बैंकिङ ठगी तथा जोखिम व्यवस्थापन «

बैंकिङ ठगी तथा जोखिम व्यवस्थापन

बैंक तथा वित्तीय संस्थामा भएका करिब सबैजसो अनियमिततामा उक्त संस्थाकै मध्यम वा उच्चस्तरका कर्मचारीको संलग्नता एनसीसी बैंकमा कर्मचारीकै मिलोमतोमा बैंकमा ठगी भयो र त्यहाँका उच्च अधिकारीहरू अहिले प्रहरी हिरासतमा छन् । केही दिनपहिले भारतको पन्जाब नेसनल बैंकमा १ खर्बभन्दा बढी रकम घोटाला भएको समाचारको नेपालमा पनि निकै चर्चा भयो । यसभन्दा पहिले पनि भारत तथा नेपाललगायत अन्य देशहरूमा समेत विभिन्न समयमा भएका बैंक घोटालाहरूका बारेमा हामीले पढ्दै र सुन्दै आइरहेकै हो । निकै ठूलो रकम घोटाला भएका कारण पन्जाब नेसनल बैंकको काण्डले बढी चर्चा पायो, तर आकारमा तुलनात्मक रूपमा सानै भए पनि नेपाली बैंकहरूमा भएको ठगी तथा अनियमिताको फेहरिस्त पनि लामो छ ।
विभिन्न बैंकमा भएका ठगी तथा अनियमितताहरूका पछाडि विविध कारण होलान्, तथापि उक्त संस्थामा कार्यरत कर्मचारीको संलग्नता प्रत्येक घटनामा समान रूपले विद्यमान रहेको देखिन्छ । हालसम्म सार्वजनिक भएका बैंक तथा वित्तीय संस्थामा भएका करिब सबैजसो अनियमिततामा उक्त संस्थाकै मध्यम वा उच्चस्तरका कर्मचारीको (कतिपय अवस्थामा सञ्चालकको समेत) प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहेको पाइएको छ । यसको अर्थ बैंक तथा वित्तीय संस्थाहरूमा जनशक्तिसँग सम्बन्धित सञ्चालन जोखिमको मात्रा बढ्दै गइरहेको छ भन्ने हुन्छ । सामान्य अर्थमा कुनै पनि संस्थाको दैनिक प्रशासन सञ्चालनका क्रममा विविध कारणवश उत्पन्न हुने जोखिमलाई सञ्चालन जोखिम भनिन्छ । सञ्चालन जोखिम आन्तरिक छलकपट, नीतिनिर्देशिकाहरूको पालना नगर्नु, अख्तियारी बाहिर गएर कार्य गर्नु, बाह्य छलकपट, कर्मचारीको व्यवहार र अन्य दैनिक प्रसासनिक व्यवस्थापन आदिको परिणामस्वरूप उत्पन्न हुन सक्छ ।
बैंक तथा वित्तीय संस्थाहरूमा नीतिगत अस्पष्टता प्रक्रियागत त्रुटि वा असावधानीजस्ता अन्य कारणले हुने हानि–नोक्सानी पत्ता लगाउने सन्तोषजनक संयन्त्रको विकास भइसके पनि कर्मचारीहरूले मनसायपूर्वक गर्ने अनियमितताहरू पत्ता लगाउने प्रभावकारी नियन्त्रण संयन्त्रको अभाव रहेको देखिन्छ । कुनै पनि देशको समग्र आर्थिक क्रियाकलापमा बैंक तथा वित्तीय संस्थाहरूको महत्वपूर्ण भूमिका हुने तथा बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको विश्वाससमेत कायम राखिराख्नुपर्ने भएकाले जनशक्तिसँग सम्बन्धित सञ्चालन जोखिमलाई व्यवस्थापन गर्नु बैंक तथा वित्तीय संस्थाहरूका लागि चुनौतीपूर्ण बन्दै गइरहेको छ । क्रमिक रूपमा एकपछि अर्को बैंक ठगीका घटनाहरू सार्वजनिक हुँदै गइरहेको सन्दर्भमा प्रश्न उठ्छ कि बैंक तथा वित्तीय संस्थाहरूमा जोखिम व्यवस्थापन गर्ने पर्याप्त नीति तथा प्रक्रियाको अभाव हो वा प्रभावकारी संयन्त्रको ?
