतिशत कृषिमा लगानी गर्नुपर्ने कुरा उल्लेख भएकोमा यो राम्रो भएको उनको प्रतिक्रिया छ । उनले भने,“बास्तवमै कृषिमा लगानी हामीले पनि गर्नुपर्छ । र, राष्ट्र बैंकले पनि गर्नुपर्छ । यसमा ध्यान दिनुपर्छ । अहिले ५५ अर्ब रुपैयाँ लगानी भइसकेको छ भन्ने डेटा आएको छ । यो कृषिमै लगानी भएको हो भने त धेरै खुशीको कुरा हो । अर्को कुरो एक करोडभन्दा कमको कर्जा १५ प्रतिशत हामीले दुई वर्षभित्रमा पुर्याउनुपर्छ । त्यो पनि धेरै ठूलो राहत हो । यसको मतलव जसले काम गर्न खोज्छ, अब पुँजीको अभावले काम रोकिँदैन् ।”
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवालले मौद्रिक नीति सन्तुलित आएको प्रतिक्रिया दिए । उनले भने, “यो नीतिले सबैको चित्त बुझाउने प्रयास गरेको छ। हामी खुशी छौं ।” उनले निजी क्षेत्रले मागेको भन्दा राम्रो नीति आएको स्पष्ट पारे । पूनर्कर्जा अत्यन्तै राम्रो आएको र ऋणको व्याज तिर्न ६ देखि एक वर्षसम्म समय दिइनु सकारात्मक भएको उनको भनाई छ ।
अग्रवालले भने, “ब्याजरकर्जाको समय बढाइदिएर अति प्रभावितलाई १२ महिना, मध्यमलाई ९ महिना र कमलाई ६ महिना दिनु राम्रो सुरुवात हो । हामी यसको प्रशंसा गर्छौं ।” उनले मौद्रिक नीतिले रोजगारी सिर्जना गर्ने कुरामा विशेष ध्यान दिएको उल्लेख गरे । उनले भने, “कृषि क्षेत्रमा कर्जा बढाएको छ । विशेष कृषिमा १० बाट १५ प्रतिशतसम्म लगानी गर्नुपर्ने भनेको छ । यसले कृषिमा रोजगारी बढ्छ । कृषि क्षेत्रलाई आत्मनिर्भर पनि बनाउँछ ।”
त्यस्तै, सीसीडी पनि ८० बाट ८५ प्रतिशत गरिएको बताउँदै यसले तरलता पनि बढ्ने उनको भनाई छ । उनले नीति कार्यान्वयनमा चूनौति रहेकोले त्यतातर्फ ध्यान दिन राष्ट्र बैंकलाई आग्रह गरे ।
अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलालले मौद्रिक नीतिले अटोमोवाइल क्षेत्रलाई असहयोग गरेको आरोप लगाए । उनले भने, “मौद्रिक नीतिमा हामीलाई सौताको छोराको रुपमा हेरियो । हाम्रा माग र सुझावहरु सम्बोधन भएको छैन ।”

प्रतिक्रिया दिनुहोस्