गिरिजाप्रसाद कोइरालाको स्मृतिमा संग्राहालय बनाउन प्रदेश सरकार तयार

नेपालको शान्ति प्रक्रियामा नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा संग्राहालय स्थापनाका लागि प्रदेश सरकार तयार भएको छ ।
कोइराला निवासलाई संग्राहालयका रुपमा स्थापना गर्न प्रदेश सरकारले पहल गर्ने जनाएको छ । गिरिजाप्रसाद कोइरालाको आठौं पुण्यतिथिको अवसरमा आयोजित विचार गोष्ठीमा प्रदेश–१ मुख्यमन्त्री शेरधन राईले संग्राहालय बनाउनका लागि प्रस्ताव लिएर आउन जीपी कोइराला फाउन्डेसनलाई आग्रह गरे । “नेपालको प्रजातान्त्रिक आन्दोलन र शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोइरालाको अतुलनीय योगदान छ,” उनले भने, “यस्ता महान् व्यक्तिको नाममा संग्राहालय र अध्ययन केन्द्र स्थापना गर्न प्रदेश सरकार तयार छ ।”
राईले वीपी कोइराला र मनमोहन अधिकारीको स्मृतिमा समेत संग्राहालय बनाउने योजनामा प्रदेश सरकार रहेको जनाए । उनले अहंकार र दम्भलाई त्यागेर एक नम्बरलाई नमुना प्रदेश बनाउन अघि बढ्नुपर्नेमा समेत जोड दिए । राईले गिरिजाप्रसाद कोइरालाको अगुवाइमा मुलुकमा ठूलो राजनीतिक उपलब्धि हासिल भएको चर्चा गरे । कार्यक्रममा कांग्रेस नेता डा. मीनेन्द्र रिजालले १ नम्बर प्रदेशको समग्र विकासका लागि कांग्रेसले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । १ नम्बर प्रदेशलाई साँच्चिकै १ नम्बर बनाउन कांग्रेसको के सहयोग आवश्यक पर्छ त्यो गर्न कांग्रेस तयार छ रिजालले भने, “गिरिजाबाबुले अवलम्बन सहमति, सहकार्य र एकतालाई सबैले आत्मसाथ गरे मुलुकले छिट्टै काँचुली फेर्छ ।”
कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, कांग्रेस नेतृ एवं फाउन्डेसनकी अध्यक्ष सुजाता कोइराला, कांग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइराला, विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीलगायतले गिरिजाप्रसाद कोइरालले नेपालको शान्ति प्रक्रिया र प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको चर्चा गरे । जीपी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा गिरिजाप्रसाद कोइरालासँग सम्बन्धित फोटा प्रदर्शनीसमेत गरिएको थियो ।