सर्वप्रथम बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्थापनका सम्बन्धमा भएका नीतिगत व्यवस्थाहरूबारे विचार गरौं । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ ले बैंक तथा वित्तीय संस्थामा निहित जोखिम व्यवस्थापन गर्ने प्रमुख जिम्मेवारी सञ्चालक समिति (नीतिगत तहमा) तथा प्रमुख कार्यकारी अधिकृत (कार्यान्वयन तहमा) लाई दिएको छ । ‘बैंक वा वित्तीय संस्थाको समग्र जोखिम व्यवस्थापन गरी निक्षेपकर्ता, ग्राहकवर्ग तथा सर्वसाधारण सेयरधनीको हितमा बैंक वा वित्तीय संस्थाको सञ्चालन गर्नु एवम् बैंक वा वित्तीय संस्थामा उपयुक्त संस्थागत सुशासन कायम गर्नु’ (दफा २२(२) तथा ‘बैंक वा वित्तीय संस्थाको कारोबारमा जोखिम वा जोखिमजन्य परिस्थिति उत्पन्न हुन नदिन आफ्नो नीति र रणनीतिअनुरुप बैंकिङ तथा वित्तीय कारोबार होसियारीपूर्वक सञ्चालन गर्न आन्तरिक नियन्त्रण प्रणाली एवम् जोखिम व्यवस्थापन मापदण्ड तयार गरी लागू गर्ने’ (दफा २२(३(ख) सञ्चालक समितिको प्रमुख काम, कर्तव्य र अधिकार हो । त्यस्तै ‘बैंक वा वित्तीय संस्थाको कुशल व्यावसायिक रणनीतिको अवलम्बन गरी जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण गर्ने’ (दफा २३(३) विषय सञ्चालकको जवाफदेही र उत्तरदायित्व अन्तरगत पर्छ । ‘बैंक वा वित्तीय संस्थाको प्रभावकारी आन्तरिक नियन्त्रण एवं जोखिम व्यवस्थापन गर्ने’ (दफा ३०(१(ङ) तथा ‘सञ्चालक समितिले निर्धारण गरेको नीतिअन्र्तगत रही उच्च व्यवस्थापनका लागि उचित मापदण्ड लागू गर्ने’ (दफा ३०(१(ज) कार्यकारी प्रमुखको काम, कर्तव्य र अधिकारअन्तर्गत पर्छ ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा (२२(२) तथा (२३(४) ले सञ्चालकलाई बैंक वा वित्तीय संस्थाको व्यवस्थापनको दैनिक कामकारबाहीमा हस्तक्षेप गर्न रोक लगाएकाले जोखिम व्यवस्थापन रणनीति कार्यान्वयन गर्ने जिम्मेवारी व्यवस्थापनकै हुन आउँछ । तर, सो कार्यका लागि आवश्यक नीतिगत व्यवस्था भने समितिले गर्नुपर्छ । जोखिम व्यवस्थापन नीति कस्तो हुने तथा सोले केके कुरा समेट्ने भन्ने सम्बन्धमा राष्ट्र बैंकले मार्गदर्शनसमेत जारी गरेको छ । त्यस्तै राष्ट्र बैंककै निर्देशन (निर्देशन नं. ५) अनुरूप बैंक तथा वित्तीय संस्थाहरूले ‘सम्भावित जोखिमको पहिचान, मापन, अनुगमन, व्यवस्थापन, नियन्त्रण र रिपोर्टिङका लागि आवश्यक जोखिम व्यवस्थापन संरचना’ तथा ‘संस्थाले बहन गर्न चाहेको जोखिम र संस्थालाई ग्राह्य हुने सीमा निर्धारण गरी’ जोखिम रणनीति तयार गर्छन् । जोखिमलाई विभिन्न आधारमा वर्गीकरण गरेर व्यवस्थापनका फरक–फरक उपायहरू अवलम्बन गर्नुपर्ने निर्देशनसमेत राष्ट्र बैंकले दिएको छ । समग्रमा जोखिम व्यवस्थापनका सम्बन्धमा पर्याप्त तथा प्रभावकारी नीतिगत व्यवस्था भए÷गरेको देखिन्छ ।
