कृषि ज्ञानकेन्द्र गोरखाको वित्तीय प्रगति ७० प्रतिशत «

कृषि ज्ञानकेन्द्र गोरखाको वित्तीय प्रगति ७० प्रतिशत

गोरखा-कृषि ज्ञानकेन्द्र गोरखाले चालू आर्थिक वर्षमा ७०.४ प्रतिशत वित्तीय प्रगति गरेको छ । चालू वर्ष कार्यालयको १३ करोड ९४ लाख ६० हजार रुपैयाँको बजेट रहेकोमा ९ करोड ८२ लाख ३७ हजार रुपैयाँ बराबरको कार्यक्रम सम्पन्न भएको हो । ज्ञानकेन्द्रले गरेको चालू आर्थिक वर्षमा सञ्चालित कार्यक्रमको सार्वजनिक सुनुवाई कार्यक्रममा कार्यालयकी प्रमुख मनिता थापाले चालू वर्षको बजेट कार्यान्वयनको अवस्थाका बारेमा जानकारी दिइन् । “प्रदेश सरकारबाट प्राप्त चार करोड २६ लाख ९० हजार रुपैयाँमध्ये तीन करोड ६२ लाख ४ हजार रुपैयाँ खर्च भएको छ” उनले भनिन्, “संघीय सरकारबाट प्राप्त नौ करोड ६७ लाख ७० हजार रुपैयाँमध्ये ६ करोड २० लाख ३२ हजार रुपैयाँ खर्च भएको छ ।”
कार्यालयमा न्युन जनशक्ति, लकडाउनका कारण काममा बाधा, कोरोना भाइरसको जोखिमका कारण कर्मचारी क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यतालगायतका कारण पूर्णरुपमा वित्तीय प्रगती गर्न नसकेको कार्यालय प्रमुख थापाले बताइन् । कृषि सवारी पास, मल आपूर्तिमा असहजता, तालिम, गोष्ठी मेलालगायतका कार्यक्रमको बजेट रोक्का, जीर्ण सवारी साधन, भौगोलिक विकटतालगायतका कारण पनि शतप्रतिशत वित्तीय प्रगति हासिल गर्न नसकेको उनको भनाई छ ।
कार्यालयका अनुसार चालू आर्थिक वर्षमा ४५० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको छ । ४२१ वटा ग्रिन हाउस तथा प्लास्टिक घर निर्माण, ५० प्रतिशत अनुदानमा २७५ वटा यन्त्र उपकरण सहयोग गरिएको छ । कफि, मौरीपालन, अलैँची, धान, मकै, कोदो, आलुलगायतका विभिन्न खेतिबालीलाई प्रर्वद्धन कार्यक्रम सञ्चालन भएको थापाले जानकारी दिइन् ।
गत आर्थिक वर्षमा स्थापना भएका १६ वटा पुराना ब्लकलाई निरन्तरता दिनुका साथै ६ वटा थप गरिएको छ । २८ नयाँ पकेट स्थापना गरी ३ वटा पुराना पकेटलाई यस वर्ष पनि कार्यक्रम तथा बजेट उपलब्ध गराइएको उनले बताइन् ।

ज्ञानकेन्द्रले जिल्लामा कृषि क्षेत्रको विकास र किसानको उत्थानका लागि प्राविधिक ज्ञानसिप हस्तान्तरणका साथै विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको छ । किसानलाई लागत साझेदारीमा साना सिँचाइ, ग्रीनहाउस तथा प्लाष्टिक घर निर्माण, कृषि यान्त्रिकरण, मोडेल फर्म, नर्सरी तथा स्रोतकेन्द्र स्थापनालगायतका विभिन्न कार्यक्रम सञ्चालन भइरहेका ज्ञानकेन्द्रले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्