१५ लाखको अक्षयकोष स्थापना

वैदेशिक रोजगारीका क्रममा दुवई (यूएई) पुगेका पाल्पालीहरूले स्थापना गरेको संस्था पाल्पाली समाज यूएईले जिल्लाका ६० वटा वडाका ६० विद्यालयमा १५ लाख बराबरको अक्षयकोष स्थापना गरेको छ ।
वैदेशिक रोजगारीका क्रममा यूएई (दुवई) मा गएका पाल्पाका युवाहरूको पहलमा जिल्लाका साविकका ६० गाविसमा रहेका ६० वटा सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको हो ।
वैदेशिक भूमिमा कमाएको रकमलाई केही आयमूलक कार्यक्रम गरी नेपालीहरूको पहलमा संकलित रकमलाई गाउँगाउँका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, जेहन्दार विद्यार्थीको हितका लागि १५ हजारका दरले छात्रवृत्ति कोष स्थापना गरिएको समाजका अध्यक्ष वेदप्रसाद अर्यालले बताए । शिक्षा मानिसको तेस्रो आँखा भएकाले कोही बालबालिका आर्थिक अभावमा शिक्षा पाउनबाट वञ्चित हुन नपरोस् भनेर ८ गाउँपालिकाका ६० वटा विद्यालयमा १५ लाख बराबरको अक्षयकोष स्थापान गर्ने लक्ष्यअनुसार अक्षयकोष स्थापना गरिएको अध्यक्ष अर्यालले बताए ।
उनका अनुसार अहिलेसम्म ४३ वटा विद्यालयमा अक्षयकोष स्थापना गरिसकेको र बाँकी विद्यालयमा पनि क्रमशः स्थापना गर्दै लगिने छ । पाल्पाली समाज यूएईको आफ्नो वार्षिक कार्य योजनाअनुसार छुट्टाछुट्टै कार्यक्रम गरी जिल्लाको बगनासकाली गाउँपालिकामा अवस्थित हिमाल आधारभूत विद्यालय खानीछाप, सिद्धी मावि नायरनम्तलेस र राम आधारभूत विद्यालय चिर्तुंगधारामा अध्ययनरत गरिब तथा जेहन्दार विद्यार्थीहरूका लागि अक्षयकोष हस्तान्तरण गरिएको समाजका सदस्य तिलकराम बस्यालले जानकारी दिए । पाल्पाली समाज यूएईका प्रतिनिधिहरू धनु क्षत्री, खुमप्रसाद न्यौपाने र तिलकराम बस्यालले विद्याल यव्यवस्थापन समिति र विद्यार्थीको रोहवरमा विद्यालयलाई उक्त रकम हस्तान्तरण गरेका थिए । रोजगारीको सिलसिलामा यूएईमा रहेर पाल्पाली समाजलाई सहयोग गर्ने दातालाई संघले आभारसमेत व्यक्त गरेको छ ।