सिंगापुरको चांगि फेरी विश्वकै उत्कृष्ट विमानस्थल «

सिंगापुरको चांगि फेरी विश्वकै उत्कृष्ट विमानस्थल

सिंगापुरको चांगि लगातार छैटौ वर्षमा पनि विश्वकै उत्कृष्ट विमानस्थल कायम भएको छ । क्षेत्रिय रुपमा प्रतिद्वन्द्वी मानिदै आएको हङकङ चौथो स्थानमा परेको छ ।
अनुसन्धानमुलुक समूह स्काईट्राक्सले विश्वभरीका ५ सय भन्दा बढी विमानस्थललाई आधार मानेर १ करोड ३७ लाख ३० हजार यात्रुमाझ गरेको सर्भेको आधारमा यो निश्कर्ष निकालिएको हो । यो सर्भे २०१७ को अगस्टदेखि २०१८ को फेब्रुअरीसम्म गरिएको फर्मले जनाएको छ ।
“लगातार छैटौ वर्षमा विश्वकै उत्कृष्ट विमानस्थलको रुपमा मत प्राप्त गर्नु चांगि विमानस्थलका लागि उत्कृष्ट उपलव्धी हो । यो पुरस्कारले अन्तर्राष्ट्रिय यात्रुमाभ विमानस्थलको लोकप्रियता प्रस्तुत गरेको छ,” स्काइट्राक्सका सीईओ एडवार्ड प्लाइस्टेडले बताए ।
सन् २००० यता सिंगापुर विमानस्थलले उत्कृष्ट उपाधी जितेको यो नवौ पटक हो ।
“चांगि विमानस्थलले सुविधाजनक र विश्वसनीय अनुभवमा आफूलाई केन्द्रीत गरेको छ । यसले नयाँ उत्पादन र सेवा पनि दिदै आएको छ,”प्लाइस्टेडले बताए ।
गत वर्ष दोस्रो उत्कृष्ट रहेको टोकियोस्थित हानेडा इन्टरनेसनल एयरपोर्ट एक स्थान तल झरेको छ । दोस्रो स्थानमा सोलको इन्चिओन इन्टरनेसनल एयरपोर्ट परेको छ । हङकङ एक स्थान माथि उक्लेर चौथो उत्कृष्ट विमानस्थल कायम भएको छ । यसैबीच म्युनिख एयरपोर्ट २ स्थान तल झरेर छैटौ स्थानमा कायम भएको छ । दोहाको हमाद इन्टरनेसनल एयरपोर्ट पाँचौ उत्कृष्ट विमानस्थल कायम भएको छ ।
यो वर्ष विश्वका उत्कृष्ट १० मा पर्न सफल विमानस्थलहरुमा सिंगापुर, सोलको इन्चिओन र टोकियोका हानेडा क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा परेका छन् । यसैगरी हङकङ, दोहोको हमाद र जर्मनीको म्युनिख क्रमशः चौथो, पाँचौ र छैटौ स्थानमा परेका छन् ।
सेन्ट्रेर नागोया, लन्डन हिथ्रो, जुरिच र फ्यांकफर्ट क्रमशः सातौदेखि १० औं स्थानमा पर्न सफल भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्