बालुवा उत्खनन्मा रोक

थाभावी नदी तथा खोला दोहन भइरहेको भन्ने व्यापक जनगुनासो आएपछि १५ दिनका लागि भन्दै मकवानपुरमा ढुंगा गिट्टी, बालुवा उत्खनन् रोकिएको छ ।
जिल्ला अनुगमन तथा समन्वय समितिको बैठकले उत्खनन् रोकी अनुगमन गर्ने निर्णय गरेको हो । उत्खनन् रोकिए पनि अनुमति लिएका क्रसर उद्योग भने सञ्चालन हुनेछन् । जिल्ला अनुगमन तथा समन्वय समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले उत्खनन् तत्काललाई रोकी नियमित अनुगमन र क्रसर उद्योगमा रहेको मौज्दात नापिने निर्णय भएको जानकारी दिए ।
बैठकले नियमित अनुगनका लागि जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर संयोजक रहने गरी समिति गठनको निर्णय गरेको छ । समितिमा जिल्ला वन कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, पर्सा राष्ट्रिय निकुञ्ज, नेपाल पत्रकार महासंघ तथा सम्बन्धित स्थानीय निकायका जनप्रतिनिधि सदस्य रहनेछन् ।
“यो समितिले १५ दिन स्थगित गरेर ढुंगा, गिट्टी बालुवा उत्खनन्, मौज्दात, सञ्चालनमा रहेका क्रसर उद्योग र बालुवा प्लान्टको नवीकरण, दर्ता र सञ्चालनको अवस्थाबारे प्रतिवेदन आगामी बैठकमा पेश गर्नेछ ।” प्रमुख जिल्ला अधिकारी बुढाले भने ।
बैठकमा ढुंगा, गिट्टी बालुवा उत्खनन् रोक्नुपर्छ भन्ने र हुँदैन भन्ने विषयमा लामो समय रस्साकस्सी चलेको थियो । करिब तीनघण्टा लामो छलफलपश्चात् तत्काललाई ढुंगा, गिट्टी बालुवा उत्खनन्लाई रोक्ने र क्रसर उद्योग सञ्चालनमा रोक नलगाउने निर्णयमा बैठक पुगेको थियो । “अब १५ दिन एक्साभेटर र मानिस कसैले पनि उत्खनन् गर्न पाउँदैनन्,” जिल्ला समन्वय अधिकारी नारायणप्रसाद मैनालीले भने । “गठित समितिले दिने प्रतिवेदनको आधारमा उत्खनन् रोक्ने या निरन्तरता दिने भन्ने निर्णय हुनेछ ।”
बैठकमा सहभागी अधिकांशले विकास निर्माण प्रभावित हुने र ढुंगा, गिट्टी बालुवा उत्खनन्का लागि टेण्डर सदर भएर कर संकलनको अवस्थामा उत्खनन् रोक्न सक्ने अधिकार आफूहरूलाई नभएको भन्दै अनुगमनलाई नियमितता दिनुपर्नेमा जोड दिएका थिए । विकास निर्माण प्रभावित हुने, ठेकेदारले क्षतिपूर्ति माग्ने बहाना पाउने भन्दै ढुंगा, गिट्टी बालुवा उत्खनन् र क्रसर उद्योग सञ्चालनमा रोक लगाउनु हुँदैन भन्दै बैठकमा कांग्रेस मकवानपुर सभापति तथा ३ नम्बर प्रदेशका प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँ र माओवादी केन्द्र मकवानपुरका संयोजक तथा ३ नम्बर प्रदेशका सांसद प्रेमबहादुर पुलामीले असहमति जनाएका छन् । मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईं र मनहरि गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले विकास निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको भन्दै निर्माण सामग्री सहजरूपमा प्राप्त नहुँदा समस्या हुने टिप्पणी गरेका छन् । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले ढुंगा, गिट्टी बालुवा उत्खनन्मा देखिएको बेथितिको अन्त्यका लागि आगामी वर्षबाट स्थानीय निकायले बलियो कानुन बनाउने प्रतिबद्धता जनाए । यस आर्थिक वर्षमा ढुंगा, गिट्टी र बालुवा उत्खनन् तथा निकासीका लागि करिब १८ करोड रुपैयाँमा ठेक्का सदर भएको थियो ।
–केशव समर्पण