अब बैंक तथा वित्तीय संस्थामा जोखिम व्यवस्थापन प्रणाली कार्यान्वयन संयन्त्रको व्यवस्था र सोको प्रभावकारिताका बारेमा चर्चा गरौं । बैंक तथा वित्तीय संस्थाहरूमा निहित सबै प्रकारका जोखिमहरूको प्रभावकारी रूपमा व्यवस्थापन गर्नका लागि एक जना गैरकार्यकारी सञ्चालकको संयोजकत्वमा ‘जोखिम व्यवस्थापन समिति’ गठन गरिएको हुन्छ । जोखिम व्यवस्थापन कार्यलाई अझ प्रभावकारी बनाउनका लागि ‘जोखिम व्यवस्थापन अधिकृत र प्रमुखको नियुक्ति’ तथा ‘जोखिम व्यवस्थापनका सम्बन्धमा अपनाइएका रणनीति समेटेर सञ्चालक शिक्षा र अभिमुखिकरण’ र ‘सञ्चालक समिति तथा उच्च व्यवस्थापनले जोखिमसम्बन्धी प्रतिवेदन न्यूनतम पनि त्रैमासिक रूपमा अध्ययन गर्नुपर्ने’ निर्देशनसमेत दिएको छ । राष्ट्र बैंकको निर्देशनअनुसार जोखिम व्यवस्थापन कार्यक्रमअन्तरगत समिति र उच्च व्यवस्थापनबाट सक्रिय निगरानी, नीति एवम् प्रक्रियागत विषयको पर्याप्तता तथा प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली एवम् सीमा जस्ता विषयहरू समावेश हुनुपर्छ । जोखिम व्यवस्थापन नीति, कार्यविधि र प्रक्रियाको कार्यान्वयन गर्ने प्रमुख दायित्व उच्च व्यवस्थापनको हुने तथा जोखिम व्यवस्थापन अधिकृत र प्रमुखले सिधै सञ्चालक समिति स्तरीय जोखिम व्यवस्थापन समितिमा नियमित रूपमा रिपोर्टिङ गर्नुपर्ने निर्देशनले राष्ट्र बैंकले यसलाई कडाइका साथ लागू गर्न चाहेको पुष्टि गर्छ । त्यस्तै अन्तरिक तथा बाह्य लेखापरीक्षकले पनि जोखिम न्यूनीकरण–व्यवस्थापन कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्छन् ।
बैंक तथा वित्तीय संस्थामा निहित जोखिम व्यस्थापनका लागि पर्याप्त मात्रामा नीतिगत व्यवस्था तथा संयन्त्रको रहे पनि कार्यान्वयन पक्ष फितलो रहेको देखिन्छ । जोखिम व्यवस्थापनका नाममा अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले कर्जा असुली (कर्जा जोखिम व्यवस्थापन) तथा अनुपालना (सञ्चालन जोखिम व्यवस्थापन) मा मात्र बढी केन्द्रित भएको देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरूमा निहित अन्य जोखिमहरू (तरलता, बजार र ब्याजदर जोखिम) व्यवस्थापनतर्फ पर्याप्त ध्यान नदिइएकाले नै हामीले विगत करिब एक दशकदेखि नियमित रूपमा तरलता अभावको समस्या भोग्नुपरेको छ । कर्मचारीको संलग्नतामा हुने अनियमितता वा ठगीलाई नियन्त्रण र न्यूनीकरण गर्ने सम्बन्धमा भने ठोस कार्य हुन सकेको देखिँदैन । त्यसैले बैंक तथा वित्तीय संस्थाहरूले जनशक्तिसँग सम्बन्धित सञ्चालन जोखिम व्यवस्थापनलाई उच्च महत्व दिएर वित्तीय संस्थामा हुने अख्तियारको दुरुपयोग नियन्त्रण गर्ने कार्यलाई जोखिम व्यवस्थापनकै एक महत्वपूर्ण अंगका रूपमा विकसित गर्नु आवश्यक छ ।
(लेखक आरएसडीसी लघुवित्त वित्तीय संस्थामा कार्यरत छन् ।)
अनन्त सदावहार

प्रतिक्रिया दिनुहोस्