ट्रम्पले चीनमाथि प्रतिबन्ध लगाउने

ट्रम्प प्रशासनले बिहीबार चीन बिरुद्ध प्रतिबन्धको घोषण गर्ने योजना बनाएको छ । चीनले अमेरिकी व्यवसायबाट बौद्धिक सम्पत्तिको चोरी र हस्तान्तरणलाई प्रोत्साहित गरेकाले उसमाथि प्रतिबन्ध लगाउने तय भएको हो ।यो विषयमा वर्षौैसम्म भएको वार्ताले कुनै परिवर्तन दिन नसकेको बताउदै ह्वाइट हाउसले यस्तो बताएको हो ।
ट्रम्प प्रशासनले बेइजिङमाथि लगाउने प्रतिबन्धमा भन्साका साथसाथै अन्य नीतिहरु समावेश हुनेछन् ।यो योजनाले बृहत आकारको व्यापार युद्ध हुन सक्ने त्रास फैलाएको छ । ह्वाइट हाउसले ३० अर्बदेखि ६० अर्ब डलरसम्मको भन्सार लगाउन सक्ने र लगानी प्रतिबन्धित गर्ने नीतिहरु ल्याउन सक्ने अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।अमेरिकाले विश्व व्यापार संगठनमा उजुरी पनि गर्न सक्ने व्यापार अधिकारीहरुले बताएका छन् ।अमेरिकाका वरिष्ठ व्यापार विज्ञ रोबर्ट लाइथहिजरले अमेरिकाले चीनमाथि अधिकतम दबाब र अमेरिकी उपभोक्तामाथि न्यूनतम दबाबको अवस्था ल्याउने योजना बनाइरहेको बताएका छन् ।
बौद्धिक सम्पत्तिको रक्षा गर्नु अमेरिकी अर्थतन्त्रका लागि संवेदनशील भएको लाइथहिजरले बताए ।
“यो व्यापक महत्वपूर्ण विषय हो,” लाइथहिजरले भने । व्यापारलाई पुन सन्तुलन कायम गर्नका लागि यो सर्वाधिक महत्वपूर्ण विषय भएको आफूलाई लागेको उनले बताए ।एक अमेरिकी व्यापार अधिकारीले अमेरिकासँग चीनले प्रविधि हस्तान्तरणको प्रमाण भएको बताएका छन् । चिनियाँ बजारमा प्रवेशका लागि फर्मले स्थानिय साझेदार बनाउनुपर्ने चिनियाँ प्रावधान अमेरिकी प्रविधि हस्तान्तरण र चोरीका लागि प्रयोग गरिदै आएको उनले बताए ।
चीनले अमेरिकी रणनीतिक उद्योगहरुमा लगानी गरेको र साइबर आक्रमणलाई सहयोग र सञ्चालन गरेको प्रमाण पनि अमेरिकाले फेला पारेको छ ।चीनको अभ्यासको समीक्षाको माध्यमबाट यो प्रमाण फेला परेको बताइएको छ ।
व्यापार कानुनको ३०१ खण्डमा सरकारलाई निष्पक्ष तरिकाले व्यापार नगरेका मुलुकहरुलाई एक पक्षिय रुपमा प्रतिबन्ध लगाउन सक्ने अधिकार प्रदान गरेको छ । ट्रम्पले चीनसँगको व्यापारमा ठूलो परिमाणमा बेहोरेको घाटाप्रति पटक पटक आक्रोश व्यक्त गर्दै आएका छन् ।
चीनले व्यापार युद्धमा कोहीपनि विजयी नहुने बताउदै आएको छ । मंगलबार नेसनल पिपुल्स कंग्रेसको वार्षिक बैठकमा चिनियाँ प्रधानमन्त्री ली केकियाङले दुवै पक्ष शान्त संयमित रहेने आशा व्यक्त गरेका थिए । उनले चीनतर्फ हुने उच्च प्रविधिको निर्यातमा लगाएको प्रतिबन्ध अमेरिकाले खुकुलो पार्ने अपेक्षा पनि गरेका थिए ।