लाखौं खर्चेर जनप्रतिनिधि भ्रमणमा «

लाखौं खर्चेर जनप्रतिनिधि भ्रमणमा

स्थानीय तहका जनप्रतिनिधि अवलोकन भ्रमण भन्दै देश दौडाहामा निस्कँदा स्थानीयवासी समस्यामा परेका छन् । आर्थिक वर्ष सकिन ४ महिनामात्र बाँकी रहँदा विभिन्न स्थानीय तहका कर्मचारीसहित जनप्रतिनिधिहरू अन्य जिल्ला भ्रमणमा निस्किएपछि स्थानीय तहमा हुने विकास निर्माणका काम प्रभावित भएका छन् ।
स्थानीय तहमा हुने विकास योजनाहरूको सम्झौता गर्नुपर्ने चटारो भएका बेला स्थानीय तहका कर्मचारी र जनप्रतिनिधि सरकारी बजेटमा भ्रमणमा निस्किएका हुन् । अध्ययन भ्रमण भन्दै स्थानीय तहले लाखौँ रुपैयाँ खर्च गरेर भ्रमण गरेर खाँडाचक्र नगरपालिका र शुभकालिका गाउँपालिकाका प्रमुख-उपप्रमुख-अध्यक्ष-उपाध्यक्ष सहितको जम्बो टोली दैलेख, नेपालगन्ज पाल्पा, लुम्बिनी र इलाम भ्रमणमा निस्किएका हुन् ।
शुभ गाउँपालिकाकाले भ्रमण टोलीले गाउँपालिकाको २० लाख रुपैयाँ लिएर अवलोकन भ्रमणमा गएपछि स्थानीयले विरोध जनाएका छन् । सरकारी कर्मचारीसहित जनप्रतिनिधिको जम्बोटोली भ्रमणमा हिँडेपछि गाउँपालिकाको दैनिक सेवा प्रवाह रोकिएको स्थानीय भीमप्रसाद आचार्यले बताए । “आफ्नो गाउँठाउँको आधारभूत विकासका लागि जम्बोटोलीको भ्रमण आवश्यक नरहेकाले भ्रमणले गाउँपालिकाको विकासे रकम दुरुपयोग भएको छ ।” उनले भने, “आर्थिक वर्ष सकिन लाग्दा भएको भ्रमणले रकम दुरुपयोग गर्ने काम भएको छ ।” अवलोकन भ्रमणको नाममा गाउँपलिकाका प्रमुख नै स्थानीय तहको रकम लिएर घुम्न गएको उनको आरोप छ ।
गाउँपालिका अध्यक्ष खडानन्द चौलागार्इंले शुभकालिका गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले अवलोकन भ्रमणमा निस्केको बताए । “अन्य जिल्लाका विकासका काम कसरी भइरहेका छन् त्यसका विषय सिक्न भ्रमणमा निस्किएको हो,” उनले भने, “बजेट विनियोजन कसरी र कुनकुन शीर्षकमा छुट्याइएको छ अन्य स्थानीय तहको अवलोकन गरी राम्रा कुरालाई आफ्नो गाउँपालिकामा लागू गर्नका लागि अवलोकन अनुसरण भ्रमणमा लक्ष्य रहेको छ ।”
त्यस्तै, खाँडाचक्र नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी पनि अवलोकन भ्रमणमा गएका छन् । २९ जनाको टोलीसहित पोखरा, पाल्पा, लुम्बिनीलगायतका क्षेत्रमा भ्रमण गर्नका लागि खाँडाचक्र नरपालिकाको नगरसभाबाट ५ लाख रुपैयाँ छुट्याइएको खाँडाचक्र नगरपालिकाका कायकारी अधिकृत काशी पंगेनीले बताए । “म काम विशेषले भ्रमणमा जान नपाएको र जनप्रतिनिधिहरु भ्रमणमा जानु भएको छ ।” उनले भने, “यथार्थ कति खर्च हुन्छ भन्ने एकिन छैन ।” पछिल्लो समय जनप्रतिनिधिको ध्यान विकास नभई बजेट खर्च गर्नेतर्फ मात्र गएको स्थानीयको गुनासो छ ।

 

प्रतिक्रिया दिनुहोस्