चीनले अमेरिकी उत्पादनमा प्रतिबन्ध लगाउने

अमेरिकाले चिनियाँ स्टिल र आल्मुनियममा भन्सार बढाएपछि चीनले पनि अमेरिकी उत्पादनमा प्रतिबन्धात्मक नीति अंगिकार गरेर बदला लिने भएको छ । भटमासमा किसानहरूलाई दिइएको अमेरिकी सहुलियतले चीनमा बिक्री गर्दा अनुचित लाभ लिएको र यसका विरुद्ध चीनले पनि प्रतिबन्धात्मक नीति अंगिकार गर्ने चिनियाँ ट्याबलोइड ग्लोबल टाइम्सले बुधबार जनाएको छ ।
व्यापक रूपमा पढिँदै आएको ग्लोबल टाइम्स सत्तारूढ कम्युनिस्ट पार्टीको आधिकारिक पिपुल्स डेलीको स्वामित्वमा रहँदै आएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रविधि र दूरसञ्चारको क्षेत्रलाई लक्षित गर्दै चिनियाँ आयातमा भन्सारको घोषणा गर्ने अपेक्षा गरेसँगै ग्लोबल टाइम्सको यो टिप्पणी आएको हो ।
“ट्रम्प प्रशासनले बारम्बार चीनले अन्तर्राष्ट्रिय व्यापार नियम उल्लंघन गर्दै आएको आरोप लगाउँदै चिनियाँ उत्पादनमाथि उच्च भन्सार लगाउने चेतावनी दिँदै आएको छ । तर, वास्तवमै अमेरिका विश्व व्यापार संगठनको नियमको उल्लंघनकर्ता हो । यो चीनमा ओइरिँदै आएको अमेरिकी भटमासमा दिएको सहुलियतले स्पष्ट पारेको छ,” अखबारले लेखेको छ ।
“बृहत् मात्रामा दिइँदै आएको सहुलियत र केही मुलुकले यो चीनमा डम्पिङ गर्दै आएको प्रति कडा खालको नीति ल्याउनु आवश्यक छ । यसले आयातित भटमासले चिनियाँ बजारमा पार्दै आएको विपरीत प्रभाव घटाउन सहयोग गर्छ ।”
चीन विश्वकै ठूलो भटमास आयातकर्ता मुलुक हो । चीनले जनावरको खाना बनाउनका लागि चलाइँदै आएको सोयामिलका लागि विश्वव्यापी रूपमा हुने वस्तु व्यापारको ६० प्रतिशत हिस्सा ओगट्दै आएको छ । यो विशेष गरी ब्राजिल र अमेरिकाबाट आयात हँुदै आएको छ ।
अमेरिकी कृषि विभागले चीनले २०१८-१९ मा १० करोड टन भटमास आयात गर्ने अनुमान गरेको छ ।