प्यूठानमा करदाता सेवा कार्यालय

प्यूठान– कर सम्बन्धी सेवालाई सहज बनाउन प्यूठानमा करदाता सेवा कार्यालय स्थापना गरिएको छ । प्यूठान र रोल्पाका सेवाग्राहीलाई सेवा प्रदान गर्ने गरी माण्डवी गाउँपालिका–३ जस्पुरमा कार्यालय स्थापना गरिएको हो ।
नयाँ आर्थिक वर्षसँगै कार्यालय स्थापना गरी सेवा सञ्चालन भएको कर अधिकृत रामहरी मरासिनीले बताए । “कर तिर्नका लागि स्थानीयलाई सहज पुग्ने छ” अधिकृत मरासिनीले भने, “कर कार्यालय तुल्सीपुरमा गरिने काममध्ये ९० प्रतिशत काम सेवा कार्यालयबाट हुन्छ ।”
जिल्लामा कर सम्वन्धी कुनै कार्यालय नहुँदा स्थानीयलाई तुल्सीपुर पुग्नु पर्ने बाध्यता रहँदै आएको थियो । कार्यालयको स्थापनासँगै आय व्यय विवरण, कर दाखिला, प्यान दर्ता, नविकरण, खारेजीलागयतका करसम्बन्धी कार्यका लागि दाङको तुल्सीपुर जानुपर्ने बाध्यता टरेको छ ।
सेवा कार्यालय खुलेपछि जिल्लाका उद्योगी व्यवसायीलाई धेरै सहज हुने प्यूठान उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक प्रकाश खनालले बताए । “कर तिर्न तुल्सीपुर पुग्नु पर्दा व्यवसायिलाई निकै समस्या थियो” खनालले भने, “व्यवसायीलाई प्यान दर्तादेखि समयमै कर बुझाउन समेत यसले सहयोग गर्ने छ ।”
जिल्लामै कर कार्यालय स्थापना हुँदा लगडाउनका कारण राज्यले दिएको करछुट सेवा प्राप्त गर्न समेत सहज हुने उनले बताए ।